विनोद अधिकारी (माइजोगमाइ ४, इलाम सुपुत्र : तुलशी अधिकारी तथा पिङ्गलादेवी अधिकारी ) नवोदित साहित्यकार हुन् । नेपाली विषयमै स्नातकोत्तर अधिकारी शिक्षण पेसामा संलग्न छन् । उनको कलममा निकै राम्रो सिर्जनात्मक सम्भावना देखिन्छ ।
सम्पा. |
बेसार मभन्दा आयुमा जेठो भएकै हुनुपर्छ । उसले कहिल्यै मसँग परिचय मागेन । सायद उसले मलाई जन्मँदै देखेछ र चिनेछ ।
मैले पहिलो पटक साउने झरीमा उसलाई चिनेँ । आमाको पुच्छर लागेर बारीमा घाँस काट्न जाँदाको कुरा हो । मैले कलिला, नरम टुसाहरू किचिमिची पारेर नास पारेपछि मेरी आमाले बेसार र मेरो औपचारिक परिचय गराइन् । नास पार्नु नहुने वस्तु रहेछ भन्ने थाहा पाएँ । मानवको एक असल मित्रका रूपमा उसलाई चिनेँ । जतिखेर मैले बेसार चिनेँ त्यतिबेला मलाई कागलाई बेल थियो । न बेसार मनपथ्र्यो न यसको महत्व नै थाहा थियो ।
जब जब बेसार हुर्कंदै गयो म पनि उसँगै हुर्कंदै गएँ । आमाले मलाई र बेसारलाई उत्तिकै हेरचाह गरेर हुर्काइन् । मैले उसलाई मभन्दा जेठो होला भनेर कहिल्यै ठानिनँ किनभने उसका कलिला टुसाहरूलाई म सजिलै सिध्याइदिन सक्थेँ । जुन वस्तुमाथि आपूmले सजिलै विजय हासिल गरिन्छ त्यो वस्तु वास्तवमा आपूmभन्दा सानो लाग्छ । यो मानवीय स्वभाव पनि हो । मान्छे नभएकाले होला, बेसारले मलाई कहिल्यै हेपेन । मलाई उसले माया गरेझैँ पनि लागेन । हामी दुवैलाई बराबर माया गर्ने त केवल आमाले मात्रै ।
वर्षा सकिएसँगै बेसारले पनि आफ्नो रूप बदल्दै गएछ । ऊ आफ्नो वास्तविक पहिचान दिन सक्षम बनेछ । फागुन महिनाको गर्मिलो दिन थियो । आमाले बारीमा गएर जमिनभित्रबाट खनेर बेसार भन्दै बाहिर निकाल्दा त्यो अनौठो थियो । त्यतिबेला हेर्दा मैले चिनेको जस्तो बेसार थिएन । जमिनमा टुसाएको कलिलो टुसासहितको मेरो परिचित बेसारका सट्टा जमिनभित्रबाट उहाँले बेसार भन्दै निकालेको वस्तु फरक थियो । पँहेलो पँहेलो अदुवाजस्तो जरैजरासहितका गानाहरू देखिन्थे । तिनलाई आमाले जनिमबाट निकालिन् र भकुण्डो पछारे झैँ माटोमा पछारिन् । पहिले आमाले मलाई टुसाहरू किचिमिची पार्न नदिएको बेसार सम्झेँ र म छक्क परेँ ।
आमाले ती गानालाई बेसार भनिदिँदा म विश्वस्त भइनँ । मलाई आमाको नियतमाथि शंका लाग्यो । रिसाउलिन् भनेर आमासँग कुनै प्रतिवाद गर्न सकिनँ । मलाई बेसारको भन्दा आमाको माया बढी थियो ।
एक दिन भान्सामा आमाले चलाउँदै गरेको तरकारीमा मेरा आँखा परिरहेका थिए । आमाले पँहेलो धुलो माथिबाट छरिन् । अनौठो मान्दै मैले जिज्ञासा राखेँ यो के छरेको ? आमाले तरकारीमा बेसारको धुलो राख्ने निकै पुरानो चलन बताइन् । यसले तरकारीलाई स्वादिलो पार्ने यसको गुणसमेत बताइन् ।
म फेरि छक्क परेँ । मैले पहिलो पटक मलाई चिनाएको बेसार सम्झेँ । दोस्रोपटक जमिनमुनिबाट निकालेका गानालाई बेसार भनेर चिनाएको कुरा सम्झिएँ । तात्विक भिन्नता बुझ्ने प्रयास गरेँ । यसपटक आमाले मेरो जिज्ञासालाई निकै महत्व दिँदै नयाँ ज्ञान दिइन् । बेसारको बालापनदेखि हुर्कंदै भान्सासम्म आउँदाका हरेक चरणहरू सुनाइन् ।
