विश्वभरि कोरोनाको कहर छ
मरिन्छ कि भन्ने सबैलाई डर छ।
यसको कुनै औषधि छैन भन्छनअब त आफ्नै भाग्यको भर छ।
लमही नपा–४, भैस्कोर्मा, दाङदेउखुरीका गोविन्द चौधरीको मुक्तक हो यो। शनिबार विश्व कविता दिवस थियो। तर औपचारिक रूपमा यस दिवसबारे कुनै कार्यक्रम गरिएन। कारण थियो, कोरोना कहर।
सामाजिक सञ्जालमा कोरोनाबारे विभिन्न सूचना जारी गरिए पनि यसैलाई लक्षित गरी रचना सम्प्रेषण गरेको खास भेटिन्न। लाग्छ, कोरोनाको त्रासले साहित्यकारहरूको कलमको निब पनि सर्न मानेको छैन। तर केही स्रष्टाले भने आफ्ना अभिव्यक्ति कविता शैलीमा पस्किएका छन्। कवि एसपी कोइरालाले ‘कोरोना’ कोरस शीर्षकको कवितामा आफ्ना अभिव्यक्ति यसरी पोखेका छन्-
भाइरस न हो आखिर
मुखले केही भन्दैन
तर मान्छेलाई मान्छे नै गन्दैन
साँच्चि नै कोरोनाको त्रासले विश्वलाई गाँजेको छ। सबै त्राहिमाम छन्। कवि एसपी कोइरालाको कविताको थप लाइन यसरी मुखरित भएका छन्-
आज बाँचिएछ भने गाउनुपर्ला भोलि
भाइरस भगवान्को भजन
हे, कोरेनेश्वर अवतार
हाम्रो कोटि कोटि नमस्कार।
टिकटकमा पनि कोरोनाले स्थान नजमाउने कुरै भएन। धनगढी पहुरा दैनिकका संवाददाता दुर्जन चौधरीले ‘कोरोना, कोरोना, इतना भी मत परेसान करो ना’ बोलको हिन्दी गीतको टुक्रा टिकटकमा राखेका छन्।
उता कवि सुविद गुरागाईंले पनि आफ्नो अभिव्यक्ति हिन्दीमा दिएका छन्-
दुनियाँ में चाहे जो हो जाए
लेकिन हम नहीं डरेंगे।
कोरोना हो या इबोला कहर
सावधानी से सामना करेंगे।
अर्का कवि राकेश सिंहले आफ्नै मातृभाषा थारूमा बालकविता पस्केका छन्-
कोरोना छुट्टी कैर देलक
विद्यालय सब बन्द भगेल
छुट्टी के खुसी से बच्चा
फुइल के दङ भगेल।
यसैगरी अज्ञात कविले हातले लेखेर पोस्ट गरेको कविता पनि भाइरल भइरहेको छ। एसईई परीक्षा सारिएकोमा पनि चिन्ता छ। कविताको सार छ-
भो… कोरोना,
नगर आश हाम्रो
यो ज्यानमा हुँदैन बास तिम्रो
कोरोना…
कोरोना छिटो जाऊ… हामीलाई छाडेर
फसाउन नखोज कमजोर ठानेर
भो भो कोरोना…,
नसराऊ एसईई
तिमीले गर्दा भइसक्यो छटपटी…
कोरोना…
कोरोना छिटो जाऊ… हामीलाई छाडेर
फसाउन नखोज कमजोर ठानेर।
गायक रेशम सापकोटा र मञ्जु गुरुङले कोरोना सन्देशबारे दोहोरी गीत नै बनाएका छन्। डाक्टर पात्र भएर पुरुष स्वरमा भनिएको छ-
‘सबलाई सुनाएँ सबलाई सुनाएँ
भाइरसबाट बच्ने उपाय।’
उता बिरामी महिला पात्र भएर गायिका सोध्छिन्-
खान्छन् रक्सी भनेर
भाइरसबाट बच्ने उपाय
के के होला ए ?
