आजको युवा पुस्ताको निराशापूर्ण मनोविज्ञान निकै घातक छ । पढ्दै गरेका उत्तर किशोरवयका किशोर किशोरी पनि निराश देखिन्छन् । पढ्दै गरेका र जागिर खान थालेका प्रथम युवावयका युवा र उत्तरवयका युवा पनि निराश नै छन् । उनीहरू नपत्याउँदो गरी विकसित एउटा अनौठो विरक्तिका साथ बाँचिरहेका छन् । त्यसको कारण के होला भनेर सञ्चारमाध्यम र नीति निर्माताहरूले सोच्ने बेला भएको छ । कला सर्जकहरूले पनि सोच्ने बेला भएको छ । सूक्ष्म दृष्टिले हेर्दा आजको विश्वसाहित्य र चलचित्र उद्योग वर्गीय चरित्र र मनोविज्ञानका चरित्र उद्घाटनमा लागेको छ । अबको साहित्य र कलाले यस मनोविज्ञानलाई समेट्न ढिला गर्नु हुँदैन ।
आज विकसित युवा पुस्ताको निराशालाई चिर्ने साहित्य र कलाको अभाव भए जस्तो लाग्छ । स्वदेशबाट हेर्दा खुसी जस्तो देखिए पनि विदेश गएका युवा पनि वास्तवमै खुसी छैनन् । उनीहरू आआफ्नै समस्यामा छन् । उनीहरू त्यहाँको सरकारले नजानिँदो गरी आप्रवासीको कमाई त्यहीँ राख्ने रणनीतिको सिकार बनिरहेका छन् । सवारी, घर, आधुनिक विलासिताका साधनमा वर्षौं वर्ष तिरिनसकिने बैँकका किस्ता बुझाइरहेका छन् । स्वदेशमै पनि बैङ्किङ क्षेत्रमा र अन्यत्र जागिरे जीवन बिताइरहेका नेपाली युवाको दशा त्यस्तै छ । उनीहरूका कमाइबाट कुनै बैँक, लघुवित्त वा सहकारीहरू धनी बनिरहेका छन् । सजिलै आय आर्जन हुने कृषि कर्मबाट प्रायः युवा पुस्ता भागिरहेका छन् । उनीहरू परम्परित पेसाबाट प्रायः भागिरहेका र लखेटिइरहेका पनि छन् । पण्डितका सन्तान पण्डित बन्न मानिरहेका छैनन्, वकिलका सन्तान वकिल बनिरहेका छैनन्, शिक्षक प्राध्यापकका सन्तान शिक्षाक्षेत्रबाटै भागिरहेका छन् । डाक्टर इन्जिनियरका सन्तान विज्ञान विषयबाटै भागिरहेका छन् । सूचीकार, ताम्राकार, सुनुवार, लोहार सबैले आफ्ना पेसा परिवर्तन गरिरहेका छन् । थकाली समुदायका लागि भान्सा परको विषय बन्दैछ । अर्कै समुदायले थकाली भान्सा चलाइरहेका छन् । नेपाली समाजका जुनसुकै क्षेत्रका युवा स्वदेशमा ठूलो काम पनि गर्न लाज मानिरहेका र विदेश गएर जुनसुकै काम गरिरहेका छन् । सबै युवाहरू के हो के हो, कस्तो हो कस्तो खुसी खोजेर भौतारिइरहेका छन् । यसलाई साहित्य कला र संस्कृतिका माध्यमबाट कसरी चिर्न सकिन्छ ? आजको बहसमा समेटिनु पर्ने विषय पनि यो विषय बनिरहेको छ र त्यस मनोविज्ञानलाई चिर्ने सिर्जनाको खाँचो पनि देखिँदैछ ।
