नेपालका जातजातिपिच्छे विभिन्न चाडपर्व, संस्कृति र संस्कारहरू जीवन्त छन् । त्यस्ता बहुविध चाडपर्वहरू जीवन्त रहेकै कारण नेपाली ससाज लोकवार्ता एवम् संस्कृतिसम्पन्न छ । यस्ता विविध पर्वमध्ये आदिवासी थारू समुदायको प्रकृतिसँग नजिक सम्बन्ध रहेको माघी पर्व एक हो ।
माघी पर्व थारू समुदायका मानिसको भाषा, रहनसहन, जीवनशैलीसँग निकट छ । थारू समुदायको मूल र अरू नेपालीको पनि साझा यो पर्व केवल खानपान र मनोरञ्जनमा मात्र सीमित छैन । यसको सम्बन्ध लोकश्रम, कृषि सभ्यता, संस्कृति, सामाजिक आचरणा, नववर्ष र सामूहिकतासँग पनि जोडिएको छ । थारू समुदायमा रहेका विविध पर्वमध्ये सबैभन्दा महान पर्व माघी मान्दछन् । यसलाई थारू समुदायको नयाँवर्ष पनि भनिन्छ । अहिले यो पर्व थारू समुदायमा सीमित नरहेर नेपालका सबै जातजातिले मनाउन थालेका छन् । तरुल, चाकू, तिलको लड्डु लगायत चिल्लो र जाडोका प्रतिरोधक खाद्य परिकार खाएर मनाउन थालेका छन् । थारूहरूका लागि माघी पर्व आम नेपालीका लागि माघे संक्रान्ति पर्व हो । फरक यति हो कि आम नेपालीहरू माघे सङ्क्रान्ति एक दिन मात्र मनाउँछन् भने थारू माघी पर्व पुरै महिनाभरि नै मनाउँछन् । यस समुदायले माघी परापूर्वकालदेखि नै महान् पर्वको रूपमा धुमधामसँग मनाउँदै आएको इतिहास छ ।
त्यसपछि सबै जना सबैसँग गाउँभरि भेटघाट ढोगसलाम गर्छन्, आशिर्वाद आदानप्रदान गर्छन् । नाचगान गर्दै रमाउँछन् । बर्षभरिका सुख दुःखका कुराहरू साटासाट गर्छन् । घरपरिवारभित्र पनि कामको बाँडफाँड गर्छन् । त्यसै गरी त्यही दिन गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य पनि गर्छन् । त्यस दिन नभ्याएका काम पछिल्ला पन्ध्र दिनसम्म गर्नुलाई शुभ मान्छन् ।
संस्कृतिका विविध पक्षमध्ये ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यसो हुनाले यसलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) भनिएको हो । यो पर्व माघ महिनाको पहिलो दिन मनाइन्छ । यसको ज्योतिषशास्त्रीय महत्व भिन्न कुरा हो । थारू समुदायमा माघे सङ्क्रान्ति अर्थात् माघी पर्व पुसको अन्तिम दिनदेखि आरम्भ हुन्छ । यस समुदायमा पुसको अन्तिम दिनमा गाउँभरिका मानिसहरू मिलेर सुँगुर काट्छन् यो चलन परापूर्वकालदेखि जीवन्त छ । यसलाई सांस्कृतिक भषामा ‘जिता मर्ना’ भनिन्छ । त्यो दिनलाई ‘जिता मर्ना दिन’ भनिन्छ । सामूहिक रूपमा सुँगुरको मासु, ढिक्री, रोटी, माछा तरुल आदि खाद्य परिकार तयार गरिन्छ । त्यस रातभरि नाचगानका साथ रमाइलो गर्ने, विशेष गरी छोक्रा नाच (मघौटा नाच) र ढुमरु गाउने गरिन्छ । यी लोकवार्ता र लोकसाहित्य एवम् संस्कृतिका उल्लेख्य पक्ष हुन् ।
