मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि उत्कृष्ट ९ कृति छनोट गरेको छ ।
पुरस्कारका लागि प्राप्त भएका २ सय २२ वटा पुस्तकहरुमध्ये गुठीले ९ वटा उत्कृष्ट कृति छानेको हो । गुठीको उत्कृष्ट १० कृति छान्न गठन भएको समितिले ९ वटा कृतिको सूची सिफारिस गरेको थियो । गुठीले ती कृति र लेखकको नामको सूची शुक्रबार सार्वजनिक गरेको विज्ञप्ति मार्फत जनाएको छ।
छनोट भएका पुस्तकहरुमा केशव दाहालको ‘मोक्षभूमि’, कुमार नगरकोटीको ‘कल्प-ग्रन्थ’, प्रभा बरालको ‘फिलिङ्गो’, गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, भैरव बहादुर थापाको ‘नृत्याक्षर विज्ञान’ छन्।
अब तिनै ९ कृतिमध्ये उत्कृष्ट एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा २०७७ को मदन पुरस्कार अर्पण गरिने बताइएको छ । अघिल्लो वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाको ‘महारानी’ पुरस्कृत भएको थियो ।