- सम्पादकीय
कोरोना महामारीले कसैलाई छोडेन । अरू त के कोरोना केही होइन भन्ने वैद्य र केही हो भन्ने डाक्टरलाई पनि छोडेन । त्यस क्रममा कलमजीवि थुप्रैले ज्यान गुमाए । पत्रकारहरू साहित्यकारहरूको निधनको सङ्ख्या पनि ठुलो भइसकेको छ । यस महामारीको पहिलो लहरमा खासै बौद्धिक वर्गले क्षति व्यहोर्नु परेन तर दोस्रो लहरमा भने बौद्धिक वर्ग र त्यसमा पनि नेपाली साहित्यलाई ठुलो क्षति भएको छ ।
विश्वमा कोरोनाका बिरामी सत्र करोड सतासी लाख भन्दा बढी भइसकेका छन् । कोरोना विश्व महामारीमा परेर .नेपालमा साढे आठ हजार र विश्वमा साढे ३८ लाख जना मानिसले ज्यान गुमाइसकेका छन् । यसको लहर छिमेकी मुलुक भारतमा निकै चर्को रूपमा आयो र हामीले पनि यसको मार खेप्नु पर्यो । यसले सर्वसाधारण मात्र होइन स्वास्थ्यकर्मी, पत्रकार, लेखक, कलाकार, सुरक्षाकर्मी, राजनीतिज्ञ, प्रशासक, शिक्षक, प्राध्यापक कसैलाई छाडेन । घरभित्रै बस्ने सुरक्षित मानिसलाई पनि छाडेन । यस मेसोमा कुन क्षेत्रमा कति जनशक्तिको क्षति भयो सम्बन्धित क्षेत्रले तथ्याङ्क जुटाउलान् । समाचारहरूमा आएको तथ्याङ्कअनुसार झन्डै दुई दर्जन (२० जना) नेपाली सञ्चारकर्मीले ज्यान गुमाइसकेका छन् । त्यस्तै थुप्रै साहित्यकारहरूको पनि निधन भयो ।
महामारीका कारण नेपाली साहित्यकारहरूको निधन हुने सङ्ख्या ठुलो छ । गत वर्षको अन्त्यमा श्यामदाश वैष्णवको यसै महामारीका कारण निधन भयो भने यस वर्षको सुरुमै कृष्णप्रकाश श्रेष्ठ, चेतन कार्की, राजेन्द्र सुवेदी, वानिरा गिरी, मोतीलाल पराजुली, शेरबहादुर गुरुङ आदि अग्रज साहित्यकारहरूको निधन भयो । साहित्य सञ्चारकर्मी सिद्धिश्वरमान श्रेष्ठ पनि यस रोगबाट जोगिन सकेनन् । जीवनचन्द्र कोइराला, कविराज पोखरेल, छत्र खतिवडा, एकाराम सिंह, एकराज भण्डारीलगायत युवा पुस्ताका साहित्यकारहरूलाई पनि यसै रोगले लग्यो । यी आआफ्ना क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूका निधनले नेपाली साहित्यका सिर्जना, समीक्षा, सञ्चार, लोकसाहित्य, अनुवाद, बालसाहित्य आदि क्षेत्रमा ठुलो क्षति पुगेको छ । दिवंगत स्रष्टाहरू सबैप्रति हार्दिक श्रद्धाञ्जली । शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना । दिवंगत स्रष्टाका प्रकाशन हुन बाँकी सामग्री सरकारी निकायहरूले खोजी गरी प्रकाशनमा ल्याउन सकून् । हाम्रो कामना छ, यस महामारीबाट बौद्धिक क्षेत्रमा यस किसिमका क्षति अव थप व्यहोर्नु नपरोस् ।
नेपाली साहित्यमा यस महामारीका कारण धेरै कार्यक्रमहरू रोकिएका छन् । धेरै गतिविधिहरू अवरुद्ध बनेका छन् । पुस्तक पत्रपत्रिकाहरू प्रकाशन हुन पाएका छैनन् । विश्वमा साढे सत्र करोड मानिस संक्रमित हुँदा करिब साढे १६ करोड मानिस त निको भएर सामान्य जीवनमा फर्किएकै छन् । यो तथ्याङ्कले मानवलाई हार्न दिने छैन । विज्ञान र औषधी विज्ञानले पनि हार खानुपर्ने छैन । यो महामारी छिटै अन्त्य भएर सामान्य जनजीवनमा फर्कन सकिने छ भन्ने विश्वास गरौँ । लेखक पत्रकारलगायत समाजमा चेतना छर्न सक्ने वर्गले सकारात्मक सन्देश प्रवाह गरौँ ।
-सम्पादक