नेत्रप्रसाद न्यौपानेको परिचय साहित्यसागरका पहिला शृङ्खलामा समेटिइसकेको छ । उनी सिर्जना, समीक्षा र पाठ्यपुस्तक लेखनका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा जगल रचना समेटिएको छ । यस जगलले नेपाली समाजको वर्गीय खाडललाई र त्यसमा पनि सहर र गाउँको समस्यालाई देखाएको छ ।
– सम्पा. |
कसैलाई पचाउन गारो छ कसैलाई बचाउन गारो छ
कसले हेर्छ र गरिबलाई चुहिएको झुपडी छाउन गारो छ ।
तँ सहरमै बसेर ताजा फलफूल र भिटामिन खानू है छोरा
मलाई त सिटामल किन्नलाई पनि सहर आउन गारो छ ।
खान पाए पो सुरिला गीतहरू आउँछन् निरन्तर गलामा
घाँटीमा झुन्डिएको हाक्पारे भाका पनि गाउन गारो छ ।
टाइ सट लगाएर गाडीमा ठाँटसँग हिँड्छस् रे सहरमा
मलाई त दस ठाउँ टालेको जाँघे पनि लाउन गारो छ ।
तैँले दूध खाएको थिस् नि ती गाईका बाछाहरू बहर भए
एक्लै आँट आउँदैन बुलाहा बहरहरू दाउन गारो छ ।
धनाढ्यहरूले राहत बाँढे रे गाउँकै धनीहरूलाई
हामी गरिबहरूलाई त राहत पनि पाउन गारो छ ।