- समाचार
केही वर्ष यता साहित्य संवर्द्धन केन्द्रले नयाँवर्षको दिनलाई साहित्य दिवसका रूपमा मनाउँदै आएको छ । गत वर्ष कोभिडका कारण स्थगित भएको साहित्य दिवस समारोह यस वर्ष विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
काठमाडौँमा साहित्य संवर्द्धन केन्द्रले बुधबार १३ पुरस्कार र पाँच पुस्तक सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आयोजित विशेष समारोहमा. साहित्य संवर्द्धन अभिनन्दन–२०७८ बाट गोपीकृष्ण शर्मालाई सम्मान गरियो । ५० हजार रूपैयाँको वसन्त–राधापद्यकाव्य पुरस्कारबाट डा. राप्रसाद ज्ञवालीलाई सम्मान गरिएको छ । २५ हजार रूपैयाँको हेमकुमारी–दिवाकर समाज सेवा सम्मानबाट नेपाल शिक्षा परिषद्लाई सम्मान गरिएको छ । १५ हजार रूपैयाँको साहित्य संवर्द्धन द्रष्टा सम्मानबाट कृष्णहरि बराल, ५५ हजार रूपैयाँको हरिहर शास्त्री सावित्रीदेवी पुरस्कार नगेन्द्रराज शर्मा, ३५ हजार रूपैयाँको विश्वज्योति सेवा सम्मान रोचक घिमिरे, २१ हजार रूपैयाँको शारदा सिर्जना पुरस्कार रमा शर्मा, १५ हजार रूपैयाँको राधिका–पदम–दुर्गा पुरस्कारबाट नारायणप्रसाद उपाध्याय, १५ हजार रूपैयाँकै जम्बकुमारी टीकावल्लभ साहित्य सम्मानबाट उत्तमकृष्ण मजगैयाँ, १२ हजार रूपैयाँको गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मानबाट डिल्लीराज अर्याल, १२ हजार रूपैयाँको निर्मला–प्रेम बाल साहित्य सम्मानबाट रञ्जुश्री पराजुली, ११ हजार रूपैयाँको पुण्य–तिलस्मी–सरह दर्शन साहित्य सम्मानबाट विद्यानाथ उपाध्याय, ११ हजार रूपैयाँकै नन्द–टुल्की–आनन्द साहित्य सम्मानबाट नारायण तिवारी र १५ रूपैयाँको आमोइ पद्याख्यान पुरस्कारबाट होम सुवेदी पुरस्कृत भएका छन् । यी पुरस्कारहरू हरेक वर्ष वैशाख १ गतेलाई साहित्य दिवस मानी सोही दिवसका अवसरमा संक्षिप्त कार्यक्रम आयोजना गरी अर्पण गरिएको हो ।
कार्यक्रममा लक्ष्मी मास्केको मेरा श्रद्धेय पुर्खाहरू र देवघाटधामको महत्त्व, राजेशमान केसीको उत्प्रेरणा र जिन्दगीको यात्रा, सरस्वती गिरीको आत्मकथन नामक पाँच कृतिको विमोचन भएको छ । प्रदीप नेपालको प्रमुख आतिथ्यमा गोल्डेनलाइट पार्टी प्यालेस चाबेलमा भएको कार्यक्रमको सभापति प्राध्यापक राजेन्द्र सुवेदी थिए । सुवेदीले नेपाली साहित्यको विकासमा साहित्य संबर्द्धन केन्द्र समर्पित भएको बताए । उनले अवस्था सहज भएपछि यस दिवसलाई दुई तीन दिन सम्म भव्य रूपमा मनाइने जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्यसहित पुरस्कारका बारेमा संस्थाका महासचिव विनयकुमार शर्मा नेपालले मन्तव्य राखेका थिए । संस्थामा विविध व्यक्तिले आफ्ना अभिभावकका नाममा र कृतिका नामममा समेत महत्वपूर्ण पुरस्कार राखेका छन् ।
सम्मानित स्रष्टाकाबारे साहित्यकार रमेश शुभेच्छुले बोलेका थिए । समारोहमा बोल्दै शुभेच्छुले हरेक पुरस्कारका लागि योग्य प्रतिभाको छनोटगरिएको बताए । उनले हरेक वर्ष संस्थाका पदाधिकारीहरूबिच तीन पटक छलफल भएपछि मात्र प्रतिभा चयन गरिने बताए । कार्यक्रममा लोकार्पित पुस्तककाबारे डा. लेखप्रसाद निरौलाले समीक्षात्मक मन्तव्य राखेका थिए । कार्यक्रम कोभिडका कारण संक्षिप्त र थोरै सहभागीका बिच सम्पन्न गरिएको थियो । कार्यक्रमको आरम्भ र अन्त्यमा स्वागत र धन्यवाद कविता वाचन गर्ने परम्परा यस संस्थाले बसाल्दै आएको छ ।