आजको समस्या हाम्रो समाजले निर्माण गरेको स्वनिर्मित समस्या होइन । यो विश्व परिवेशसँग सञ्चार माध्यमबाट एकैचोटि ठोकिन पुगेको युवा पुस्ता भएकाले त्यसैबाट विकास भएको समस्या हो । यस समस्याबाट युवा पुस्तालाई बाहिर ल्याउन परम्परित शिक्षाप्रणाली र पद्धतिहरूबाट प्रायः सम्भव नै छ । प्राचीन योग ध्यानप्रति पनि युवा पुस्ताको विश्वास जगाउन सकिएको छैन । विश्वास जगाउन सिकाए पनि ती क्षेत्रमा लागिरहने धैर्य निर्माण गर्न कठिन छ । सबैले एकोहोरो अघिल्लो पुस्ताको भन्दा तीन चार गुणा र समकालीन साथीहरूभन्दा दुई गुणा खुसी खोजेका छन् । उनीहरूले वरिपरिभन्दा पनि खुसी पर हुन्छ भन्ने बुझेका छन् । त्यो पर सबै अँध्यारो छ । त्यो परको अँध्यरोपनले युवा पुस्ताको भविष्य अन्धकारतिर धकेलिरहेको छ । खुसी आफैले निर्माण गर्ने र आफैभित्रबाट विकास हुने मनोविज्ञान हो भन्ने कुरा नबुझ्नाले त्यो अन्धकार झन् गहिरिँदो छ । त्यस्तो अन्धकारबाट युवा पुस्ता बाहिर ल्याउन र उनीहरू पनि आउन कठिन बनिरहेको छ ।
युवा उमेर योग्यता, रहर र खुसी खोज्ने उमेर हो । हाम्रो अघिल्लो पुस्ताले पनि युवा उमेरमै खुसी खोजेर हिँडेको यथार्थ हो । यस अर्थमा युवामा जागृत नवयोग्यता र नव खुसीको लहर स्वागतयोग्य छ तर एकैचोटि केही पनि मिल्दैन । यसका लागि नेपाली समाजसापेक्ष उदाहरण खोज्दा कृषि परम्परासँग संबद्ध उदाहरण लिन सकिन्छ । असारमा रोपेको धान मलपानी र गोडमेलपछि मङ्सिरमा मात्रै पाक्छ । मङ्सिरमा छरेको तोरी फागुन चैतमा मात्र पाक्छ । फागुन चैतमा छरेको मकै असारमा मात्र पाक्छ । हाम्रो परम्परित कृषि प्रणालीमा यी तीन बाली पाक्नु ठुलो कुरा मानिन्छ । यो प्रकृतिसापेक्ष बाली लगाउने वैज्ञानिक नियम हो । यसरी तीन बाली लगाउन नजान्नेका खेतबारी एकै बालीले वर्ष काट्छन् । यस्तो बालीका लागि पनि हावापानी उपयुक्त हुनुपर्छ । यो नियमभन्दा छिटो पकाउने बैज्ञानिक विधि पनि छन् तर त्यसका लागि कृत्रिम वातावरण सिर्जना गर्नुपर्छ । कृत्रिम वातावरणमा बाली प्राकृतिक रूपमा जस्तो नहुर्कन पनि सक्छ । हुर्किइहाले पनि त्यसको सुरक्षा कठिन हुन्छ । आजको युवाहरूको सपना र चाहना कृत्रिम बाली जसरी नै अलमलिएको छ ।
आजका युवा सबैलाई एकैचोटि छिटोभन्दा छिटो परिणाम चाहिएको छ । छिटो धनी बन्नु छ । छिटो प्रतिष्ठित बन्नु छ । टिकटकमै किन नहोस् छिटो सेलिब्रेटी बन्नु छ । आफ्नो उन्नति छिटोभन्दा छिटो देखाउनु छ । इन्टरनेट क्लिक गरे जस्तै जीवनमा हरेक वस्तुलाई क्लिक गरेर परिवर्तन गर्नु, हुनु छ । छिन छिनमा सफलताका तस्बिर फेसबुकमा पोस्ट गरिसक्नुपर्छ । यो स्वप्नदृष्टिअनुसारको परिवर्तन हुन्छ पनि । तर क्लिक जतिकै छिटो सम्भव छैन । परिवर्तन र विकास ढिलो चाँडो हुन्छ तर त्यसका