Yogesh Adi lives in New York with his family. This story is based on his real life and surrounding amid deadly Coronavirus pandemic also known as COVID-19.
अहिलेलाई संयोग मात्रै ठानौं कि अमेरिकाको सबैभन्दा कोरोना प्रभावित राज्य न्यूयोर्क सहरको एउटा बस्ती – जसको नाम पनि “कोरोना” हो, जुन हाल कोरोना भाइरसको एपिसेण्टर बनेको छ । जहाँ म परिवारका साथ बस्दछु । यही ठाउँबाट म, मेरो कोरोना अनुभव लेख्दैछु । मेरो अनुमान गलत होस् तर सत्य साबित के हुनेवाला छ भने; अबको १ हप्तामा अमेरिकाले मृतकको संख्यामा पनि अन्य देशलाई जित्नेछ । न्यूयोर्क राज्य एक्लैले १० हजार लासको जिम्मा लिनेछ । यदि मैले भनेको जति मात्र क्षति १ हप्तामा हुने हो भने अमेरिकाले कोरोनालाई जितेको हुनेछ । कारण म चौंथौं प्याराग्राफमा बताउँछु ।
११ वर्षे अमेरिकी जीवनमा मैले अमेरिकालाई धेरथोर बुझें । ग्रेट पाएँ । अपबाद बाहेक अधिकांस युरोपियन, कनेडियन, जापानिज र अष्ट्रेलियनले पनि अमेरिकाको कागजात पाउने हो भने भोली बसाई सर्ने सयौंसँगको कुराकानीबाट थाहा पाएँ । जुन किन भनिएको रहेछ ? भन्ने आज यो कोरोना संकटको बेला टड्कारो भयो । यो म तेश्रो प्याराग्राफमा लेख्नेछु । त्यो भन्दा अगाडि केही मेरो कुरा; यो अवस्थामा मेरो चुनौति भनेको ६४ वर्षकी डायलासिस गर्नै पर्ने आमा र ६७ वर्षका औषधिप्रेमी बुवालाई जोगाउनु भएकोले थप चिन्ता बोकेर बस्तुस्थिति बुझ्दै, जानेको सावधानी अपनाएर घरको वातावरण सामान्य बनाउने कोशिस गरिनै रहें । मलाई ज्वरो आयो ।कसैलाई भनिन । दिनको ३/३ पटक औषधि लिएँ । घाँटी दुखेर गालामा ४ दिन टेप लगाएँ । सामान्य हो भनेर टार्दिएँ ।
साथीभाईसँगको भिडियो कल र लाइभमा रमाउन छाडिन किनकि बलियो मानसिकता आधा औषधि हो भनेर मेरी आमाले प्रमाणीत गरिसकेको दृष्टान्त सामुन्ने छ । अहिले ४ दिनदेखि श्रीमतीले औषधि खाइरहेकी छिन् । उनलाई भुलाउन म्यारिज खेल्न सिकाएँ, खेलाएँ, पोख्त बनाएँ ।उनको रुची मनन गर्दै तासले नै निको पार्दिएँ । यो सबै लेख्नुको तात्पर्य के हो भने परिवारलाई जीवन्त राख्न आफू जीवन्त बनेर देखाउनुपर्ने रहेछ । सामाजिक सहभागिता र परिवारको महत्व यो कालखण्डले बेस्सरी सिकायो ।
अमेरिकाभन्दा राम्रो सामाजिक सुरक्षा र स्वास्थ्य सुविधा अन्य देशमा भएता पनि अमेरिका सबैको आकर्षण बन्नुको मुख्य कारण स्वतन्त्रता रहेछ । संसारमै सस्तो खाना र सर्वसुलव स्कुलपद्दति त छँदैछ । कोरोनालाई संकटकाल घोषणा गरेर अधिकाँश देशले लकडाउन गरे । अमेरिकाले गरेन । मैले पनि गरोस् भन्ने चाँहे तर म पनि गलत रहेछु ।
अमेरिकाको आकार, जनसँख्या, सैन्य मोबिलिटी, गैंग, पुलिस प्रेजेन्स, अध्यागमन, हेल्थकेयर कम्युटिङ्को कारण अमेरिका चलि नै राख्नु पर्ने रहेछ । राज्यले आम्दानी रोके सुविधा दिन नसक्ने रहेछ ।
