काठमाडौं । चिकित्सा सम्बन्धी शब्दको परिभाषा रहेको शब्दकोष ‘चिकित्सा शब्दसागर’ यसै साता सार्वजनिक भएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानमा भएको एक कार्यक्रमकाबिच शब्दकोष सार्वजनिक भएको हो ।
नेपालमा चिकात्सा सम्बन्धीको पहिलो शब्दकोष समारोहमा प्रा.डा. दिब्या सिंह शाह, प्रा.डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठलगायतले सार्वजनिक गरेका हुन् ।
विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल शर्मा लम्साल र डा. विपिन नेपालले संकलन गरेको सो शब्दकोष अंग्रेजी-अंग्रेजी-नेपाली भाषामा रहेको छ।
प्रमुख अतिथि एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा. डा. दिब्या सिंह शाहले नेपाली भाषामा आएको ‘चिकित्सा शब्दसागर’ले चिकित्सा विज्ञानलाई नेपालीमा बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको बताइन्।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन प्रा.डा. राजेन्द्र कोजुले चिकित्सा विज्ञानको विद्यार्थी र अहिले चिकित्साशास्त्र अध्यापन गराउने भएकाले आफूले चिकित्सा शब्दसागरको महत्व अनुभव गर्ने धारणा व्यक्त गरे।
८ वर्ष लगाएर तयार पारिएको ‘चिकित्सा शब्दसागर’ १ हजार ९२० पेजको रहेको छ । त्यस्तै शब्दकोषमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्दहरू छन्।
शब्दकोषलाई शब्दार्थ प्रकाशनले प्रकाशित गरेको हो।