आमा बेसारलाई बारीमा पनि स्याहार्छिन् र घरमा पनि । मलाई पनि आमा बेसारलाई भन्दा कम स्याहार्दिनन् । आमा साँच्चिकै माया र ममताकी खानी हुन् । त्यसैले उनी सबैलाई मायाले भिजाउँछिन् । आमा बारीमा बेसार रोप्छिन् अनि घरमा माया रोप्छिन् । बारी र घरको सन्तुलन उत्तिकै मिलाउँछिन् ।
आमाले बालापनमा मलाई प्रस्ट्याएको बेसार अर्कै थियो । मेरो उमेरसँगै बढ्दै गएको अनुभवबाट बेसार अर्कै भयो । म यसका औषधीय गुणहरू पनि बुझ्न थालेँ । खसी काटेका बेला त्यसको खुइल्याएको मृत शरीरमा दलिने बेसार सम्झेँ । बर्खामा हिलोमा काम गरेर गलेनी फाटेका औँलाहरूका कापमा खाने तेलसँग मिसाएर लगाउने बेसार, वर्षायाममा खेतमा जोत्दा जोत्दा जुवाले पेलेर पटपट फुटेका गोरुका काँधमा औषधीका रूपमा लगाउने बेसार, गोरु र बोकालाई सुमर्दा घाउ लागेर संक्रमण नफैलियोस् भनी तेलमा मिसाएर लगाउने बेसार, चिसो लागेर घाँटी दुख्दा तातो पानीमा उमालेर खाने बेसार आदि विभिन्न बेसारका महिमा सबै सम्झेँ । यी आमाले बाल्यकालमै सिकाएका शिक्षा थिए । ममा बढ्दो उमेर र बुझाइले आमाले बताएका यी सबै काममा बेसारलाई प्राथमिकता दिने कारण यसको औषधीय गुण हो भन्ने थाहा पाएँ । यसले एन्टिवायोटिक्सको काम गरेको हो भन्ने सहज निष्कर्ष निकाल्न सकेँ ।
बेसारको इतिहास मानवीय सभ्यतासँगै सुरु भएको रहस्य आमाले नै खोलिन् । बेसारको पुरानो पुस्ताबाटै नयाँ पुस्ता विकास गर्दै ल्याइने रहस्य बुझाएपछि मलाई बेसारको महिमा, इतिहास र गुणहरूबारे आद्योपान्त थाहा भयो ।
जान्ने भएपछि मैले बेसारलाई अझ बुझ्ने प्रयास गरेँ । हाम्रा प्राचीन शास्त्रहरूमा पनि बेसारलाई औषधीय गुणको एक प्रमुख बुटी मानिन्छ । संस्कृतमा हरिद्रा नामले चिनिने बेसार यही संस्कृत भाषाको हरिद्रा शब्दबाट अपभ्रंश भएर हलेदो नामबाट पनि चिनिने गरेको रहेछ ।
शास्त्रीय मान्यताअनुसार सात औषधीको मिश्रणबाट तयार गरिने सर्वौषधीमा पनि बेसार एक मुख्य औषधीका रूपमा लिइन्छ । सर्वोषधिका रूपमा वैदिककालदेखि नै उत्तिकै महत्त्व रहेको बेसारको अहिले महत्त्व झन् बढ्दै जान थालेको छ । पछिल्लो समय बेसारलाई राजनीति तथा विश्वपरिवेशमा फैलिँदै गएको महामारीसँग समेत जोडेर हेर्न थालिएको छ ।
जे होस् पछिल्लो समयमा बेसार मानवका लागि उपयोगी औषधी बनेर अझ लोकप्रिय बनेको छ । यसको इतिहास हिन्दु धर्म र मानव सभ्यता अनि विकाससँग जोडिएको छ । सर्वौषधीको गुणले सम्पन्न यसको अर्थ सबै रोगमा औषधी बन्न सक्ने सम्भावना रहेको भन्ने रहेको छ । यसरी नितान्त अग्र्यानिक अनि औषधीय गुणले सम्पन्न रहेको बेसारबारे मलाई प्रष्ट्याइदिने मेरी आमा मेरा लागि ज्ञानकी भण्डार हुन् । भान्सामा बिहान र बेलुकी उहाँकै साथी बनेको बेसार उपयोगिताका दृष्टिले बहुउपयोगी र सिंगो मानव जगतका लागि हितकारी र गुणग्राही रहेको छ ।