वासुदेव खनाल नवप्रवेशी साहित्यकार हुन् । नेपालको पूर्वी भूभाग सङ्खुवा सभा जिल्ला खाँदबारी नगरपालिका ८ मा जन्मिएर काठमाडौँलाई मुख्य त कर्मथलो बनाएका खनाल लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन् । त्रिभुवन विश्वविद्यालयबाट एम. ए, एम.एड गरी विभिन्न सामुदायिक तथा निजी क्याम्पसहरूमा अध्यापन गर्दै आएका उनी रुचिले साहित्यकार हुन् । उनी हास्यव्यङ्ग्यका क्षेत्रमा प्रभावपरक साहित्य सिर्जना गर्छन् । खनालले छिटफुट रूपमा लघुकथाहरू पनि लेखेका छन् । गोपालपंसाद रिमाल तथा बालकृष्ण समका नाट्य कृतिहरूको समालोचना गरी उनले समालोचना क्षेत्रमा पनि कलम चलाएका छन् । उनका हास्यव्यङ्ग्यहरू समय समयमा कोशिकी, जनस्वास्थ, समय तथा अन्य लोकप्रिय पत्रपत्रिकामा पनि प्रकाशन भइसकेका छन् । उनले वातारणीय सुरक्षासम्बन्धी गीति नाटकहरू पनि लेखेका छन् । खनाल वर्तमान समाज र परिस्थितिगत समस्याहरूलाई अनुप्रासीय भाषाशैलीमा हास्यव्यङ्ग्य लेख्नन रुचाउँछन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको सडक शीर्षकको हास्यव्यङ्ग्य रचना प्रकाशन गरिएको छ । यसले सडकका बहुआयामलाई समेटेको छ ।– सम्पा. |
मिनिष्टरदेखि कण्डक्टरसम्म अनि बुढापाका, बुढी भाका नभाकादेखि स्कुल कलेजका छात्रछात्रासम्म युवायुवतीको अनगन्ती मात्रामा डिजाइनदार तथा फेसनदार पहिरनमा सजिसजाउ भएर अरू देख्नेजति सबैको मनै कटक्क खाने गरी हिड्ने ठाउँको असली नाम नै सडक हो । सहर सहरका चोक चोकमा सिठ्ठी फुक्ने ट्राफिक अनि साना ठूला गाडी कहिले जाममा त कहिले लाममा पर्दै गन्तव्यस्थानमा आवत जावत गर्ने नागबेली रूपमा लबतन्न पल्टिएको काइदाको वस्तु नै सडक हो । अझ भनूँ घरि एता घरी उता गर्दै एउटा सक्कली टाउकोमाथि अर्को नक्कली टाउको राखी कहिले बाइक कुदाउने त कहिले गाडी फुटाउने आधार इलाका पनि यहीँ हो । चार खुट्टेमा गाईवस्तु र कुकुर तथा दुईखुट्टेमा कुखुरा र मान्छेका रगतले पोत्ने पनि सडक । यो गर्छु र ऊ गर्छु भनी जनतासामु अमृतवाणी खोक्ने पनि सडक । मानिस जति सबैलाई भोट ब्याङ्क ठानी राजनीतिको खोलो फर्काउने तर चुनाव जितेपछि भने आफूचाहिँ निर्वाचन क्षेत्रका जनताबाट गुमनाम बसी सुख सयलमा रमाउँदा रमाउँदै आउने ठाउँ पनि सडक । अझ बाँचुञ्जेल आफै रमाउदै कुद्ने र पछि चाहिँ अरूले नै आफैंलाई कुदाउने आधार क्षेत्र पनि त यही हो नि ।
खलासी र ड्राइभरको अभिन्न साथी ट्राफिकले ब्लु बुक र लाइसेन्स हेर्छ लगाई चस्मा माथि । यसपछि त उसले यात्रुवाहक मानिस थर्काउने, जाममाथि जाम त्रिनेत्रधारी दामको मोलाइमा पैसा हाम बनाइ गोजी भराउने । सौम्य पहिरनमा राम्रा राम्रा तन्देरी र तरुनीको मेल गराउने । कहिले आनन्द लिने कहिले ठेलामठेल मा गोजी काटिने यही सडक ।
