मूल लेखक
म्याक्सिम गोर्की सोभियती (रुसी) साहित्य क्षेत्रबाट उदाइ विश्वसाहित्यमा सुपरिचित प्रतिभा हुन्। उनको वास्तविक नाम एलेक्सेइ म्याक्सिमोविच पेस्कोव हो। सर्वहारा वर्गका पथप्रदर्शक समाजवादी लेखक गोर्की (२८ मार्च १८६८– १८ जुन १९३६) का नाटक, कथा र चिन्तनपरक लेखहरू विश्वप्रसिद्ध छन्। बहुमुखी प्रतिभा हुँदाहुँदै पनि उनी आख्यानकारका रूपमा चिनिन्छन्। उनको उपन्यास आमा संसारभरि चर्चित सिर्जना मानिन्छ। यथार्थपरक समाजवादी तथा प्रगतिवादी धाराका उनी तत्कालीन समाजका समस्या उठान गर्न र समाधान सङ्केत गर्न सिद्धहस्त लेखक थिए। ‘मेरो बाल्यकाल’, ‘घामका बालबालिका’ लगायतका कृतिका कृतिकारका रूपमा पनि उको परिचय बलियो छ। उनै रुसी सर्जक गोर्कीद्वारा लिखित ’बोल्स’ कथाको अङ्ग्रेजी संस्करणबाट नारायण नेपालद्वारा अनुदित ‘उनको प्रेमी’ शीर्षकमा प्रस्तुत गरिएको छ। यो कथामा आंशिक मनोविज्ञान रहे पनि वर्गचेतकै सेरोफेरोमा रहेको छ भन्न सकिन्छ। हामी कसरी स्वबढाइँमा आफ्नै वरिपरि भएकाहरूको पीडा बुझिदिंदैनौँ र मित्रवत् रहन्नौँ भन्ने भावको यो रचना पढ्ने र बुझ्ने जो कोही आफ्नो एक्लोपनको उपयुक्त साथी खोज्न गतिशील हुने विश्वास गरिन्छ।
-सम्पा.
|
अनुवादक
नारायण नेपाल (२०२५ पुस ०९ चतरा, सुनसरी, सुपुत्र : भगवती र बालकुमारी नेपाल तथा बिष्णुप्रसाद नेपाल) सिर्जना र अनुवाद क्षेत्रमा परिचित प्रतिभा हुन्। पशुपति बहुमुखी क्याम्पस, काठमाडौँमा प्राध्यापनरत नेपाल अङ्ग्रेजी साहित्यका विद्यार्थी हुन् । उनी नेपाल नागरिक आवाजका सम्पादक पनि हुन्। उनी कर्मशील नेपाल परिवार, अनाम मण्डली, कपन सङ्गीत सरोवर, नेपाल बार, मखमली स्राहित्य, भानु प्रतिष्ठान जस्ता विभिन्न सामाजिक सांस्कृतिक संस्थामा संलग्न छन्। हाँस उठ्ने गीत’ शीर्षकको रचना २०३५ सालमा प्रकाशन गरी साहित्य जगत्मा सार्वजनिक भएका नेपालका सुन्दरीको सबाई (२०७१), भुइँचालोको सबाई (२०७३) अजल–गजल र गजल मण्डी (२०७२) मुक्तक मञ्जरी (२०७३), मुक्तक सरिता (२०७४) जस्ता कृतिहरू प्रकाशित छन्। उनका अङ्ग्रेजी कथा, र रचनालगायत थुप्रै नेपाली फुटकर कविता, गीत, गजल र मुक्तकहरू प्रकाशित छन्। उनी शास्त्रीय छन्दका साथै लोक छन्दमा पनि राम्ररी कलम चलाउन सक्छन्। उनी नेपालीको समग्री अङ्ग्रेजीमा र अङ्ग्रेजीको सामग्री नेपालीमा अनुवाद गर्ने राम्रा अनुवादक पनि हुन्। साहित्यसागरको प्रसतुत शृङ्खलामा उनको म्याक्सिम गोर्कीको ’बोल्स’ कथाको नेपाली अनुवाद ‘उनको प्रेमी’ अनुदित कथाका रूपमा प्रस्तुत गरिएको छ।
-सम्पा.
