डिल्लीराज अर्याल नेपाली साहित्यमा बहुआयामिक प्रतिभाका रूपमा स्थापित छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी निरन्तर सिर्जनाका विभिन्न विधामा कलम चलाइरहेका छन् । प्रस्तुत शृङ्खलामा उनको ‘अगतिला’ बोलको गीत समेटिएको छ । यस गीति कविताले व्यङ्ग्यात्मक शैलीमा सबै जिम्मेवार व्यक्तिहरूमा पदीय दायित्व र मानवता गिर्दै गएको पक्ष देखाइएको छ । -सम्पा. |
उनी अगतिला यिनी अझै अगतिला
यताको के कुरा गर्ने जन्मै अगतिला ।
कर्मचारी, नेता, डाक्टर, ड्राइवर अगतिला
प्राध्यापक,पाले,मन्त्री,पुलिस अगतिला
खै को? कुन क्षेत्र? कहाँ रह्यो गतिलो को ?
हामी बोल्ने, कराउने मध्ये गतिलो को ?
मलाई मै गतिलो छु, उसलाई ऊ नै
तिमी हामी उस्तै जोखे, तौले, भयौँ भिन्नै ?
कसलाई के भन्नु खै ! भए हामी उस्तै
सबै उस्तै भए पर्ख जाउँला सुस्तै सुस्तै !!