आज आएर नाटक किन कम लेखिन्छन् ? नेपाली भाषामा हिजो नाटकको परम्परा कहाँबाट आरम्भ भयो र आज कसरी अगाडि बढिरहेको छ ? यी पक्ष नेपाली साहित्यका पाठकलाई छुने पक्ष हुन् ।
नेपाली समाजमा अनेक लोकनाट्य सिर्जना र प्रदर्शनका परम्परा छन् । तिनको कति अभिलेखन भएको छ र कति हुन बाँकी नै छ । लोकनाटकदेखि र अभिलेख कालदेखि हेर्दा नेपाली नाट्य सिर्जनाको इतिहास धेरै पुरानो मानिन्छ । त्यहाँदेखिको परम्परा र लोकनाट्यका स्वरूप हेर्दा आज नाटक नै सबैभन्दा समृद्ध विधा बनिसक्नु पर्थ्यो । नेपाली साहित्यको इतिहासमा आजसम्म प्रस्ट रूपमा नजोडिए पनि नाटक सिर्जना र प्रदर्शनको परम्परा संस्कृत भाषाकै कालबाट आरम्भ भएर क्रमशः विकास हुँदै आएको भेटिन्छ । त्यसो हुनु स्वाभाविकै हो कि पूर्वीय काव्य चिन्तनमा वा नेपाली भाषाको माउभाषा संस्कृतमा भरतको नाट्यशास्त्रको प्रभाव र अभ्यास दीर्घप्रभावी थियो । त्यही प्रभावस्वरूप नेपाली नाट्य सिर्जन र प्रदर्शन परम्परा संस्कृत भाषाको बोलवाला भएकै बेला आरम्भ भएको अनुमान गर्न सकिन्छ ।
हालसम्म प्राप्त ऐतिहासिक अभिलेखअनुसार लिच्छविकालमा नेपालमा राजभाषाका रूपमा संस्कृतको प्रभुत्व रहेको थियो । त्यस बेला संस्कृतमा नाटकको रचना र प्रदर्शन गरिन्थ्यो । त्यसको प्रभाव नेपाली भाषाका सर्जक र कलाकर्मीमा पनि पर्यो । लिच्छवि शासकहरू धर्मकर्मका साथै नृत्य, गीत र नाटकमा अभिरुचि लिन्थे र चाडपर्वमा तिनको आयोजना पनि गर्थे । त्यस्ता आयोजना नेपाली भाषी वक्ता भएका क्षेत्रमा नेपालीमै पनि हुने गरेको देखिन्छ ।
अन्वेषणबाट प्राप्त अभिलेखहरूमध्ये अंशुवर्माका समयको मानिने शिलालेख (वि.सं ६६१) बाट नाटकका इतिहासका विषयमा केही सूचना मिल्छ । त्यतिखेर राज्यमातहतमा विभिन्न गोष्ठीहरू रहेको थाहा पाइन्छ । त्यस्ता गोष्ठीमा एउटा वादित्र गोष्ठी पनि हुने गरेको बुझिन्छ । वादित्र गोष्ठी नृत्य र नाट्यसम्बन्धी गोष्ठी हो । त्यस कालमा कुँदिएका उमामहेश्वर आदिका मूर्तिहरूमुनि प्रस्तुत गरेका नृत्यसम्बन्धी मुद्राहरूबाट पनि नाट्य र नृत्यको प्राचीनताका विषयमा केही बुझ्न सकिन्छ । ती मुद्राले त्यस समयमा नृत्य र नाट्यकला पनि निकै विकसित रहेको देखिन्छ । इतिहासकारहरूले पनि नृत्य तथा नाटकको प्रस्तुतिका निम्ति काठमाडौँ उपत्यकामा अनेक डबली बनाइएको पाइन्छ । त्यस्तै लोकनृत्य र नाटकको आयोजनाका लागि पश्चिम नेपालतर्फ रोदीघरहरू पनि प्रचलनमा थिए । ती आज पनि लोक प्रचलनका रूपमा जीवितै छन् । कति आधुनिक डबलीका रूपमा विकास गरिएका छन् कति भग्नावशेष बनेर रहेका छन् ।
इतिहास पल्टाउँदा सन् नवौँ शताब्दीमा शैव महात्मा वैरोचनले प्रतिष्ठा लक्षणसार समुच्चय शीर्षक संस्कृत ग्रन्थ लेखेको पाइन्छ । त्यस ग्रन्थमा नाट्यशालाका मोटामोटी बनोटको चर्चा गरेको पाइन्छ । त्यस समयमा संस्कृतमा नाटक लेखिने र तिनको प्रदर्शन पनि हुने गरेको मानिन्छ र त्यसको प्रभावले नै संस्कृतबाट विकसित नेपालीलगायतका भाषामा पनि नाट्य सिर्जना भएको पाइन्छ ।
शिवदेव तृतीयको पालामा लेखिएका शिलालेखहरूबाट त्यतिखेर द्वारको उद्घाटन, कैलाशयात्रा, वराहयात्रा आदि यात्राहरूको उत्सव हुने गरेको र त्यस्ता उत्सवमा नाचगान र अभिनय हुने गरेको पाइन्छ । गोपाल वंशावलीअनुसार लिच्छवी राजा चम्पादेवको समयमा चार अङ्कको रामायण नृत्य खेलाइएको जुन चर्चा करङ्गमञ्चका अध्येताहरूले उल्लेख गर्दै आएका छन् । त्यसैगरी नरेन्द्रदेव द्वितीय (सन् ११४१) को शासनकालमा नेपाली कलाकार नाट्याभिनय र वाद्यवादनमा निपुण थिए भन्ने सूचना चिनियाँ यात्री वाङहुएन चेको यात्रा वृत्तान्त र चिनियाँ सम्राट्हरूको इतिहासले बताउँछ । त्यसरी नै कर्नाटवंशी राजा भवसिंहदेव र नरसिंहदेवका समयमा मुद्रित कुवलयाश्व शीर्षकमा लेखिएको पाइन्छ । यी केही प्राचीन तथ्यबाट नेपालमा नाट्यलेखन र मञ्चनको इतिहास प्राचीन कालदेखि नै थियो भन्न सकिन्छ । यी सूचनाबाट नेपाली, संस्कृत र संस्कृतभाषाबाट विकसित अन्य भाषाको नाट्य इतिहास खोजी गर्न सहज हुने देखिन्छ ।
माथिका तथ्यहरू इतिहासका ओझेलमा रहेका छन् । मल्ल राजाहरूका शासन कालदेखिको इतिहास मात्र परस्परमा शृङ्खलित बनेर आएको छ । माथि उठाइएका तथ्य अभिलेखका सूचनाहरूबाट सिलो गरिएका हुन् । नेपालको राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेका १५० जति नाटकका हस्तलिखित प्रतिहरूले केही थप सूचना दिएका छन् । ती सूचनासहित नाटकको लोकइतिहास र लेखन मञ्चनको लौकिक इतिहासको वास्तविकता पहिल्याउन आवश्यक छ । नेपाली नाटकसँगै संस्कृत भाषाबाट विकसित भाषाका नाटक र लोकनाटक हुँदै पूर्वीय भूगोलका नाट्य प्रदर्शन परम्पराबाट नेपाली नाटकको इतिहास र परम्परा पहिल्याउन सकिन्छ ।
-डा. रमेश शुभेच्छु