सडक अनौठोको छ । थोरै तर बहुमूल्य कपडामा सजिएका नारी यही सडकमा भेटिन्छन् । मुन्द्रा लगाइ चुल्ठा बाट्ने पुरुष रूप यही सडकमा हुन्छन् । नारी रूपका पुरुष, पुरुष रूपका नारी सबै देखाउने आनन्दित ठाउँ पनि यही हो । सभा, समारोह, सेमिनार, गोष्ठी, आदिको प्रचारप्रसारदेखि नाक दुखाउने, घोक्रो फुलाउने, राम्री भेटे जिब्रो पड्काउने, मान्छे लिइ हराउने मूलबाटो सडक । भोकमारीको भोक मेटाउने, बेरोजगारीको पीडा मेटाउने पनि यही सडक हो । यहाँ जगत्बहादुरदेखि बखतबहादुरसम्मले पारलौकिक रूपमा अड्डा जमाउँछन् । कसैका पर्स समाउँछन् कसैका घाँटी सकाउँछन् । यो साझा रङ्गमञ्च हो सडक ।
काम, माम र दामका लागि जुलुस निस्कने ठाउँ सडक । चोकचोक र गल्ली गल्लीको निसका सडक । अग्ला घरबाट फोहोर फाल्ने ठाउँ सडक । ठेलामठेलले पेल्नुसम्मले मजबुत बनेको ठाउँ सडक । फिगर भएकी केटी र जिगर भएको केटा बीचको अमूल्य मायाजालको खेलो खेल्ने ठाउँ सडक । मेलाम्चीको आसैआसको पानी र ढलविकासले बर्खामा हिलो र हिउँदमा धुलोले छोपेको ठाउँ । जोगीमारा र भातमारा तथा हरूवा चरुवा आदि सबैको जीविकाको गाउँ । यहीँ खाए खा नखाए नखाको बाध्यताले पेल्नुसम्म पेल्यो । दुनियाँ कुद्दै छ कतै इमान जमानका नाउँमा त कतै बाँच्ने दाउमा ।
कठैबरा !!! कहिले ठूला गाडीले पेल्छ । कहिले पुलिस र आर्मीका बुटले पेल्छ । कहिले रगतले पोत्छ । कहिले टायरले पोल्छ । कहिले टायर बलेको आगोले पोल्छ । कहिले अलिहति तालो अलकत्राले पोल्छ । जे ले पोले पनि सहन्छ । सडकको अर्को नाम सहु स्थल हो ।
सडकमा दुखी सुखी सबै भेटिन्छन् । देख्दा दुःख भए पनि सडक पेटीमा व्यापार गर्ने कहिलै सटर छिर्दैनन् । सडक व्यापार भने मालामाल । रोडपति करोडपति बन्यो क को शक्ति पाएर यद्यपि सडकछापमा लीला देखाइदिन्छन् । सडक समावेशी छ ।सभ्यता र फेसन सोका नाउँमा सबै लाज र घीन पचाएर हिँड्न मिल्छ । खै के भन्नु र भन्दा पनि !
फोहोरको कुरा नगरुँ । अग्ला घरका घरपेटी केराको बोझो फाल्छन् सडकमा । चिल्ला गाडीका मालिक चाउचाउको खोल फाल्छन् सडकमा । सडकमै सुत्ने भिखारी दिसा पिसाव गर्छन् सडकमा । यसको कुरा नगरुँ । फोहोरको डङ्गुर र दुर्गन्ध देख्दै हैजा लाग्छ । यहाँ चलिरहन्छ हल्लीखल्ली हुनेखानेको भोज र मोजले । हुँदा खानेको त न भोज न मोज । खाली मात्र काम रोजका रोज । खाने बेलामा टम्म पटुका कस । बन जोगी खरानी धस । जे जे गर्ने भए पनि सडक त चाहियो चाहियो हिँड्न गुड्न वा उड्न जेलाई भए पनि सडक चाहियो ।
ए हजूर !!!! मेरो त सडक बोली । कसैले सुनुन् नसूनुन् । म बोलिरहन्छु । गरिरहन्छु मन बुझाउने मेलो, यहाँहरूसँगकै भेटमा गर्दै छु हाइहेल्लो । सडकको साइनो, सधैँ बनाऊ दाहिनो, कमाऊ दाम नगरी छलछाम । ए दाइ कत्ति हेर्या हो यो सडकको मेला, लाग्या छैन झमेला ।
कोही आउँछ र भन्छ अब छोडो सडक चढ्यो टडक । लाग्छ कति गर्नु सडक गफ यार, घर जाऊ अनि लगाऊ क्वाटर हाफ, मन चङ्गा बनाऊ । फेरि सडकमै आऊ सभ्य आनन्द जानलाई त सडक छैन नि बन्द ?
आखिर सडक त सडकै त हो नि ।