हेम सरीता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहटका कवि मनोज विश्वकर्मा प्रथम भएका छन् ।
उत्कृष्ट २५ कवितालाई भर्चुअल माध्यममार्फत् प्रतियोगितात्मक वाचन गराइएको थियो । सो वाचनमा विश्वकर्मा प्रथम भएका हुन् । उनले नगद एक हजार अमेरिकी डलरसहित सम्मानपत्र प्राप्त गरे ।
पुरस्कारको स्थापना समाजसेवी हेम पाठक र सरीता पाठक (टेक्सस, अमेरिका)ले गरेका हुन् ।
प्रतियोगिताका संयोजक राधेश्याम लेकालीका अनुसार डा. रामप्रसाद ज्ञवाली, स्नेह सायमी र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको हो ।
प्रथम हुने कविलाई काठमाडौंमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने संयोजक लेकालीले जानकारी दिए । त्यस्तै उत्कृष्ट २५ कविको कविता समेटर पुस्तक प्रकाशन गर्ने उनले बताए ।