माघ एक गते अर्थात् माघीको दिन विहानै भाले बासेको पहिलो प्रहरमा थारू समुदायका सम्पूर्ण मानिसहरू सँगै भेला भएर सामूहिक रूपमा नदीमा नुहाउन जान्छन् । नुहाएर चोखो नितो भएर घरमा आई आ–आफ्ना दिदीबहिनीहरूलाई उपहार दिने गर्छन् जसलाई ‘निसराउ’ भनिन्छ । त्यो उपहारमा चामल, नुन, दाल आदि पाँच मुठी वा तीन मुठी निकालेर दिइन्छ । यसले दिदीभाइहरूमा सम्बन्ध बढाउन तिहारले जस्तै भूमिका खेल्छ । त्यसपछि सबै जना सबैसँग गाउँभरि भेटघाट ढोगसलाम गर्छन्, आशिर्वाद आदानप्रदान गर्छन् । नाचगान गर्दै रमाउँछन् । बर्षभरिका सुख दुःखका कुराहरू साटासाट गर्छन् । घरपरिवारभित्र पनि कामको बाँडफाँड गर्छन् । त्यसै गरी त्यही दिन गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य पनि गर्छन् । त्यस दिन नभ्याएका काम पछिल्ला पन्ध्र दिनसम्म गर्नुलाई शुभ मान्छन् ।
माघी पर्व कमैया र कमलरी प्रथाको उन्मुक्तिको पर्वका रूपा पनि चिनिन्छ । केही पहिलेसम्म कमैया र कम्लहरीहरू छुटाउने कार्य पनि यसै दिन वा यस पर्वको अवसर पारेर गरिन्थ्यो । अहिले यस्ता प्रथाहरू प्रायः हटिसकेका छन् । गाउँमा कामकाजको बाँडफाँड, गएको वर्षभरिको कामको समीक्षा यसै पर्वमा हुन्छ । नयाँ नीतिनियम बनाउने, पारिवारिक र सामाजिक योजना गर्ने जस्ता विविध कार्यहरू पनि गरिन्छ । यस समुदायमा वर्षभरि त्यहीअनुसार चल्नुपर्ने नीतिनियम बनाइएको हुन्छ ।
मघी पर्व थारूहरूको आर्थिक पर्व पनि हो । यस पर्वमा वर्षभरिमा ककसले, कोकोसँग पैसा लिनुपर्ने वा दिनुपर्ने छ । सम्पूर्ण ऋणहरू चुक्ता गर्ने र नयाँ खातापाता सञ्चालन गर्ने कार्य यही दिनबाट सुरु हुन्छ । घरभित्र होस या गाउँसमुदायमा खेतीपातीलगायत अन्य व्यवहारहरूको नवीकरण पनि यसै पर्वका अवसरमा गरिन्छ । यसै पर्वमा बनेको योजनाअनुसार वार्षिक आर्थिक गतिविधि चल्ने हुँदा यसलाई थारू समुदायको आर्थिक पर्व पनि भनिन्छ ।
हरेक पर्वहरूको मूल अन्तर्य पारिवारिक एवम् मानवीय सम्बन्ध बलियो बनाउने हुन्छ । पर्वहरूसँग पारिवारिक र समाज मनोविज्ञान जोडिएको हुन्छ । थारू समुदायमा प्रचलित माघीलाई पनि सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा पनि मानिन्छ । सबै जना नदीबाट नुहाएर फर्कनासाथ बहिनीहरूलाई उपहार दिएपछि गाउँभरिका बुढापाकादेखि लिएर स–साना बालबालिकासम्म सबैले सबैसँग ढोग गर्ने र आशीर्वाद लिने दिने चलन छ । यसले पारिवारिक सम्बन्धसँगै गाउँबासीहरूबिच एकता कायम गर्ने गर्दछ । यसले समुदायमा भ्रातृत्व बढाउनमा सघाउँछ ।
प्रायः सबै समाजमा अगुवा चुन्दै आउने क्रममा आजको विकास भएको देखिन्छ । यो प्राचीन राजनीतिक वा लोकतान्त्रिक पद्धति पनि हो । माघीलाई थारू समुदायले अगुवा चुन्ने दिनका रूपमा पनि लिन्छन् । यसका लागि गाउँको अगुवाको घरमा सबै जना सुझबुझका साथ भेला हुन्छन् । त्यो भेलालाई ‘ख्याल’ भनिन्छ । गाउँको अगुवालाई ठाउँको चलनअनुसार बरघर, महटावाँ, भल्मन्सा आदि पनि भनिन्छ । यो दिनमा नयाँ अगुवा चुनिनुका साथै अघिल्लो अगुवाबाट वर्षभरि गरिएका कामको समीक्षा गरिन्छ । बितेको वर्षमा भएका कमीकमजोरीहरूलाई पनि नदोहोर्याउने गरी कार्य गरिने वाचा बन्धन पनि अगुवालाई गराइन्छ । त्यसरी चुनिएको नयाँ अगुवाले गाउँको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सरसल्लाह पनि गर्छन् ।
