रमेश शुभेच्छुको परिचय नेपाली साहित्यका विविध विधा र विषयमा स्थापित छ । उनले कविताका प्राय: सबै उपविधामा सिर्जना गरेका छन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको गजल रचना समेटिएको छ । यस रचनाले मानव चेतनामाथि अनेक प्रहार हुने पक्षलाई समेटेका छन् र ढुङ्गो र पहाड जस्तो मान्छे बन्न नसक्ने पक्ष उजागर गरेका छन् । -सम्पा. |
कति राम्रो हुन्थ्यो होला ढुङ्गा बन्न पाए
दुख्ने छैन जे गरे नि हुन्छ भन्न पाए
घट्ट, ओखल, लोहोरो जे बन्दा पनि हुन्थ्यो
भोकालाई भोजन हुन्थ्यो खस्रो अन्न पाए
घामपानी दिनरात यसै पचाइन्थ्यो
दिनको घाम बिर्सिइन्थ्यो तारा गन्न पाए
मान्छेभित्र मुटु हुन्छ मुटु दुख्छ गाह्रो पर्छ
स्वाद पथ्र्यो ढुङ्गा बनी पहाड बुन्न पाए
ढुङ्गो थामी माथि ठेली सिसिफस बाँचिँदै छ
गुल्टिइन्थ्यो ढुङ्गै बनी शोषण पिन्न पाए ।
रचनाकाल : २०५५, इलाम