- सम्पादकीय
गद्यं कविनाम् निकषं वदन्ति
गद्य नै कविको सफलतालाई जाँच्ने कसी हो । यो प्राचीन भनाई आज पनि भाषा साहित्यका क्षेत्रमा त्यत्तिकै सान्दर्भिक छ । सफल लेखकले गद्य पद्य दुवै विधामा कलम चलाउन सक्छ भन्ने सन्दर्भमा यो अभिव्यक्ति आएको हो ।
‘गद्य’ लेखनका सेरोफेरोमा धेरै कुराहरू पर्दछन् । गद्य व्यवहारको भषा पनि हो र साहित्यको भाषा पनि हो । गद्यका कानुनी, प्रशासनिक, प्राविधिक र सिर्जनात्मक अनेक भेद हुन्छन् । पद्यमा यी फरक फरक वान्कीको छुट र स्वतन्त्रता हुँदैन । साहित्य सृजनाका आख्यान र गद्याख्यानमूलक विधा तथा समीक्षामा गद्य भषाको प्रयोग हुन्छ । साहित्यका यस्ता गद्य विधाका लेखनमा प्रयुक्त भाषाको प्रस्तुतिका विधिमा उपयोग हुने भषा गद्य भषा हो । लेखनका क्रममा पद्यका विपरीत रहने प्रस्तुति र विधिलाई गद्यलेखन भनिन्छ ।
उक्त भनाई संस्कृत साहित्य बढी पद्यबद्ध रूपमा विकास भएका सन्दर्भमा पद्यबद्धताबाट मुक्त रहेको भाषिक प्रस्तुति नै गद्य हो भन्ने विचारको प्रवाहसँग जोडिएको छ । साहित्यका दृष्टिले पद्य विशिष्ट साधनाबाट प्राप्त आलङ्कारिक अभिव्यक्रि हो भने गद्य व्यवहारिक र साहित्यिक सिर्जनाको भपनि भषा हो । आज गद्य सिर्जना पनि आख्यान र आख्यानेतर गरी दुई किसिमका विधाउपविधामा विकास भएका छन् । विश्वमा अनुवाद भएर पुग्ने शैलीका रूपमा गद्यशैली प्रधान बनिरहेको छ ।
गद्याआख्यानमा पर्ने प्रमुख विधा कथा र उपन्यास हुन् । यिनका लघुकथा, लघुउपन्यास जस्ता उपविधा पनि विकास हुँदैछन् । गद्याख्यानमा वृहत् उपन्यासको पनि विकास भइरहेको छ । आख्यानेतर विधाका रूपमा निबन्ध, समालोचनालगायतका विधाहरू विकास भएका छन् । तिनका पनि विभिन्न प्रविधाका रूपमा विकास गरेको छ ।
आख्यानेतर गद्यको मूल प्रयोग क्षेत्र निबन्ध विधा हो । यसका निबन्ध, नियात्रा, पत्र, पत्रात्मक निबन्ध, दैनिकी, जीवनी र आत्मजीवनी, संस्मरण आदि अनेक विधा विकास भइरहेका छन् । साहित्यको समीक्षा, टीका तथा भाष्यहरू सबै गद्यमा लेखिने विधा र प्रविधाहरू हुन् । सम्भवतः कविका विचारलाई गद्यले जाँच्छ भन्नुको अर्थमा पनि र कवि स्वयम् भाषिक रूपमा कतिको शक्तिशाली छ भन्ने कुरा गद्य र पद्य दुवै विधामा कलम चल्ने व्यक्तिको भाषिक कला विशिष्ट हुन्छ भनने अर्थमा प्रयोग भएको हुन सक्छ ।
पूर्वीय साहित्य परम्परामा प्राचीन कालमा साहित्य सृजनामा पद्यको प्रचलन बढी थियो । त्यसको व्याख्या विश्लेषण र टीकाका लागि गद्यको प्रयोग गरिन्थ्यो र त्यही गद्यलाई काव्यको गुणस्तरको कसीका रूपमा लिइन्थ्यो । यो परम्परा आज पनि छँदैछ ।
पूर्वीय वाङ्मयका वेद, पुराण, उपनिषद् आदि ग्रन्थहरू सबै पद्यमा लेखिएका छन् । मुद्रण सुविधा नभएका बेला ज्ञनविज्ञानका सबै विधाहरू पद्यवद्ध गरेर संरक्षण गरेको इतिहास छ । पद्यको सामग्री कण्ठ गरेर सुरक्षित गर्न सहज हुने आधारमा त्यस समयमा पद्यले महत्त्व पाए पनि संस्कृत साहित्यमा पनि यसका गद्यकारहरूको साधनालाई कम ठानिँदैनथियो । गद्यकारितालाई पनि विशिष्ट प्राप्तिका रूपमा लिने गरिन्थ्यो ।
संस्कृत साहित्य परमपरामा बाण भट्टको कादम्बरी र दण्डीको दशकुमार चरितको प्राप्तिलाई सर्वोपरि मानिन्छ । यी गद्य कृतिका सामर्थ्यलाई लिएर गद्यं कविनाम् निकसं वदन्ति वा गद्य नै कविको सफलतालाई जाँच्ने कसी हो भनेर भनेको पाइन्छ । यस प्राचीन वाक्यले आज पनि प्रभाव पारिरहेको छ ।
आज पनि कुनै भषा साहित्यको विकासमा पद्यका साथै कवि वा लेखकलाई जाँच्ने कसी गद्य नै बनिरहेको छ । नेपाली साहित्यका विशिष्ट कवि एवम् गद्यकार लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरेलगायतका प्रतिभालाई हेर्दा यस कुराको पुष्टि पनि हुन्छ । यो अवस्था धेरै सफल कविलाई हेरेर पहिल्याउन सकिन्छ । सफल समीक्षकलाई हेरेर पनि पहिल्याउन सकिन्छ । सोझो अर्थमा समीक्षाको गद्य भाषाले पद्यको मूल्याङ्कन गरिरहेको छ ।
– सम्पादक