नेपाली साहित्यमा हप्तैपिच्छे विभिन्न कृति विमोचन भइरहन्छन् । दिनै जसो कृति प्रकाशन भइरहेका छन् । तिनका आआफ्ना मूल्य छन् । त्यस्ता कृतिमध्ये दीर्घप्रभावी कृतिहरू भने थोरै मात्र देखिएका छन् । दीर्घप्रभावी एवम् बहुउपयोगी कृतिको सिर्जना गर्न निकै कठिन भएकैले त्यस्ता कृति पनि कम मात्रै आउँछन् । थुप्रै स्रष्टाका विषयमा थुप्रै जानकारीसहित पछिल्लो समय प्रकाशित शरद् प्रधानको कृति स्मृति विम्ब आएको छ । यस कृतिले बहुउपयोगी सागम्री समेटेको छ ।
स्रष्टा एवम् अन्वेषक शरद प्रधान आफैमा विशिष्ट स्रष्टा द्रष्टा एवम् अन्वेषक हुन् । शैक्षिक र सञ्चार जगत्मा पनि उनको नाम त्यत्तिकै सबल छ । उनको स्मृति विम्ब कृति पछिल्लो समय आवरणमा जीवनी सङ्ग्रहका रूपमा र अन्तर्यमा नेपाली साहित्यका बहुआयाम लिएर उपस्थित छ । यस कृतिमा भारतीय नेपाली भाषा, साहित्य, कला र संस्कृतिका धरोहरहरूलाई सम्मान गर्दै उनका जीवनी व्यक्तित्वको र कृतित्वको निबन्धन, प्रबन्धन र समीक्षण गरिएको छ । कृति सूचनामूलक पनि छ र त्यत्तिकै खोजमूलक पनि रहेको छ । कृति व्यक्तिकेन्द्रित छ र त्यत्तिकै इतिहासचेतनाले पनि सम्पन्न छ ।
सरसरती हेर्दा प्रस्तुत कृति अग्रजप्रतिको सम्मान भावले तयार पारिएको कृति हो । अग्रज नेपाली साधकहरूप्रतिको श्रद्धास्वरूप खोज अनुसन्धान गरी निबन्धात्मक शैलीमा तयार पारिएको कृति हो । यस कृतिले नेपाली पाठकलाई भारतीय भूगोलमा रहेर भाषासाहित्यका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूका विषयमा मात्र अन्वेषण गरेको छैन भारतीय नेपाली साहित्यका साहित्यिक पत्रकारिता, इतिहास, समकालीन परिवेश आदिको पनि उत्खनन गरेको छ । यसमा भारतमा बसेर नेपाली भाषा साहित्य र कला क्षेत्रमा समर्पित अग्रजहरू निबन्धन, प्रबन्धन र समीक्षण र सोधन पनि भएर प्रकाशमा आएका छन् । एउटै कृतिमा दर्जनौँ स्रष्टाको परिचय पाउनु, त्यो पनि इतिहासचेत र समकालीन युगीन चेतसहित समेटिएर आउनु स्रष्टा, द्रष्टा र अनुसन्धाता वा पाठक सबैका लागि खुसीको कुरा हो ।
कृतिमा भारतीय नेपाली भाषा, साहित्य, कला र संस्कृतिका धरोहरहरूलाई सम्मान गर्दै उनका जीवनी व्यक्तित्वको र कृतित्वको निबन्धन, प्रबन्धन र समीक्षण गरिएको छ । कृति सूचनामूलक पनि छ र त्यत्तिकै खोजमूलक पनि रहेको छ । कृति व्यक्तिकेन्द्रित छ र त्यत्तिकै इतिहासचेतनाले पनि सम्पन्न छ ।