|
प्रस्तुत कथा कोही मेरा परिचितले कुनै बेला भनेका हुन्।
म मस्कोमा विद्यार्थी छँदा इज्जतमाथि प्रश्न गर्न मिल्ने स्त्रीहरूमध्ये एक जनाको नजिक रहन पुगेँ। उनको नाउँ पोल थियो, तर बोलाउनेले टेरेजा भन्थे। अग्ली, काला आँखा भएकी, बलिष्ठ ज्यानकी अनि धोद्रो स्वरकी उनी डरलाग्दी थिइन् ! म माथिल्लो तलामा बस्थेँ। उनको बुइँकल चोटी मेरै सामुन्ने थियो।
उनी घरमा बसेका बेला मैले आफ्नो ढोका कहिल्यै खुल्ला राख्दिनथिएँ। तर त्यस्तो हुँदैनथियो पनि। कहिलेकाहीँ पटाङ्गिनी र भर्याङ्हुँदी भेट्दा खिस्स हाँस्थिन्। मलाईचैँ बिचित्र लाग्ने ! मैले देख्ता उनी प्राय रक्सी पिएकोजस्तो अवस्थामा हुन्थिन्, राता आँखा हुन्थे अनि कपाल असरल्ल। अनि, यस्तै बेलामा चैँ मसँग बोल्न खोज्ने !
“श्रीमान् विद्यार्थी, कसो छ खबर?“ यस्तरी बोलेर बेक्कारको हाँसो गर्थिन्। यस्तो कदमले म उनलाई झनै बढी घृणा गर्न पुग्थेँ। यस्ता जम्काभेट र अभिवादन छल्न मैले आफ्नो बासै अन्यत्र सार्न भने सक्थेँ। तर, मेरो सानो कोठो राम्रो थियो। झ्यालबाट मजाले दृश्यावलोकन गर्नसकिने र तल गल्ली शान्त हुने कुराले मैले सहेको थिएँ।
एक बिहानको कुरा हो कक्षामा उपस्थित नभएकाले के भनेर कुरा मिलाउने होला भन्ने सोच्तै म आफ्नो ओछ्यानमा पल्टेर बसेको थिएँ, ढोका खुल्यो। अनि, मेरा सँघारमा उही कर्कस ध्वनि आइपुग्योः
“श्रीमान् विद्यार्थी, सञ्च होस्।“
“के चाहिएको हो हँ ?“ मैले भनेँ। उनी अक्क न बक्क परिन् र उसबेला उनको अनुहार एक पाराको भयो।
“ए हजुर, मलाई एउटा सहयोग गर्नुपर्यो। मिल्छ होला ?“
म चुपै रहेँ र यसो सोचेँः केही होलाजस्तो छ‘ हिम्मत गर्, केटो !
“आउनु न बसेर भन्नु !”
“म मेरो घरमा एउटा चिठी पठाउन चाहन्छु। यत्ति हो !” उनले नरम र निन्याउरो बोलीमा भनिन्।
“हो र !“ यस्तो सोचेँ र जुरुक्क उठी कागज ठीक्क पारेँ र केके हो ब्योहरा भन्न लगाएँ।
“कस्लाई लेख्ने होला ?“
“वार्सारोड स्भिप्जिआनामा बस्ने बोल्स्लाव कस्पुतलाई।“ यत्ति भनिन् र कुरो बढाइन्, “मेरो बोल्स, मेरो प्रेमी, ईशले रक्षा गरून ! किन सानो ढुक्कुर‘ आफ्नी दुखिया प्रेमिकालाई यत्तिका दिनसम्म पत्र नकोरेको ?”
