प्रकाशमणि दहाल
प्रकाशमणि दहाल (२००२ भाद्र २३ गते (२२ जनवरी १९४५), इलाम न.पा. १०, गोदक, इलाम, सुपुत्रः वत्सलादेवी–गोविन्दप्रसाद दहाल) नेपाली साहित्यका सिर्जना, समीक्षा र अनुवादका त्रिआयाममा सक्रिय प्रतिभा हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नाकतोत्तर (अर्थशास्त्र र अङ्ग्रेजी) तथा कानूनमा स्नातक दाहाल ले शिक्षण–प्राध्यापन पेसालाई अपनाउनका साथै शैक्षिक कृति : अङ्ग्रेजी व्याकरण र विद्यार्थी तथा शिक्षक सहायक कृतिहरु आधा दर्जनभन्दा बढी लेखेका छन् । उनका साहित्यिक कृतिहरुमा फर्किएर हेर्दा (खण्डकाव्य २०५७), तीतामीठा कुरा (सहलेखन, २०६३), पवनदूत (खण्डकाव्य, २०७३), मुक्तआवाज (गजलसङ्ग्रह, २०७३), यो फूल (छन्दोबद्ध कविता सङ्ग्रह, २०७५) शुभकामना (गद्यकविता सङ्ग्रह, २०७५) आदि प्रकाशित छन् । उनको विविधा (निबन्ध सङ्ग्रह २०६५) पनि प्रकाशित छन् । उनी नेपाली र अङ्ग्रेजी भषाका कुशल अनुवादक हुन् । उनका अनवुवादतर्फ विश्वका उत्कृष्ट एक्काइस कथा (२०६६) Learn Nepali Yourself and Know Nepal Yourself (पर्यटक सहयोगी पाकेटबुक, २०६८) The Mahavarata in Series, -2070_ Hues From The Horizon, Collection of Poems, 2070, महान् जादुगर ओज (अनूदित बालउपन्यास, २०७४) हिँडाइ (अअुदित बालउपन्यास, २०७५) मनस्तरङ्गिणी (मनोविज्ञान दर्शनसम्बन्धी उपन्यास), भिन्न स्वादमा प्रस्तुत भहाभारतका कथा जस्ता कृति प्रकाशित छन् । आदि प्रकाशित छन् । उनका आख्यानतर्फ अनुहार (कथासङ्ग्रह २०६३ ),बालगुप्तचर र बालगुप्तचर–२ (२०६८ (बालकथा सङ्ग्रह, २०६४) चुनौती (उपन्यास, २०७०) जस्ता कृतिहरु प्रकाशित छन् । साहित्यबोध (साहित्य सिद्धान्त २०७३), केही कृति : केही कृतिकार (२०६८), समीक्षात्मक कृति पनि प्रकाशित छ । उनका थुप्रै कृतिहरु प्रकाशनको उज्यालो पर्खिरहेका छन् । उनी अभिनव साहित्य समाज, सुरभि साहित्यप्रतिष्ठान, Society of Nepalis Writing in English जस्ता संस्थामा रहेर सांगठनिक रुपमा पनि साहित्य सेवा गरिरहेका छन् । उनी शास्त्रीय र गद्यलयका कविता सिर्जना गर्न सक्ने सफल कवि हुन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा उनको स्वाभिमान शीर्षकको कविता समेटिएको छ । यस कवितामा नेपालमाथि छिमेकी मुलुकबाट भइरेको थिचोमिचोको विरोध गर्दै भाइचारा र सहअस्तित्वको कामना गरिएको छ ।
– सम्पा
नेपाल इन्डिया देश छिमेकी र घनिष्ठ हुन् ।
आउजाउ तथा काम एकै देश समान छन् ।।
तर छौँ हामी चैँ सानो अति नै ऊ भने ठुलो ।
त्यसैले बिचको सत्य धेरै नै हुन भिन्न गो ।।१।।
सार्वभौम दुवै राष्ट्र स्वतन्त्रै छौँ दुवै तर ।
खुला छ सिमाना साथै छ ऊचैँ आत्मनिर्भर ।।
त्यसैले उसको हात पर्दछ माथि नै सधैँ ।
गर्नु आफूखुसी भन्छ परवाहविना कुनै ।।२।।
हामीचैँ जीवनै दिन्छौँ उसलाई बचाउन ।
मान्दैनौँ कति नै दुःख आफ्नो रक्त बगाउन ।।
श्रमिक अथवा सैन्य चौकिदार भएर जे ।
सम्पूर्ण गर्दछौँ काम शक्तिले र इमानले ।।३।।
कृतघ्न ऊ भने हाम्रै सिमाना मिच्न आउँछ ।
दशगजा मिची खेती घरबार चलाउँछ ।।
नाकाबन्दी लगाएर कतिपल्ट सताउँछ ।
थुनेर बगेका खोला हाम्रै गाउँ डुबाउँछ ।।४।।
कमाई फर्किंदा लुट्छ सीमामा मिच्छ छैनझैँ ।
मानवता न हेर्दिन्छ न त हेर्दछ कानुनै ।।
स्वेच्छाले पसी सोभैm नेपाली क्षेत्रभित्र ऊ ।
सुरक्षाकर्मी बिर्सेर गर्छन् अन्याय के भनूँ ।।५।।