स्मृति विम्ब कृतिभित्र अनेक प्रतिभा समेटिएका छन् । कतिपयका नाम हामीले धेरै सुनेका र पढेका छन् भने कतिपय सुन्दै नसुनेका तर धेरै काम गरेका ओझेलका प्रतिभाहरू छन् । यस कृतिमा कृतिमा समेटिएका प्रतिभाहरूमा वीरेन्द्र सुब्बा, लैनसिंह बाङ्देल, मत्स्येन्द्र प्रधान, इन्द्रबहादुर राई, कुमार प्रधान, राजनारायण प्रधान, प्रकाश कोविद, जगत् छेत्री, मार्टिन माइकल गुरुङ, रामकृष्ण शर्मा, तुलसीबहादुर छेत्री, अगमसिंह तामाङ अपतन, अगमसिंह गिरी, अच्छा राई रसिक, इन्द्र सुन्दास, ओकिउयामा ग्वाइन, कमला सांकृत्यायन, खड्गसिंह राई, गुमानसिंह चाम्लिङ, जगत् राई, जी. छिरिङ, जीवन थिङ, नरेन्द्रप्रसाद कुमाईं, नरदेन रुम्बा, प्रेम शेर्पा, बद्रीनारायण प्रधान, महानन्द पौड्याल, रामलाल अधिकारी, लक्खीदेवी सुन्दास, विनिता सिंह, विकास गोतामे, वीरविक्रम गुरुङ, शरद् छेत्री, हरिप्रसाद गोर्खा राई, हरिभक्त कटुवाल, सानुमती राई, देवकुमारी थापा, पारसमणि प्रधान, राधिका राया, शिवकुमार राई, पारिजात र रूपनारायण सिंह गरी ४२ जना प्रतिभासंँग जोडिएका लेखकका स्मृति र मूलत: उनका जीवनी व्यक्तित्व र कृतित्वमूलक पक्ष उजागर भएका छन् । यी प्रतिभाहरू मूलत: नेपाली भाषा, साहित्य, कला र संस्कृतिका उच्चस्तरका साधकहरू हुन् । यी विशिष्ट साधकहरूमाथिको लेखकीय अभिमत कतै मूल्य निर्णयसहित र कतै समीक्षात्मक, परिचयात्मक, जीवनीमूलक रहेर पनि निकै प्रबल रूपमा अभिव्यक्त भएको छ । जस्तै :
विरोकी नेपाली साहित्यमा अवतरित हुँदा अगमसिंह गिरी, वीरेन्द्र सुब्बा, ओकिउयामा ग्वाइन, तुलसी अपतन, सानुमति राई, सावित्री सुन्दास आदि स्थापित नाम भइसकेका थिए भने गुमासिंह चामलिङ्, भीम थापा, हरेन आले, शरद छेत्री, खडकसिंह राई ‘काँढा’ हरू स्थापित हुने क्रममा थिए । सन् साठीको दशकमा गुमानसिंह चामलिङ्ग तीनवटा कविता संग्रहका कवि भइसकेका थिए भने विरोकी दुईवटाका। उनका अरू समकालीन कवि मित्रहरूको भने निकै पछि मात्र कविता संग्रह प्रकाशित भएको जानकारी पाउँछौँ । कवि विरोकीले भारती कालीन नेपाली साहित्यलाई प्रतिनिधित्व गर्न नपाए पनि उनी दियालो, धुँवा, जनदूत आदिलाई आत्मसात गरी आगाडि बढ्छन्।
माथिको अंशले प्रधानको जीवनी लेखनको पक्षलाई देखाउँछ । उनी लेखकको जन्म हुर्काइ र सिर्जनालाई मात्र देखाउँदैनन् । उनको समकालीन परिवेश र प्रतिभालाई पनि समेटिइरहेका हुन्छन् । यहाँ विरोकीको परिचय दिने क्रममा तेस्रो आयामको सन्दर्भ र त्यसबाट बचेर कविता लेख्ने कविका रूपमा विरोकीलाई यसरी चिनाइएको छ :
