भूमिका कुनै कृतिको आमुख हो । यो सृजनात्मक एवम् अनुसन्धान कृतिका पूर्वसन्दर्भलाई सङ्केत गर्ने पहिलो समीक्षा हो । यसले कृतिको मूल विशेषता र उपलब्धिलाई मूल्याङ्कन गर्न सघाउ पुर्याउँछ । यो मूलतः कृतिका मूल विशेषता र मूल्य उद्घाटनका उद्देश्यले लेखिएको हुन्छ । यसलाई धेरै चिन्तकहरूले कृतिको मर्मलाई पूर्वसूचनाका रूपमा लिएका छन् । यसलाई कुनै कृतिको पहिलो समीक्षाका साथै आधिकारिक सूचनाका रूपमा लिन सकिन्छ ।
भूमिका लेखक, प्रकाशक र विषय विशेषज्ञले लेख्ने गरेका छन् । यो आलेख कृतिको आरम्भमा रहन्छ । भूमिका कृतिका लेखक स्वयम्ले अथवा त्यस विषयका विज्ञ व्यक्तिले लेख्छन् । यो ग्रन्थको प्रारम्भमा रहने विशेष आलेख हो । यस्तो आलेख कहिलेकहीँ ग्रन्थको अन्त भागमा राख्ने परम्परा पनि छ । यसलाई मूलतः कृतिको अग्र भागमा रहने विशेष लेखका रूपमा लिइन्छ ।
भूमिका एक अनुच्छेददेखि सयौँ पेजसम्मका भेटिन्छन् । लेखकको चाहना र भूमिका लेखकको योजनाअनुसार भिन्न संरचनामा भूमिकाहरू लेखिने र प्रकाशन गरिने गरेको पाइन्छ । यसलाई प्रस्तावना, उपोद्घात, प्राक्कथन, पूर्वकथन, सम्मति जस्ता पदबाट पनि सम्बोधन गरिन्छ । प्रत्येक भूमिकामा भूमिका लेखिँदै गरेको विषयको सन्दर्भ सम्बन्धित कृतिमै केन्द्रित हुन्छ । यसलाई कृतिका बारे पूर्व सूचित गर्ने सामग्रीका रूपमा लिइन्छ । यसले पाठकको मौलिक अधिकारमा हस्तक्षेप गर्ने र नगर्ने दुवै दावी विज्ञहरूबाट हुँदै आएको छ तर पाठकको अधिकारमा हस्तक्षेप नगरी लेखिने लेखन नै असल भूमिका हो ।
भूमिका समीक्षाकै एक प्रकार विशेष हो । यसलाई कृति प्रकाशनपूर्वको समीक्षाका रूपमा चिन्न सकिन्छ । प्रत्येक भूमिकामा आंशिक समीक्षा चेतना र बढी कृतिका विषयवस्तुको सूचना रहन्छ । यसले लेखकको कृति लेखनको उद्देश्यको पूर्व सङ्केत गरिरहेको हुन्छ । यसले कृतिमा समेटिएका मूल पक्षको उद्घाटनलाई भूमिकाका खास अंगहरूका बिच पनि महत्त्व दिएको हुन्छ ।
नेपाली कृति प्रकाशन परम्परालाई हेर्दा भूमिकाका अनेक रुवरूप, महत्व, अधिमूल्यन र अवमूल्यनका घटना भेटिन्छन् । कतिपय प्राचीन समयका ग्रन्थहरूको पुनः प्रकाशनका क्रममा प्राक्कथनका रूपमा सम्बन्धित विषयको सूचना र समीक्षा गर्ने परम्परा पनि बढ्दो छ । सुरु सुरुमा साहित्यिक कृतिहरूमा केन्द्रित यो चेतना आधुनिक ज्ञान एवम् विज्ञानका विविध क्षेत्रका विषय केन्द्रित कृतिमा पनि अभ्यास हुँदै आएको छ । नेपाली साहित्यको आधुनिक कालमा प्रकाशित कृतिमा भूमिका लेखनको क्रम तीव्र बनिरहेको छ । यस काल खण्डमा र अझ समकालीन काल खण्डमा लेखिएका कृतिका भूमिका हेर्दा कृतिको गुण गायन र विज्ञापनमा केन्द्रित हुन थालेका छन् । यस्ता भूमिका लेखक स्वयम्ले लेखकीयका रूपमा र अन्य विज्ञ वा अग्रजहरूले शुभकामना, आशीर्वचन, टिपपणी र प्रतिक्रियाका रूपमा सीमित देखिन्छन् ।
