कोरोना संक्रमणका कारण दिवंगत भएका साहित्यकार राजेन्द्र सुवेदीको प्रथम जन्मजयन्तीसभा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट मंगलबार सभा सम्पन्न भएको हो ।
सभाको आयोजना नेपाल स्रष्टा समाज र राजेन्द्र सुवेदी स्मृतिसभाले संयुक्त रूपमा गरेका हुन् । सभाको अध्यक्षता स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले गरेका थिए ।
सभामा बोल्दै प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले ‘हामी भेटौँ न’ भनेर आफूसँग सुवेदीले जन्मदिन मनाउन बोलाएको स्मरण गरे ।
सभामा प्रा. डा. जीवेन्द्रदेव गिरी, नारायणप्रसाद होमगाईं, डा. हरिप्रसाद सिलवाल, पवन आलोकलगायतले सुवेदीका बारे बोलेका थिए । त्यस्तै समीक्षक रमेश शुभेच्छुले सुवेदीका व्यक्तित्त्व र कृतित्वका बारे प्रकाश पारेका थिए भने सुवेदी पुत्र कमल सुवेदीले पिताका अप्रकाशित कृतिहरू अब प्रकाशन गर्दै लैजाने बताए । उनले १७०० पृष्ठको नेपाली साहित्य शब्दकोश सबभन्दा महत्वपूर्ण कृति भएको भन्दै त्यसलाई बढी प्राथमिकता दिइने कुरा खुलाएका थिए ।
२००२ साल साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदी शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका क्रममा जेठ ३ गते दिवंगत भएका थिए ।