‘‘दुखिया प्रेमी’ भनेको सुन्दा मलाई चैँ हाँस उठ्लाजस्तो भएर आयो। तेत्रो अजङ्गको भस्सर ज्यान, अनि सानी अरे ! तैपनि आफैँलाई नियन्त्रण गरेँ र बोल्स को हो भनेर सोधेँ । उनले फट्का लाइन् कि ऊ उनको ठिटो हो।
“ठिटो यानि जवान केटो ?“ मैले पनि भ्याट्ट सोधिहालेँछु।
“मजस्ता ठिटीका ठिटा नहुने हुन्छ र ? छक्क पर्ने कुरै के छ र ?“
उनी ठिटी भन्ने कुरो नै एक खालको लाग्ने मलाई ! अनि सम्बन्ध रहेको कति भयो, त्यो सोधेँ। उनले छ वर्ष भएको जनाइन्। कुरैकुरा चिठी लेखिसकियो।
“यहाँलाई धेरै धेरै धन्यवाद छ।“ औपचारिकता निभाउँदै टेरेजाले भनिन्, “मैले सकेको गुन लाउने छु नै !“
“ठिकै छ, भइगो नि !“
“तैपनि त, कपडाहरू फाटे अनि सिलाउनुपर्यो भने सहयोग गरौँला नि।“
“केही पर्दैन।“
अनि उनी गइन्।
सायद् एक दुई हप्ता बितेको थियो। म सुसेल्दै साँझमा उटपट्याङ सोच्तै बसेको थिएँ। मौसम पनि त्यति राम्रो थिएन र मलाई झ्याउ लाग्नथालेको थियो। बाहिर निस्कने केही गर्ने मनै थिएन। त्यसै केके सोचेर बसेको बेला ढोका खुल्यो। जो भएपनि कोही आएको ठिकै लाग्यो। अर्को चिठी लेखिदिनुपर्यो भन्दै टेरेजा फेरि आएकी थिइन्।
“ए कसलाई ? बोल्सलाई त होला नि होइन ?“ मैले सहजै सोधेँ।
“होइन नि। यस पटक अर्कै हो।“ आफैँलाई हीन बनाउँदै कुरा मिलाउन थालिन्, “मेरा कोही परिचितको मजस्तै मायालु रहिछन्। मलाई नै सम्झेर उनलाई एउटा चिठी लेखिदिनु पर्यो।“
मैले उनीतिर हेरेँ, मुहार बिगारेको र औँला कामिरहेको बुझेँ। लाग्यो केही उलटपुलट थियो। अनि प्रष्ट झपारेँ, “हेर, न कुनै बोल्स छन् न कुनै टेरेजा। विनाकामको झूट किन बोल्नु ? त्यसै दिमाग चाट्ने ! बेक्कारमा यहाँ चिनजान बढाउने बहाना गरेको मलाई मनपर्दैन ल !”
उनी त कस्तो तर्सिएजस्तो गरिन् ! उभिएको ठाउँमा पैताला चलाउन थालिन्। केही बोल्न खोजेको र भन्न नसकेको हो झैँ लाग्यो। मैले बेक्कारमा शङ्का गरेर गल्ती गरेको भान भयो। केही फरक लागेर आयो। त्यसपछि उनले मात्रै ’श्रीमान् विद्यार्थी’ भनिन्, हात हल्लाइन् र अचानक ढोकाबाट बाहिरिइन्। मलाई नरमाइलो लाग्यो। सोझो मान्छे रिसाएजस्तो लाग्यो। केहीबेर सोचेँ र उनलाई बोलाएर ल्याई जेजे लेख्नु छ लेखिदिन्छु ठानेँ।
म उनको छिँडीमा पसेँ। टेबलको नजिकै उनी टाउकामा हात लाएर बसिरहेकी थिइन्।
“सुन त !“ मैले भनेँ।
“अब के सुन्नु नि !“
“सुन न सुन !“
अब उनी आफ्नो बसेको ठाउँबाट झपेटिएर मसम्म आइन्, मेरा कुममा हात राखिन् र साउती मार्न थालिन्, “हो त, हेर त, बोल्स पनि छैन र टेरेजा पनि छैन। तर, त्यसले तपाईंलाई के फरक पर्छ र ? त्यति केही लेख्न पनि गाह्रो भयो होइन ? ठिकै छ कोही छैन, सिर्फ म छु, बुझेको हो ?”