दार्जिलिङमा तेस्रो आयामको उदय हुँदा उनी काव्ययात्रामा पाइला टेक्दै थिए । त्यो समय धेरै कविहरू अन्योलमा थिए । कोही कविताको आयतन नाप्न नसकेर हतास थिए भने कोही साहित्यमा सम्पूर्णता बुझ्न नसकेर निराश थिए । सीमितले मात्र बुझ्न सक्ने कविताबाट अलग्गै धारमा कविता लेख्न पर्छ भन्ने बुझाइले अरू केही कविहरू झैँ विरोकी पनि छोटो, मिठो तर ओजिलो कविता लिएर साहित्यमा आए । अरू कविहरू भन्दा विरोकीका कवितामा छुट्टै बान्की थियो । वि.सं. २००८ सालतिर भीमदर्शन रोकाले शुरु गरेको मुक्तक शैलीमा उनको कविताहरूको प्रस्तुती पाउँछौ ।
यहाँ समीक्षा र इतिहासचेत दुवै भेटिन्छ । जीवनी लेख्नु वा जीवनीपरक समीक्षा लेख्नु भनेको प्रशंसा वा परिचय मात्र प्रस्तुत गर्नु होइन । जीवनलाई सम्पूर्णतामा पढी प्राप्ति अप्राप्तिको पनि पहिचान गर्नु हो । यसै पाठलाई उदाहरण मान्दा विरोकीका जीवनका प्राप्ति अप्राप्तिलाई पनि केलाइएको छ :
पद्म दोर्जे भोटिया भएर जन्मेका उनी कालान्तरमा प्रेम शेर्पा ‘विरोकी’ले परिचित हुन्छन् नेपाली साहित्यमा । दार्जिलिङ शहर भन्दा निकै पर रिम्बीकमा ६ जनवरी १९४४ मा यस धर्तीमा पाइला टेकेका पद्म दोर्जे नेपाली भाषालाई अतिनै माया गर्ने एक स्रष्ट्रा र चिन्तक थिए । ३३ वर्षको लामो प्राध्यापन गरेर सेवा निवृत भएका विरोकी नेपाली विभागको मुख(पत्र ुहिमालु (पटल(पत्रिका० (को १९७० देखि १९८६ सम्म संरक्षक भएर विद्यार्थीहरूलाई साहित्यिक क्षेत्रमा लाग्न प्रोहोत्सान गरे । तीन कविता संग्रह( पहाड़ी फूल, अस्तित्व र तरंग, लहर र छालहरू बाहेक विभिन्न पत्र(पत्रिकाहरूमा रचनाहरू प्रकाशित भएका छन् विरोकीका । नेपाली भाषा र साहित्य भने पछि हुरुक्कै हुन्थे विरोकी तर जीवनकालमै अरू जस्तै सम्मान भने उनले पाउन सकेनन् ।
यहाँ विरोकीका विषयमा प्रयाप्त मात्रामा समीक्षा समालोचना नभएको, अध्ययन अनुसन्धान नभएको र उनी ओझोलमा परेको पक्षलाई पनि समेटिएको छ । यो जीवनी प्रस्तोताको विशेष चेतना हो । यस कृतिको लेखन सन्दर्भका विषयमा प्रधानको धारणा यस्तो छ :
सीमित साहित्यकारहरू मात्रै धेरै चर्चा परिचर्चा भएकोछ र अरू केही साहित्यकारहरू पाद(टिप्पणी ९ फुटनोट ० ( मा मात्र सिमित छन् । पाद(टिप्पणीमा पनि नअटाएका सहित्यकारहरूको फेहरिस्त निकै लामो छ । सबै साहित्यकारहरूको चर्चा नहुनुको मुख्य कारण हो सम्बन्धित निकायहरूको उदासिनता र त्यी निकायहरू हाँक्ने व्यक्तिहरूले यस विषयमा कुनै चासो नदिनु हो जस्तो लाग्छ । पुराना साहित्यिक पत्रिकाहरू जस्तै उदय, प्रभात, शारदा, भारती आदिका पाना पल्टाएर हेरे मात्रै थाहा हुन्छ नेपाली साहित्यलाई