नेपाली लोकसङ्गीत–सङ्गीतको क्षेत्र निकै व्यापक छ । यसले लोकगीत र यस संबद्ध भाका, लय, विषय, ताल, सुर, तरज र मूच्र्छनालाई मौलिक पहिचानसहित बचाइराखेको छ । दुनियाँ डिजिटल प्रविधिमा प्रवेश गरेपछि यसको प्रचार छिटो भए पनि यसका मौलिक सामर्थ्यहरू नष्ट हुँदै गएको चिन्ता बढ्दो छ । यो चिन्तासँगै यसको महत्त्व पनि बढ्दो छ ।
मौखिक रूपमा चल्दै र सुरक्षित बन्दै आएका नेपाली लोकगीतको सुर र ताललाई नगुनगुनाउने नेपाली ओठ र गला छैनन् । यसमा शास्त्रीय सङ्गीतमा जस्तो स्थापित र सिद्धान्तबद्ध स्वरलिपि चहिँदा पनि चाहिँदैन । सङ्गीतिक लिपि बुझ्ने र नबुझ्ने सबैलाई त्यत्तिकै सम्प्रेष्य र हार्दिक लाग्छ । सबैको साझा गायकी बनेर रहेको छ ।
डिजिटल प्रविधिको प्रयोग र मौलिक रूपमा अभ्यास नहुनुले नेपाली लोकगीतमा रहेको मौलिक सङ्गीत लोप हुने त होइन भन्ने चिन्ता पनि बढ्दो छ । अभिलेखन र प्रकाशनका विभिन्न उपकरण र स्वरलिपिबद्ध गर्ने परिपाटी पनि विकसित बन्दै गएका बेला लोकगीतको व्यवस्थित अभिलेखिकरण र प्रकाशन हुन नसकिरहेको पक्ष लुकाइरहनु पर्दैन । अन्य मुलुकले लोकशङ्गीतलाई विश्वविद्यालयको अङ्ग बनाउँदै गइरहेका बेला हामी हाम्रा सम्पदासँग बेखबर जस्तै छौँ । लोकसमाजमा बेलाबखत, ठाउँ , संस्कृति, परम्परा र हाटबजार एवम् मेलापातमा लोकगायक र गायिकाहरू देखा परिरहेकै छन् यद्यपि तिनको मौलिकताको खोजी र अध्ययनको खाँचो छ । उनीहरूलाई प्रोत्साहन र संरक्षणको पनि पनि खाँचो छ । औपचारिक अध्यन र अनुसन्धानका दायरामा अटाउने आवश्यकता पनि त्यत्तिकै छ ।
नेपाली लोकगीतमा सङ्गीतबद्ध विभिन्न प्रकारका भाकाहरू आफैमा लोभलाग्दा छन् । जति सुन्दै गयो उति अपनत्व प्रदान गर्ने र सबैका ओठ चलाउन अभिप्रेरित गर्ने सामर्थ्य तिनमा जीवन्त छ । ठाडो भाका, तेर्सो भाका, सवाइ भाका, चुट्का भाका, ख्याली भाका, भदौरै भाका, बाह्रमासा भाका, मागल भाका, आदि हाम्रा अन्तरमनका भाकाहरू हुन् । ‘नैनरेसम’, ‘साहिला दाइ’, ‘जुनेली चरी’, ‘रेलिमाई’, ‘है माया’, ‘निर्माया’, ‘मायालु’, ‘लल्लोरी’, ‘आँधीखोल’, ‘रेलै घुमेर’, रेरै फनन, ‘सालैज्यू’, ‘सानुमाया’, ‘सुनिमाया’, ‘राम साइलाओ’, ‘हाइ गोरी’, ‘ज्यानी’, ‘झम्के बुलाकी’, ‘ज्यानी’, ‘रेसमे नानी’, ‘बरीलै’, ‘निर्कमल हजुर’, ‘लैबरी’, ‘लालुमै’, ‘सुन बरीलै’ आदि लोकगीतका थेगाहरूमा संरक्षित साङ्गीतिक धुनसूत्रभित्र मात्र पनि अनेक भाकाहरू संरक्षित छन् । यिनको वस्तुगत, वर्गीकृत अध्ययन र अभिलेखको खाँचो टड्कारो छ ।