माफी मागेँ, र साँच्चै बोल्स र टेरेजा भए नभएको खै गरेँ। वास्तवमै बोल्स कोही रहेनछ र टेरेजा उनी आफैँ रहिछन् ! म केही बुझ्नै सकिरहेको थिइनँ, उनलाई एक टकले हेरिरहेँ। न उनी न म, कोही त होश गुमाउँदै थियो। एकै छिनपछि उनी टेबलतिर गइन्, केही खोजेर ल्याइन् र अलिक गालीगलौजको बोली गर्न लागिन्, “बोल्सलाई लेख्न त्यस्तो आपत्ति भएको भए लगे हुन्छ, तपाईंले लेखेको चिठी यहीँ छ, मलाई त अरूले पनि लेख्देलान् नि !”
हेरेँ, पहिले लेखिदिएको चिठी हातमा थियो। “सुन त टेरेजा, अरूलाई त्यसै लेख्न लाएर नपठाउने हो भने किन लेख्न लाउनु ?“
“कसलाई पठाउनु नि ?“
“उही बोल्स क्या !“
“हुनु पनि पर्यो नि !“
“के भयो त बोल्स नहुन सक्छ, हुन पनि त सक्छ ! ऊ छ जस्तै गरेर मैले उसलाई लेख्ने अनि म टेरेजालाई उसले लेख्ने ! निरन्तर‘ “
पछि त मैले नि बुझें। अनि दुःख लाग्यो, लाज लाग्यो, कस्तो(कस्तो भयो ! मेरै छेउमा त्यस्तो मनुष्य प्राणी छ जसलाई साथ सहयोग गर्ने विचरा भन्ने कोही छैन अनि त्यस्ताले मित्रता खोजिरहेको छ !
“हेर्नोस्, तपाईंले चिठी लेखिदिनु भयो, त्यसपछि मैले त्यो चिठी कसैलाई पढ्न लगाएँ र सुन्दैजाँदा बोल्स भएझैँ लागेर रमाएँ। अनि मैले बोल्सले मेरालागि लेख्ने ब्योहराको चिठी लेखिदिन भनेको हुँ। यस्ता पत्र लेखाउँदा र पढ्न लाउँदा साँच्चै बोल्स छ जस्तो लाग्छ र यस्तो भावना आउँदा मलाई जिन्दगी सहज भएको भान हुन्छ।
दिमाग खराब ! तर, त्यस बेलादेखि मैले नियमित लेखिदिएँ, हप्तामा दुईपटक। एक पटक बोल्सलाई, अर्को पटक टेरेजालाई। राम्ररी लेखिदिएँ। उनी सुन्थिन् र रुन्थिन्। र गर्जिन्थिन् कहिले। काल्पनिक बोल्सका नामका उनका सम्वेदना छुने र रुने बनाउने साँचा चिठीका गुन स्वरूप उनले मेरा प्वाल परेका मोजाहरू, सर्टहरू र अन्य कपडा सिलाइदिन मिलाइदिन थालिन्। त्यस्तो थाह पाएको तीन महिनाजस्तो पछि भने उनलाई कहिले के र कहिले के निहुँमा जेल लान थालियो। यतिखेरसम्म त तिनी मरिन् पनि होला !
मेरा परिचितले सिगरेटको खरानी टक्टक्याए र केही सोचमग्न पारामा आकाशतर्फ हेर्दै बिट मारे, “ठिक छ, ठिक छ, यो मान्छे पनि जति दुःखको स्वाद चाख्छ उति सुखभोगको चाह गर्छ। र‘, हामी हाम्रा गुणका थाङ्नामा बेरिएका छौँ। अरूका बारेमा भने ‘ कुहिराको काग नै छौं। अनि, सबै कुरा खराब भैदिन्छ, निर्मम् भैदिन्छ ! गिरेका वर्गहरू हामी भन्छौँ। को चैँ हुन् त गिरेकाहरू, बुझ्नु छ। प्रथमतः मानिसहरू उस्तै हाड, उस्तै मासु र एकै रगतका त हुन्छन् नि ! वर्षौँदेखि हामीलाई यही भनीआइएको छ। हामी सुन्छौँ तर कुरो कति छद्म छ, राकसले मात्र बुझ्छ। खरा मानवताका पाठहरूले हामीलाई वञ्चित बनाएका छन्। वास्तवमा हामी सर्वसाधारण पनि आफ्नै मपाइँमा यत्ति गिरेका छौं कि बोल्न पनि लाज लागेर आउँछ !