अमेरिकामा बस्ने कसैले पनि यो अवस्थामा खाने सामानको अभावमा भोकै बस्नु परेन किनकि सबै ठुला खाद्य पसल निर्वाध खुले । ट्रक डेलिभरी रोकिएन । कालो बजार भएन । घरैमै सामान पुर्याउने अनलाईन साइटहरु थप एक्टिभ बनें । उबर, लिफ्ट, एब्बुलेट्टे, कार सर्भिस सबै, सबैको संकट मोचनका साथी बनें । म हप्ताको ३ पटक आमालाई डायलासिस लैजान्छु । गाडी लिन आउँछ, समयमै घर पुर्याउँछ । ५ लाख मानिसले अमेरिका डायलासिस गर्दछन् । म एउटा प्रतिनिधि उदाहरण मात्र ठान्नुहोस्; म र मेरो श्रीमती मेरो परिवारको केवल आम्दानीको श्रोत हो । हामीले फेब्रेवरीमा हवाई घुम्न गएदेखि राम्ररी काम गरेका छैनौं । मार्च ८ तारिखमा कोष्टारिका गएदेखि त बिल्कुलै कमाई छैन । तर पनि हामीलाई अफ्ठेरो छैन किनकि अमेरिकाले मलाई र मेरो श्रीमतीलाई गरी ६० हजार डलरको उधारो किन्न मिल्ने क्रेडिट् कार्ड दिएको छ । त्यो माथि अमेरिकामा खाना, गाडी, पेट्रोल अति नै सस्तो भएकोले हरेक परिवार हुनेको धेरथोर बचत हुन्छ नै । जुन क्रेडिट् कार्डलाई अहिले २ महिनासम्म थप शुल्क नलाग्ने बनाई दिएको छ । गाडिको किस्ता, बीमा रोक्दिएको छ । राज्य धनी भएपछि जनतालाई सजिलो हुँदो रहेछ । काम छुटेका सबैलाई बेरोजगार भत्ताको पैसा हप्तैपिच्छे आउने व्यवस्था मिलाएको छ । सबैभन्दा ठुलो कुरो त वार्षिक परिवारको कर दर्ता गर्नेलाई २४०० डलर उपहार, एकललाई १२०० डलर र १७ वर्षसम्मको बच्चा हुनेलाई प्रति बच्चा थप ५०० डलर दिने निर्णयमा तोक नै लागिसकेको छ । अहिले पो बुझ्दैछु किन अमेरिका आकर्षण रहेछ भनेर !
अमेरिकालाई हार्न आउँदैन ।
डलरलाई चलनचल्तिमा चीन, रुस, जापान लगायतले विश्वव्यापार कारोवारमा स्वीकार गरेको दोश्रो विश्वयुद्ध पछि हो, अब उनीहरुलाई नाफा डलरमै गर्ने बानी परिसकेको छ । डलर चलुञ्जेल अमेरिका हार्दैन । राष्ट्रपतिलाई कोरोनाले ५० हजार प्लस मान्छे मार्ने थाहा भएर नै डाक्टरलाई पोडियमबाट लाखको प्रोजेक्सन गर्न दिएको हो । हामीले जानेको उनले नजानेको भ्रम पाल्न छाड्नुहोस् । एउटा खेलकुद भइरहेको स्टेडियममा १ लाख अडियन्सलाई अमेरिकाले अनुमति दिन्छ । त्यसको अर्थ त्यो स्टेडियम कुनै कारणले भत्किएर १ लाख मानिस मर्यो भनेपनि तिर्ने बीमा र क्षतिपूर्तिको लागि उ तयार रहेको हुन्छ । ९११ को घटनामा मर्नेको कुरा छाडौं, किलोमिटर पर पर्नेलाई समेत यो देशले अहिले १९ वर्षपछि पनि निशुल्क उपचार गर्दैछ । ३२ करोड जनसँख्या भएको अमेरिकामा त्यसै पनि हरेक दिन ७५०० हाराहारीमा मानिस मर्ने गर्दछन् । राज्य संयन्त्र कसरी चल्दा सन्तुलित रहन्छ भन्ने अमेरिकी प्रशासकलाई थाहा रहेछ ।
मान्छे मर्ने अवस्था पनि; कति मर्दासम्म सामान्य र कति मर्ने अवस्था आएमा असामान्य भन्ने यिनलाई भलेभाँती थाहा छ । अमेरिकाको आकारको प्रजातान्त्रिक देश भावनाले मात्र चल्दैन । अवस्थालाई व्यवस्थासँग सन्तुलित पारेर चल्नुपर्छ । मेरो लागि म र मेरो परिवार बाँचेर यो जंग छेड्नु ठुलो कुरा होला तर अमेरिकालाई अमेरिकै रहेर यो जंग जित्नु पनि छ । अमेरिकाले चाहेको थियो भने गत जेनेवरीमै अन्तराष्ट्रिय उडान रोक्न सक्थ्यो तर अमेरिकाले रोके संसार रोकिन्छ भन्ने पनि बुझेको छ ।
मैले र मेरो पुस्ताले यो अवधिमा मृत्युलाई बिस्तारै मुसार्ने अवसर पाएकोले थप मानवीय सदभावको पाठ सिक्यौं । मृत्युको भय र बाँच्नुको चुनौतिमा जीवन कसरी अस्तित्वमा रहन सक्दो रहेछ, भन्ने पनि जान्यौं । कोरोना अब १५ दिनमा ठीकठिकै अवस्थामा आइपुग्दासम्म यसको हाउगुजी सन्त्रास कम भइसकेको हुनेछ । औषधिमुलोले एउटा लाइन समात्ने नै छ । बाँच्नुको लालसा बढाएकोमा धन्यबाद कोरोना ।