केशव आचार्य (२०११ वैशाख ८, ताप्लेजुङ, सुपुत्रः रङ्गलाल र पुयण्यवता) बहुमुखी साहित्यिक प्रतिभा हुन् । उनको २०३१ सालमा कविता रचना विवेचना साप्ताहिकमा प्रकाशन गरी सfर्वजनिक भएका आचार्य कविता, गीत गजल रचनामा कलम चलिरहेको छ । आचारविचार (२०३७) मुक्तकसङ्ग्रह, केशव आचार्यका कविताहरू (२०५९), पागल (२०६८), पागल गजल एल्बमलगायत कृति प्रकाशित छन् । पत्रकार एवम् साहित्यिक पत्रकारका रूपमा परिचय बनाएका आचार्य साहित्य, सञ्चार र शिक्षा क्षेत्रका उल्लेख्य प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा आचार्यको एउटा गजल रचना समेटिएको छ । यस रचनाले नेपाली राजनीति र राजनीतिक पात्रमाथि व्यङ्ग्य गरेको छ ।सम्पा. |
विधि विधान न संविधान पागलका लागि
त्याग तपस्या न बलिदान पागलका लागि।
गाली गलौज गर्दै , नाच्ता उफ्रदा रमाउँछ,
सामान्य हो गाली तथानाम पागलका लागि।
लोभी पापीलाई पट्याएको छ ताली पिट्न,
उर्जा भो, तिनैको गुणगान पागलका लागि।
घर भित्रको आगो , घर–घरमा सरे पनि,
मात्र रमिता भो जीउ ज्यान पागलका लागि।
लम्पसार पर्नेहरू सबै उस्तै उस्तै हुन्,
पटमूर्ख अनि बुद्धिमान पागलका लागि।
घर भाँडेर लथालिङ्ग बनाइसकेपछि,
उस्तै हो भान्साघर र रछ्यान पागलका लागि।
उस्को मायाजालमा फसेकी छ्न् एउटी देवी,
चार धाम भो, त्यो देवीथान पागलका लागि।