भाइरसबाट बच्ने उपाय
उता अवसरको सधैं उपयोग गर्ने लोकगायक पशुपति शर्माले कोरोना सचेतनाबारे गीत बनाएका छन्। गीतमा उनी भन्छन्,
साबुनपानीले राम्रोसँग हात धुनोस् है सबै
कोरोना भाइरस लाइहाल्यो भने छैन भन्छन् दबै
आउन सक्छ, कोरोना भाइरस
सचेत हौं है मनमा पीर लाइराछ
यसैगरी साहित्यकार अभय श्रेष्ठले कोरोनासँग जोडिएको फरक अभिव्यक्ति फेसबुकमा दिएका छन्। उनले भनेका छन्- प्राज्ञ जगमान गुरुङले ‘कोरोना भगाउने मन्त्र’ फेसबुकमा राखे। अहिले गुरुङ स्रष्टाहरूसमेत सहभागी भएर पोखरामा कोरोना रोकथामका लागि ढ्यांग्रो ठटाउँदै पूजापाठ गरेको दृश्य देखियो। यो हदसम्मको चरम अन्धविश्वास जुनसुकै समुदाय र संस्कृतिको भए पनि विरोध गरौं। स्मरण रहोस्, कोरोना रोकथामका लागि पशुपतिमा गरिने विशेष पूजा पनि स्थगित गरिएको छ।
साहित्यिक कार्यक्रम स्थगित
कोरोना भाइरसका कारण साहित्यिक कार्यक्रम पनि स्थगित भएका छन्। आगामी चैत २० देखि २१ सम्म थारू लेखक संघ नेपाल तथा हौली परिवारको आयोजनामा विराटनगरमा हुने पाँचौं थारू साहित्य सम्मेलन स्थगित गरिएको छ। आयोजकमध्ये एक हौली परिवारका अध्यक्ष श्रवण चौधरीले भने, ‘विपत्को यस घडीमा सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन सूचना जारी गरेपछि कार्यक्रम गर्ने कुरै भएन।’ अध्यक्ष चौधरीका अनुसार यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी सम्मेलनको अर्को सूचना पछि जारी गरिनेछ।
नेपाल प्रज्ञाप्रतिष्ठान मातृभाषा विभाग प्रमुख लक्ष्मी मालीका अनुसार प्रज्ञाले मोफसलका कुनै पनि कार्यक्रममा सरिक नहुन आफ्ना प्राज्ञहरूलाई सकुर्लर जारी गरेको छ।
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले फागुनको अन्तिम साता तय गरेको राष्ट्रिय साहित्य सम्मेलन अनिश्चित समयका लागि स्थगन गरिसकेको छ। ‘भाषा, साहित्य र संस्कृतिको उत्थान ः साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले आयोजना गर्न लागेको साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगे पनि कोरोना भाइरसका कारण हाललाई उक्त कार्यक्रम स्थगन गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए। साहित्य सम्मेलनका लागि स्वदेश र विदेशबाट गरी २३७ वटा कविता प्राप्त भइसकेको थियो।
यसैगरी गायक दीपक वज्राचार्य र उनको ‘रिदम’ ब्यान्डका सदस्यहरू गत बुधबारदेखि क्वारेन्टाइनमा बसेका छन्। अस्ट्रेलिया र न्युजिल्यान्डको दुई महिना लामो सांगीतिक भ्रमणका लागि गएको ब्यान्ड कोरोना भाइरसका कारण दुई हप्तामै नेपाल फर्केको थियो। दीपकसंँगै ब्यान्डका रिकी शाक्य, रोजन कायस्थ, विकी शाक्य, राजीव वज्राचार्य (लाखे) र लिजेन्द्र महर्जन (झाँक्री) ललितपुर, भैंसेपाटी नजिकैको ‘मेरो घर’ नामक होमस्टेमा अरूबाट बेग्लै बसेका हुन्। उनीहरू विमानस्थलबाट सीधै सेल्फ क्वारेन्टाइनमा आएका थिए।
यो लेख कृष्णराज सर्वहारी द्वारा कविता दिवसको सन्दर्भमा लेखिएको हो।