केही सरकारी संस्थानका आधिकारिक व्यक्तित्वका भूमिका औपचारिकतामा सीमित देखिन्छन् । केही भूमिकामा लेखकको परिचय र लेखकसँगका बसउठ र चिनापर्चीका सन्दर्भले ढाकिएका हुन्छन् । यो भूमिकाको गिर्दो रूप हो । नेपाली साहित्य परम्परामा वासुदेव त्रिपाठी, तारानाथ शर्मा, राजेन्द्र सुवेदी, गोविन्दराज भट्टराई आदि स्रष्टाले रुचाएका भूमिका लेखक हुन् । उनीहरूका भूमिकाले नेपाली समीक्षाको ठुलो अंश समेटेका छन् । उनीहरू पदमा रहँदा नरहँदा निरन्तर भूमिका लेखिरहेका छन् । तिनले सम्बन्धित कृतिकारको प्रतिष्ठाका साथै साहित्यको विकासमा पनि टेवा पुर्याइरहेका छन् ।
कृतिमा भूमिकाको महत्त्व रहने कुरा अनुसन्धाताहरूले पुष्टि गर्दै आएका छन् । कुनै कृतिको अध्ययनका लागि पहिलो पूर्वकार्यका रूपमा भूमिकालाई नै अगाडि सारिन्छ । लेखकीय र भूमिकाका सूचनालाई छोडेर अनुसन्धान अगाडि बढ्न सक्तैन । यो महत्वपूर्ण पाटो व्यवहारिक रूपमा भने निशुल्क कार्य जस्तै बनिरहेको छ । लेखकले टङ्कण, सम्पादन, प्रकाशन आदिमा गर्ने खर्च जस्तो खर्च भूमिका लेखकलाई गरेको देखिँदैन । यसले बौद्धिक शोषणको क्रम पनि बढाएको छ ।
सूक्ष्म दृष्टिले हेर्दा कृतिका दोस्रो तेस्रो संस्करणमा आउँदा पहिलो संस्करणमा प्रकाशित भूमिकामा परिवर्तन गर्ने चलन पनि देखिन्छ । दोस्रो संस्करण प्रकाशन गर्दै गर्दा कृति प्रकाशन भएपछि गरिएका समीक्षा पनि भूमिकाका रूपमा समेट्ने चलन पनि बढ्दो छ । कतिपय कृतिमा पाठकहरूका टिप्पणी र प्रतिक्रियाका साथै समाचारलाई पनि भूमिकाका रूपमा समावेश गर्ने प्रचलन बढ्दो छ । यसले भूमिकाको गम्भीरता र भूमिका लेखकको गरिमालाई क्रमशः कमाजोर बनाउन थालेको छ । कतिपय पुराना महत्वपूर्ण कृतिहरू नयाँ संस्करण निस्कँदा सम्बन्धित प्रकाशक वा प्रकाशन संस्थाका प्रमुखले पुराना महत्त्वपूर्ण भूमिका हटाएर आफ्ना भूमिका राख्ने गरको पनि भेटिन्छ । यसले कृतिको ऐतिहासिक गरिमा कमजोर बनाउँछ । सही अनुसन्धानमा बाधा पुर्याउँछ ।
कृति प्रकाशन गर्दा भूमिका कृतिको पहिलो आधिकारिक समीक्षा वा सम्मति हो भन्ने कुरा बिर्सनु हुँदैन । यसले लेखक र कृतिलाई पाठकसँग संवाद गराउँछ । कृति छनोट र पठनमा सघाउँछ । अनुसन्धाताहरूलाई अनुसन्धानको कोण र प्राक्कल्पना प्रदान गर्दछ ।
– सम्पादक