उर्वर बनाउन कति साहित्यकारहरूले योगदान दिएका थिए । तर उनीहरू अहिले गुमनाम छन् नेपाली साहित्यका पानाहरूमा । भारतीय नेपाली साहित्यमा पनि गुमनाम हुनेहरूको संख्या बढ्दै गएको छ । भारतीय नेपाली साहित्यको इतिहास निकै पुरानो भए पनि केही नाम चलेको साहित्यकारहरू बाहेक अरूलाई बृहत् नेपाली साहित्यका पाठकले चिन्दैनन् । ती भारतीय नेपाली साहित्यकारहरूको लेख, रचना र कविताहरू पछिल्लो समयमा साझा प्रकाशन, नेपाल प्रज्ञा(प्रतिष्ठानबाट प्रकाशित हुने कविता, निवन्ध, समालोचना र कथा संग्रहहरूमा कहिँ पाँउदैनौ । ईश्वर बराल, भैरव अर्याल, चूडामणि बन्धु, कृष्णचन्द्रसिंह प्रधानले सम्पादन गरेका झ्यालबाट, हिमालचुलि, साझा निबन्ध, साझा कथा, साझा कविता, साझा समालोचनामा भारतीय नेपाली साहित्यकारहरूको लेख रचना र कविताहरूले यथेष्ट स्थान पाउन सके पनि त्यस पछिका संग्रहहरूमा उनीहरूको उपस्थिति शून्य प्राय: भयो ।
यहाँ लेखकले नेपाली साहित्यबाट भारतीय नेपाली साहित्य किनाराकृत भएको पक्ष उठाएका छन् । किनारामा पर्ने र पारिने पक्ष वर्ग, जात, रङ र भूगोल मात्र हुँदैन यहाँ फरक राष्ट्रियता पनि कारक हुन्छ भन्ने पक्ष उजागर गरिएको छ । यहाँ प्रधानले भारतीय नेपाली साहित्यलाई छोडेर नेपाली साहित्यको मात्र इतिहास लेखिनुले सिङ्गो नेपाली साहित्य नै अपाङ्ग भएको ठानेर त्यस पक्षलाई परिपूर्ति गर्ने गरी यो काम गरेको आत्मस्वीकृति दिएका छन् ।
प्रस्तुत ग्रन्थका लेखक शरद् प्रधानकाअनुसार कतिपय भारतीय साहित्यकारहरू भारतबाट प्रकाशित हुने सङ्ग्रहहरूमा अटाउन सकिरहेका छैनन् भन्ने तीतो यथार्थ छ । उनीहरू इतिहासमा विस्मृत भइरहेको विषय पनि उठाउँदै लेखकले त्यसप्रति निकै चिन्ता लिएका छन् । उनले अनेकन् प्रयास गर्दा पनि केही साहित्यकारहरूको सामान्य जानकारीसमेत नपाएको सूचना पनि दिएका छन् । यस अर्थमा प्रधानको यो लेखन र अन्वेषण यात्रा निरन्तर रहनुपर्ने देखिन्छ ।
आज नेपाली साहित्य जगत् आत्मप्रशंसकहरूका भुमरीमा परिरहेको छ । यस्तो बेला शरद् प्रधानको स्मृति विम्ब कृति अरूको सम्मान, प्रतिभाको खोज र असल कर्मको उजागरमा केन्द्रित बनेर सार्वजनिक भएको छ । प्रधानज्यूलाई साहित्यसागरका तर्फबाट सम्पादकीय अभिवादन । हामी कामना गरूँ नेपाली साहित्यको श्रीवृद्धिमा लागिपर्ने प्रतिभाहरूको उजागरका लागि अरू थुप्रै शरद् प्रधानहरू जन्मन सकून् । प्रधानको रोजाइ र अन्वेषणमा परेका बयालिसै जना अग्रजलाई पनि साहित्यसागरको सम्पादकीय अभिवादन ।
-डा. रमेश शुभेच्छु