काठमाडौं । ‘पवन आलोक नियात्रा पुरस्कार’ स्थापना भएको छ । हरेक वर्ष विशुद्ध नियात्राको कृतिलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गरिएको हो ।
पुरस्कार रेखा कँडेलले स्थापना गरेकी हुन् । पुरस्कार स्थापनाका लागि उनले नियात्रा समाज नेपालसँग सम्झौता गरेकी छिन् । समाजका तर्फबाट अध्यक्ष अध्यक्ष प्रतीक ढकालले हस्ताक्षर गरेका छन् ।
पुरस्कारका लागि कँडेलले ३ लाख ५० हजारको अक्षय कोष स्थापना गरेकी हुन् । सो कोषबाट प्राप्त हुने ब्याजले हरेक वर्ष नगद २५ हजारले नियात्रा कृतिका सर्जकलाई पुरस्कृत गरिने बताइएको छ ।
पुरस्कारका लागि कृति मूल्याङ्कन समिति गठन गरिनेछ । सो समितिले वर्षभरि प्रकाशित नियात्रा कृतिको मूल्याङ्कन गरी पुरस्कारका लागि सिफारिस गर्नेछ ।
सो पुरस्कार वसन्त पञ्चमीका दिन विशेष समारोह आयोजना गरी प्रदान गरिने समेत बताइएको छ ।
हस्ताक्षर समारोहमा नियात्रा समाज नेपालका उपाध्यक्ष मोहन चापागाईं, महासचिव प्रभा बराल, कोषाध्यक्ष गीता रेग्मी, नियात्राकार पवन आलोक र अन्य सदस्यहरू उपस्थित रहेका थिए ।