नेपाली समाजमा प्रचलित लोकभाकाहरूमा स्थानीय विशेषता र भेद, उपभेद र क्षेत्रीय भेदोपभेदहरू त्यत्तिकै छन् । एकै गीतलाई अनेक प्रकारका सङ्गीतसापेक्ष भाका फेरी फेरी गाउने परम्परा पनि हामीसँग छ । भिन्न भषामा एकै लयलाई गाउने भिन्न सामर्थ्य पनि हामीले जोगाएर राखेका छौँ । यी भाकामा छिपेको लोकसङ्गीतको इतिहास पनि आदि कालदेखि अनेक सभ्यतासँग जोडिएर त्यत्तिकै जीवन्त छ । हाम्रा आफ्नै लोकगीतको वास्तविक अध्ययन गर्न सके प्रचलित शास्त्रीय सङ्गीतको मूल स्रोतको पहिचान पनि लोकसङ्गीतसँग हुन थाल्छ । हाम्रा नाचघर, सङ्गीत प्रतिष्ठान र सङ्गीत विद्यालयहरूले यस पक्षमा चासो पु¥याउन सकिरहेका छैनन् । हाम्रा लोककलाकारलाई राष्ट्रिय अन्तराष्ट्रिय मञ्चमा उभ्याउन सकिरहेका छैनन् । वास्तविक सङकलक र गायकलाई लाभान्वित बनाउन सकिरहेका छैनन् ।
हाम्रा लोकगीत र लोकजीवनमा तारवाजादेखि तालबाजासम्मको निर्माण र तिनको कला आफ्नै महत्वसाथ सतीसा लबनेर उभिएको छ । बाँसुरी, मुरली, सनाही, नरर्सिँगा, सनई,शङ्ख, कर्नाल जस्ता स्वरबजाको धुन हाम्रा मनमा जसरी गढेको छ त्यसरी प्रचार र प्रयोग हुन सकिरहेको छैन । हाम्रा पुर्खाले हातका औँला मुखमा लाएर, रुखका पात फुकेर, मुखको आकृति मिलाएर गीतको धुन निकालेर बजाइने वाद्य धुनको विकास गरेका छन् । यी धुनहरू विश्व बजारमा रमाइला र नयाँ हुन सक्छन् । मादल, च्याभु्रङ, डम्फू, ढोलक, दमाहा, ट्याम्को, ढ्याङ्ग्रो झ्यम्टा, खैँजडी, घण्ट आदि तालबाजासँग हाम्रा पुर्खाका दैनिकी, मनोरञ्जन र पेसाहरू जोडिएका छन् । मुखको स्वर र धागोको तन्तु मिलाएर बजाइने वाद्य मुर्चुङ्गा हाम्रो लोकसंस्कृतिको अनुपम सिर्जना हो । हातको भरमा रेटनी लिाएर बजाइने बाजा सारङ्गी, एकतारे, आदिका मौलिकता अझ लोभलाग्दा छन् । हामीले यस्ता लोभलाग्दा कति बाजाहरू गुमाइसकेका छौँ । यी बाजासँग गाइने कति भाकाहरू हराइसकेका छौँ । अध्ययन अनुसन्धान र लोकसंस्कृतिका क्षेत्रमा काम गर्ने व्यक्तिहरूले यसतर्फ चासो बढाउन आवश्यक छ ।
हाम्रा लोकभाका र लोकबाजाहरूले नेपाली लोकसंस्कृति र लोकसाहित्यको अङ्ग बनेर मात्र होइन विश्व लोकसंस्कृतिको अङ्ग बनेर हाम्रो अस्तित्व रक्षा गरिरहेका छन् । यी हाम्रा मात्र नभई विश्वका लोकसांस्कृतिका छुटाउनै नसकिने अङ्ग पनि हुन् । यी वाद्यहरू लोकगायन, लोकनर्तन, लोकपर्व र उत्सव, संस्कृति, प्रथा, परम्परा आदिसँग पनि घाँटी जोडेर बाँचेका छन् । लोकधर्म र साझा संस्कृतिका अभिन्न पक्ष बनेर रहेका छन् । विश्वको कुनै पनि समाज एकपटक अन्य समाजका बाजागाजा र साङ्गीतिक भाकातिर आकर्षित भए पनि रुचि, चाख र सांस्कृतिक चेतनाको पुनरावृत्ति भएको देखिन्छ । हामीले पनि आयातीत बाजाहरू धेरै बजाइसक्यौँ । आयातीत भाकाहरू थुप्रै गाइसक्यौँ अब आफ्नै बाजामा आफ्नै भाका संरक्षण गर्न ढिला भइसकेको छ ।
-सम्पादक