पार्वती पहारी तुफानको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी प्रवासमा रहेर पनि नेपाली साहित्यका सेवामा समर्पित प्रतिभा हुन् । साहित्यसागरको यस शृङ्खलामा पहारीको ‘जिउँदो थिएँ’ बोलको गजल रचना समेटिएको छ । यस रचनाले निम्नवर्गीय समुदायका समस्यालाई समेटेको छ । – सम्पा. |
जिउँदो थिएँ उपचार मिलेन, घर मिलेन
लास हुँदा दाउरा मिलेन, जल्ने अवसर मिलेन
तिमी आगो भएपछि म खरानी भएकी हुँ
किन फेरि जात मिलेन, गुणस्तर मिलेन ?
हातले अनौ खुट्टाले हलो थिचिराखेँ जिन्दगी भर
तर कहिल्यै मोबाइल मिलेन, फोन नम्बर मिलेन
मात्र, एक प्रश्न राखेथेँ हजुरको डिग्री सामु
किन आजसम्म जबाफ मिलेन उत्तर मिलेन ?
विपन्न ठानेर , स्विकारेन मृत्युले पनि
किन मलाइ, भीर मिलेन, जहर मिलेन ?