सीताराम अधिकारी
सीताराम अधिकारी (२००२, माघ २३ मङ्गलबार, सुपुत्रः चक्रपाणि अधिकारी र लीलादेवी अधिकारी, हंसपुर, हाल अधिरकोट गा.पा. गोरखा) नेपाली साहित्यका बहुमुखी प्रतिमा हुन् । उनको कलम सिर्जना, अनुवाद, कोशनिर्माण पाठ्यपुस्तक, व्याकरण लेखन आदिमा सक्रिय छ । उनको पहिलो रचनाका रूपमा २०३३ सालमा कोयली लघुकाव्य प्रकाशन भएको थियो । त्यसपछि उनका आमा (शोककाव्य, २०३७), देवघाट (खण्डकाव्य, २०५७), फूल, मान्छे, म र नेपाल (लामो कविता,२०६५), अन्त्यभित्रको अन्त्य (खण्डकाव्य, २०६६), आलोक (खण्डकाव्य, २०६८), जस्ता काव्यकृति सिर्जनामा आरोहणशील देखिन्छ । उनका मेरो लेख (२०५६), यात्रा रोकिन्न (२०५७), सतसुन्दर (२०६५), अमरज्योतितिर फर्केर हेर्दा (२०६६), अविस्मृति २०७४) ज्वारभाटा (२०७०), आँधी (२०७२), शार्दुलविहार (२०७३) जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन् । उनको उज्यालोको खोजी (उपन्यास, २०६९) उपन्यास पनि प्रकाशित छ । यी नेपाली कृतिहरू उनी अंग्रेजी साहित्यका प्राध्यापक हुँदा उनका अंग्रेजी भाषामा पनि विभिन्न कृति प्रकाशित छन् । उनको मोर्डन इसिन्सियल डिक्सनरी (Modern Essential Dictionary (१९९९) शीर्षको अंग्रेजी अंग्रेजी नेपाली शब्दकोश प्रकाशित छ । उनका Standard Essential Dictionary (२००८), An outline of British Drama (२००८), लगायत छवटा अङ्ग्रेजी ग्रामर र साहित्यका कृतिहरू प्रकाशित छन् । अधिकारी नेपालीबाट अंग्रेजीमा र अंग्रेजीबाट नेपालमिा अननुवाद सामर्थ्य भएका प्रतिभा हुन् । उनको कलमबाट नेपालीबाट अंग्रेजीमा अनुदित रमेश खकुरेलको महाकाव्य स्रग्धरा (Sragdhara), प्रह्लाद पोखरेलको दोलखाको गन्तव्य (Destination of Dolakha) जस्ता कृतिहरू प्रकाशित छन् । उनको अनुवादमा धेरै नेपाली कविता अङ्ग्रेजीमा र अंग्रजी कविता नेपाली साहित्यका भण्डारमा पुगेका छन् । साहित्य सागरको यस शृङ्खलामा अधिकारीको माधव घिमिरेलाई विषय र विम्ब बनाएको ‘राष्ट्रकविप्रति श्रद्धा सुमन’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा घिमिरेको जीवन, कृति, सिर्जनाका केही विम्ब र प्रकृतिलाई पनि विम्ब बनाएर घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । -सम्पा.
ओजस्वी कवि अस्तायौ कविकुञ्ज विरक्तियो
नेपाली मृत्तिका रोयो कविता कल्प वैलियो
छाया तिम्रो यहीँ घुम्छ सायुज्य सजिलै लियौ
धन्य हे छन्दसम्राट अजरामर जन्मियौ ।
बगायो देशले आँसु स्रष्टाको अवसानमा
उर्लियो छाल शोकार्त मस्र्याङ्दी रुन्छ घाटमा
कालो बादलको पर्दा लाग्यो काव्य अकासमा
अँधेरियो धरा धेरै निभ्दा दीपक साँझमा ।
राजधानी भयो सिक्त आँसु अक्षरका बगे
फूलमालाहरू बर्से भक्कानिदै विदा गरे
कोरोनाको भयो त्रास भेलामा पस्छ बैगुनी
यमको दूत नै होला लाँदैछ यसले पनि ।
टाढैबाट भए धेरै श्रद्धासुमन अर्पण
पाए रष्ट्रिय सम्मान स्रष्टाका ममता मन
स्नेहका शब्द नेताले चुहाए कवि–कुञ्जमा
दुःख व्यक्त भयो शोकसन्तप्त परिवारमा ।
शताब्दी कविताभित्रै वल्लिझैँ झाँगिदै गयो
शार्दूल कविको यात्रा कविता काव्यमा थियो
मीठो त्यो कविता मूल सुक्यो एक्कासि भाद्रमा
तिर्खा मेटाउने मूल अब पाइन्न चैतमा ।