प्रभा पोखरेल प्रवासमा रहेर नेपाली भाषा साहित्यलाई माया गर्ने प्रतिभा हुन् । ताप्लेजुङ, फूलबारीमा जन्मिएकी पोखरेलको स्थायी ठेगाना काठमाडौं कोटेश्वर हो । हाल उनी नर्थ क्यारोलिना, अमेरिकामा बसोबास गर्छिन् । उनको रुचि नेपाली साहित्य सिर्जना र अध्यायनमा छ । उनले गद्यपद्य कविता, लघु कथा, बा कविता, मुक्तक, हाइकू, कोपिला, सुसेली पञ्चाङ्ग, गजल, संस्मरण लेखन अभ्यास गरिरहेकी छन् । उनी नेपाली साहित्य संसार कार्यक्रमकी प्रस्तोता हुन् । उनी सुरिलो स्वरमा विभिन्न महत्त्वपूर्ण कार्यक्रम प्रसारण गरिरहेकी भेटिन्छिन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गजल रचना समेटिएको छ । यस रचनालाई मुजारे मुसम्मन अखरब बहरमा संरचना प्रयास गरिएको छ । यस रचनाले मानवीय कामचोर वा नक्कली प्रवृत्तिको विरोध गरेको छ । -सम्पा. |
बानी सुधार्न खोज्ने पथमा मुसा धेरै छन्
पाए गमक्क फुल्ने तिनमा कला धेरै छन् ।
भन्छन् सुपात्र हाम्रा भोको हुँदैन कोही
मात्रै छरेर आशा भन्ने बरा धेरै छन् ।
झर्छन् गिरेर मान्छे खाल्डो खनेर आफैँ
झर्दा गुहार मागी बोल्ने मिठा धेरै छन् ।
आगो निलेर बाँच्ने भेट्दा म रुन्छु बढ्ता
देखेर दृश्य भाग्ने दर्शक भला धेरै छन् ।
हाम्रो भनेर राम्रो मान्छे भएन ज्ञानी
नेता बनेर डस्ने जाली जुका धेरै छन् ।