लागि शिक्षा चेतनाको अभाव छ । युवा पुस्ताका शिक्षा एकातिर, शिल्प एकातिर र सपना अर्कातिर छन् । कतिपय व्यवसायीले पढेर काम छैन कमाए भइहाल्छ भन्ने भ्रम पाल्न र छर्न पनि भ्याएका छन् । कतिपय शिक्षितले पनि पढेर पढेको जस्तो जीवन नबाँचेर समाजलाई गलत पाठ सिकाइरहेका छन् । त्यसैले व्यापार व्यवसाय पनि अस्थिर छ । शिक्षा चेतना पनि अस्थिर छ । व्यापारमा हेर्यो छ महिना सटर कुर्ने धैर्य छैन । जागिरमा हेर्यो दशैँ बोनस आउने गरी एकै ठाउँमा काम गर्ने धैर्य छैन । व्यवसाय थाल्नेले थालेको छ महिना नपुग्दै बिचमा किनबेच चलाउँछ । यो रोग राजनीति र सामाजिक कामतिर पनि सरिसकेको छ । एउटा केही गरौँ भन्ने युवा दलबल परिवर्तन गरेर आफूलाई स्थापित गर्न लागिरहेको छ र सबैतिरबाट विश्वास गुमाइरहेको छ । यो अस्थिर स्वभावले आजको युवा पुस्तालाई दुर्घटित बनाइरहेको छ ।
वास्तवमा इन्टरनेटको क्लिक जस्तो उन्नति कहीँ कतै छैन । जागिरमा कमाइको सीमा हुन्छ , व्यापारमा नाफा घाटा दुवैको सम्भावना हुन्छ, उद्योगधन्दामा डुबिने उक्सिने दुवै सम्भावना बराबर हुन्छ । राजनीति र समाजसेवामा पनि त्यागको मूल्य र सीमा हुन्छ । यही सीमा बुझाइदिने शिक्षा, व्यवहारिक ज्ञान, सङ्गत आदि केही नहुँदा आजको युवा पुस्ता दुःखी र निरास मात्र होइन मानसिक रोगको सिकार बनिरहेको छ । आफूले सक्ने योगदान पनि आफ्ना ठाउँमा बसेर गर्न सकिरहेको छैन । अबको नीति निर्माण त यसतर्फ सचेत हुनुपर्छ नै साहित्य र कला सिर्जना पनि यस्तो डरलाग्दो अस्थिर चरित्र र निराशालाई चिर्ने गरी सिर्जना हुन आवश्यक छ ।
खुसी, सफलता र प्रतिष्ठा आदि अलि अलि गर्दै आर्जन गर्ने कुरा हुन् । यी पक्ष एकैचोटि प्राप्त हुँदैनन् भन्ने कुरा हाम्रो लोक समाजमा पनि छ । भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिँदैन भन्ने उखानले देखाउँछ । ओरालो लडेको ढुङ्गो पनि बास पाउँछ भन्ने कुराले देखाउँछ । गणितीय दृष्टिले रूपैयाँ रूपैयाँबाट हजार, हजार हजारबाट लाख र लाख लाखबाट करोड हुने हो । झट्ट हेर्दा करोडका अगाडि रूपैयाँ केही होइन जस्तो लाग्छ तर एक रूपैयाँ कम भयो भने त्यसलाई करोड मानिँदैन । सफलताका लागि शिक्षा, शिल्प, पेसा, व्यवसाय, सरसम्बन्ध, प्रतिष्ठा आदिले रूपैयाँ रूपैयाँको काम गरिरहेका हुन्छन् । एकैचोटि ठूलो कुरा प्राप्त हुँदैन तर ससाना कुराको प्राप्तिलाई स्वीकार गर्दै गए ठूला प्राप्ति पनि हुन्छन् । यो वैज्ञानिक सूत्र र मनोविज्ञानलाई कला सिर्जनाले आफ्नो विषय बनाउन सके युवा पुस्ताका निराशा चिर्न सकिन्छ ।
-डा. रमेश शुभेच्छु