काठमाडौँ । साझा प्रकाशनको अध्यक्षमा साहित्यकार तथा पूर्वसांसद डा. विजय सुब्बा निर्वाचित भएका छन्। साझाको २४औँ साधारणसभाबाट उनी निर्वाचित भएका हुन्।
साझाको पुस २१ देखि २४ गते चार दिनसम्म चलेको साधारणसभाबाट उनी निर्वाचित भएका हुन् ।
डा. सुब्बा ४१२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १८३ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव होमनाथ भट्टराईले जानकारी दिए।
कुल ४५७ मतदाता रहेको साझाको निर्वाचनमा ६४३ मत खसेको थियो भने ४८ मत बदर भएको भट्टराईले जानकारी दिए । अध्यक्षमा निर्वाचित भएपछि डा. सुब्बाले खराब अवस्थामा पुगेको साझालाई सुदृढ तुल्याउने आफ्नो काम हुने प्रतिक्रिया दिए । ‘हरेक हिसाबले ध्वस्त साझा प्रकाशनलाई ब्युँताएर अगाडि बढाउने काममा इमानदार भएर लाग्नेछु’, उनले भने ।
साझा प्रकाशनको सञ्चालक समितिको अध्यक्ष पहिलोपटक निर्वाचनबाट छानिएको हो । विगतमा सरकारले साझाको अध्यक्ष नियुक्त गर्थ्यो। निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ।
यसअघि नै साझा प्रकाशनको सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए।