काठमाडौं । राजधानीमा यसै साता विभिन्न विधाका स्रष्टाहरू सम्मानित भएका छन् । निबन्धकार शंकर लामिछानेको ९४औं जन्मजयन्तीका अवसर आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक भैरिब रिसालसहित स्रष्टाहरू सम्मानित भएका हुन् ।
कार्यक्रममा वरिष्ठ लेखक गणेश रसिकलाई ५० हजार रुपैयाँ नगदसहित शंकर लामिछाने निबन्ध पुरस्कार र नियात्राकार प्रतीक ढकाललाई २५ हजार नगदसहित शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गरिएको छ ।
शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लामिछाने देवकोटापछिका सबैभन्दा सशक्त निबन्धकार भएको बताए । उनले शंकर लामिछाने प्रतिष्ठानले गर्दै आएका कार्यक्रमहरूले लामिछानेलाई नयाँ पुस्तामाझ चिनाउन ठूलो मद्दत पुगेको बताए ।
कार्यक्रममा अभिनन्दित व्यक्तित्व भैरव रिसाल, पुरस्कृत व्यक्तित्वहरू गणेश रसिक र सम्मानित संस्था दया फाउन्डेसनका संस्थापक एवम् निवर्तमान अध्यक्ष किपा माथेमाले अभिनन्दन, पुरस्कार र सम्मानका लागि आभार व्यक्त गरे ।