नवीन उप्रेती विदेशमा रहेर नेपाली साहित्यको सेवा गरिरहेका प्रतिभा हुन् । नमोबुद्ध न.पा ५ कानपुर काभ्रेपलाञ्चोकमा तेजलक्ष्मी उप्रेती र नारायणप्रसाद उप्रेतीका सुपुत्रका रूपमा जन्मिएका उप्रेती गजल, कविता र कथा सिर्जनाबाट नेपाली साहित्यसेवा गरिरहेका छन् । कुनै कृति प्रकाशन नभए पनि उप्रेतीका यी तीनवटै विधामा सिङ्गासिङ्गै कृति प्रकाशन गर्न पुग्ने सामग्री तयारी अवस्थामा रहेका छन् । हाल उनको बसोबास बोस्टन अमेरिकामा रहेको छ । उनी त्यहाँ रोजगारीमा रहेर पनि साङ्गठनिक र सिर्जनात्मक रूपमा नेपाली समुदायको शिर उचो बनाउने विविध प्रयास गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गजल रचना समेटिएको छ । यस रचनामा जीवनका बिव्ल्याँटा पक्षलाई निकै जीवन्त रूपमा अभिव्यक्त गरिएको छ ।
सम्पा. |
सबै भन्छन् कि फिलहाल म प्यारमा छु
अरू सबै जितमा आफू एक्लै हारमा छु
संसार जित्ने र अघि बढ्ने चुनौतिका बिचमा
पाइला बढाऊँ या पछि हटूँ कस्तो दोधारमा छु
आरामले मस्त निदाउने मन मेरो पनि हुँदो हो
अचेल किन रातै नपर्ने एउटा छुट्टै संसारमा छु
हतार गरी मायाको बार नाग्न खोज्दा खोज्दै
हेर्नोस् न यता अल्झिएर काँडेतारमा छु
फुटेपछि भाग्य टुटेपछि माया कसलाई सुनाउनू
आफै अब तड्पिएर सजायको हकदारमा छु