इन्डियन् गोरखा जो छन् बसेका जुगदेखि नै ।
जति हुन् पौरखी वीर जति हुन् देशभक्त नै ।।
सताउनु सदा भन्छ अनागरिकलाई झैँ ।
कदर त कहाँ गथ्र्यो उल्टो गर्छ तिरस्कृतै ।।६।।
उसका शत्रुका सामु उनैलाई खटाउँछ ।
परन्तु बाहिरैभित्रै उनैलाई सताउँछ ।।
विजीत शत्रुझैँ हेप्छ आँखाको कसिँगारझैँ ।
गोर्खालाई सताएर ठान्छ काम भयो ठुलै ।।७।।
नेपाली हुनुकै पीडा बोक्न छन् अभिशप्त ती ।
पराई ठान्न छन् बाध्य जन्मेकै देशमा पनि ।।
त्यतिकै निहुँमा व्यर्थै उनलाई सताउँदा ।
परपीडकको लिन्छ आनन्द निर्दयी सदा ।।८।।
छिमेकी पनि उल्क्याई हामीमाथि खन्याउँछ ।
हजारौँ वर्षको मेटी इतिहास भगाउँछ ।।
सहने कति हो खप्ने आशामा कति पर्खिने ?।
टुसाउला भनी ढुङ्गो कति यो भ्रम बाँचने ?।।९।।
कालापानी तथा सारा मिचिए जति छन् सबै ।
हुनुपर्छ भनी मुक्त आज देश उठ्यो सबै ।।
तर यो आजको हैन न एकै क्षणको कुरा ।
वर्षौंको घाउ हो दुख्ने थपिएको निरन्तर ।।१०।।
जुटेको थपिएको र युगौँको अनुभूति हो ।
आफ्नैको हेलचेक्र्याइँ दादागिरी छिमेकको ।।
रक्षा, स्वास्थ्य तथा शिक्षा, राजनीति सबैसबै ।
युगौँदेखि चलेको हो परनिर्भरमा हुँदै ।।११।।
अङ्ग्रेजी शासनैदेखि गारोखाँचो सबैसबै ।
जिम्मा भारतकै जस्तो पारियो वा गयो हुँदै ।।
भारतैमा भए हाम्रा नेतादि अगुवा सबै ।
शिक्षा, दीक्षा उहीँ पाए खारिए र सधाइए ।।१२।।
घनिष्ठता भयो ज्यादै सँगै निर्भरता बढ्यो ।।
अभ्यास यसको बढ्दा आत्मनिर्भरता घट्यो ।।
सजिलो पनि भो उल्टो मौका भो धाक लाउन ।
गोलबद्ध हुनेभन्दा भाइभाइ दबाउन ।।१३।।
सुख नै पनि भो केही दुखचैँ बढी भो भने ।
फाइदा पनि भो केही धेरै बेफाइदा भने ।।
दोस्रोमध्ये ठुलो एक सीमा मिच्ने सदा भयो ।
अर्कोचैँ गाईझैँ नित्य दुहुने जतिसम्म हो ।।१४।।
आजसम्म भयो जे जे होसियार भई अब ।
जरुरी हुन गो उठ्नु अबिलम्ब गरी सब ।।
तनले मनले साथै सम्पत्ति अनि शक्तिले ।
प्रतिबद्ध भई डट्नु मात्रै छ देशभक्तिले ।।१५।।
इजरायली वा स्वीसजस्तै दृढ र सक्षम ।
मन एक तथा पूर्ण आत्मनिर्भर भैकन ।।
मन्त्रले, तन्त्रले, ज्ञान, बुद्धिले बलले सबै ।
कुटनीति तथा सारा अरू नीति लगाउँदै ।।१६।।
एक हैन दुई हैन दिनरात सदासदा ।
परिआउँछ जे गर्नु डटी पर्छ मुकाबिला ।।
नबिर्सिई सबै पीडा अनन्त युगदेखिका ।
अपमान, ठगी साथै जबर्जस्त दवाबका ।।१७।।
शिर उच्च उठाएर भै निर्धक्क हिमालझैँ ।
प्रण आज गरूँ डट्ने चन्द्र–सूर्य रहेतकै ।।
अर्काका निमित्त लड्ने विश्वका विजयीहरू ।
आफ्ना निम्ति परे लड्ने प्रमाणित यहीँ गरूँ ।। १८।।
चाकडी चाप्लुसी गर्ने फकिने, लोभिने कुनै ।
तर्किने, लत्रिने, भाग्ने आफूभित्र भए कुनै ।।
तिनलाई चिनी खोजी सम्झाएर कुरा गरूँ ।
बहिष्कार गरूँ नत्र कठ्घरामा खडा गरूँ ।।१९।।
नेपाल–इन्डिया बीच सम्बन्ध छ अभिन्न यो ।
सांस्कृतिक तथा अर्को भौगोलिक दुवै छ यो ।।
यसको कहिल्यै अर्थ तर हैन सदा कतै ।
पसिना, आँसु वा रक्त हाँसो मात्र हुने कतै ।।२०।।
हुँदैन हुनु अन्याय कहिल्यै र कतै पनि ।
व्यवस्थित हुनैपर्छ सिमाना जसरी पनि ।।
हुनुहुन्न कसैबाट कसैमाथि थिचोमिचो ।
आरक्षित हुनैपर्छ हितचैँ कमजोरको ।।२१।।
युद्धकै स्तरमा स्थायी हुनेसम्म अहिंस्रक ।
अभियान अविच्छिन्न बेरोकटोक चाल्नुछ ।।
हातमा खुकुरी, झन्डा मनमा देशभक्तिको ।
ननिभ्ने दीप बाल्ने हो स्वाभिमान उचाइको ।। २२।।