थारू समुदायले माघीलाई घरसल्लाह गर्ने दिनका रूपमा पनि प्रयोग गर्दै आएका छन् । यस पर्वमा सपरिवार बसेर मिठो मसिनो खानपिनसँगै घरसल्लाह गर्छन् । उनीहरूले घरसल्लाहले घरमूली पनि चयन गर्छ । प्रायः जेठोबाठो घरमुली हुने भए पनि उनीहरूको घरमुली चुन्ने शैली मौलिक लाग्छ । घरमुली को बन्ने, घरको काम कसले गर्ने, बाहिरको काम कसले गर्ने, भाइ भाइ घर छुट्टिदा अन्नबाली बाँड्ने जस्ता कामहरू सल्लाहपूर्वक गर्ने गरिन्छ । त्यसैले यस पर्वलालाई घरसल्लाह गर्ने पर्वका रूपमा पनि लिइन्छ ।
माघी पर्वकै प्रभावका कारण थारू समुदायमा सामाजिक भावना प्रवल छ । थारू समुदायका मानिसहरूको बसोबास एकैठाउँ वा टोलमा गुजुमुज्ज पारेर बनाएका घरमा हुन्छ । उनीहरू एकअर्कालाई ससाना काममा सरसहयोग गरिरहेका हुन्छन् । यो सामूहिकता उनीहरूलाई माघी पर्वले प्रदान गरेको हो । यही प्रभाव स्वरूप प्राय सामूहि रूपमा निर्णय गरेर मात्र उनीहरूले नयाँ कार्यको थालनी गर्छन् । यस समुदाय सञ्चालन र विकास गर्नका लागि अगुवा (बडघर, महटावाँ, भल्मन्सा), चौकीदार, गुरुवा (डेसवन्ध्या) आदि चुनिएका हुन्छन् । यो प्राचीन सामाजिक लोकतान्त्रिक पद्धति हो । यसका बलमा एकल निर्णय नगर्ने हुनाले सबैको भावना, विचारहरू समेटिएका काम गरिरहेका हुन्छन् ।
माघी पर्वले हिंसा वा पशुवध र अहिंसा दुवै पक्षलाई संयोजन गरेको देखिन्छ । माघ १ गतेको दिन थारूहरू चोखो अर्थात् शुद्ध काम गर्छन् । उनीहरूका अनुसार माघीको दिन (माघ १ गते) मा रातो अर्थात् (रगत) देखाउनु हुँदैन’ भन्ने मान्यता छ । पुस मसान्तका दिन सुँगुर मार्ने (जिता मर्ना) र पकाउने काम गर्छन् । १ गतेको दिन केवल खाने, पूजा गर्ने, उपहार दिने, आशीर्वाद लिने दिने जस्ता काम मात्र गर्छन् । यसले यस पर्वको धार्मिक पक्षलाई पनि बुझाउँछ । यिनीहरू प्रकृतिपूजक हुन् । नदीमा नुहाउन जाँदा सबैले पैताला मुनि पैसा दबाएर नुहाउँछन् । यसको अर्थ जलदेवतालाई पैसा चढाएर पूजा गरेको हो । थारू समुदायको आफ्नै पूजापाठको विधि चाहिँ छैन उनीहरूले पूजाआजामा भने हिन्दु संस्कृतिकै अनुशरण गर्छन् ।
माघी पर्व पर्वमा गाइने नाचिने मघौटा, झम्रा, हुदुङ्ग्वा जस्ता रमाइला गीत र नाचहरू लोककला, साहित्य र संस्कृतिका दृष्टिले उल्लेख्य छन् । यिनको आफ्नै किसिमको अनुष्ठान पनि छ ।यी सबै गीत तथा नृत्यहरू सामूहिक रूपमा झन्डै महिना दिनसम्म प्रस्तुत गरिने हुनाले यिनले समुदायबीचमा मेलमिलाप र सहयोगी भावनाको विकास गराउँछन् ।
थारू समुदायको माघी पर्व केवल खानपिन र मनोरञ्जनमा मात्र सीमित छैन । यो पर्व थारू समुदायमा मात्र पनि सीमित छैन । अहिले यो पर्व प्रायः सबै समुदायमा हर्षोल्लाससाथ मनाइन्छ । यसको विधिपूर्वक मनाउने थारू समूदायको सांस्कृतिक महत्व आफ्नो ठाउँमा छ । यसले सामाजिक, राजनीतिक धार्मिक, साँस्कृतिक महत्वका साथै परिवार र समाजका विग्रेका भत्केका, चिसिएका सम्बन्धलाई सुधार्ने, रिसरागलाई खुसी एवम् हार्दिक सम्बन्धमा परिणत गर्ने र नयाँ सम्बन्ध बलियो बनाउने काम पनि गर्छ । यो पर्व अहिले थारू समुदायमा मात्र केन्द्रित नभई सम्पूर्ण नेपाली जातिहरूमा हर्षोल्लासपूर्वक मनाइने पर्व बनेको छ ।
-सम्पादक