सभालाई र सभापतिलाई सम्बोधन गरेपछि सबै त्यसैमा पर्छन् भन्ने पूर्वीय संस्कृत वाङ्मयिक मान्यता छ । आजभोलि नियमितजसो विभिन्न कार्यक्रम भइरहेका हुन्छन् । साहित्यिक कार्यक्रमको मात्र अवलोकन गर्द पनि विविध साहित्यिक कार्यक्रम भइरहेका हुन्छन् । कोभिडपछाडि त्यस्ता कार्यक्रम अनलाइन पनि भइरहेका छन् र स्थलगत पनि भइरहेका छन् । यस्ता कार्यक्रममा भेटघाट, चिनाजानी र सिक्ने सिकाउने क्रम पनि हुन्छ तर कार्यक्रमको व्यवस्थापन पटक्कै मिलिरहेको र व्यवस्थित भइरहेको हुँदैन ।
साहित्यिक कार्यक्रम कृति लोकार्पण, रचना वाचन, स्रष्टा सम्मान, विशिष्ट स्रष्टाका जयन्ती, संस्थाका वार्षिकोत्सव आदि जे पनि हुन सक्छन् । यस्ता कार्यक्रम प्रायः आधा एक घण्टा ढिलोसुरु भइरहेका हुन्छन् । त्यस्तै कार्यक्रम सकिँदा सबैलाई घर पुग्न अबेला भइरहेको हुन्छ । बिहान भए अफिस जान र काममा फर्कन गाह्रो परिरहेको हुन्छ । समयमा पुग्नेले पनि दुःख पाउँछन् । अतिथि प्रमुख अतिथिलाई पनि समस्या भइरहेको हुन्छ । प्रायः मेरले बृद्ध मानिसलाई प्रमुख अतिथिका रूपमा डाकेर घण्टौँ कुराउने गरिन्छ । यसो गर्दा अथितिको सम्मान भन्दा बढी समस्या भइरहेको हुन्छ । अतिथिको खानपिनको समय र स्वास्थ्यमा पनि समस्या भइरहेको हुन्छ । सुरुदेखि कार्यक्रम सकिनुअघिसम्म बिच बिचमा असनग्रहणको फेहरिस्त हुन्छ । खादा, माला, व्याच आदिको फेहरिस्त उस्तै । मञ्चमा बस्न दिएका र नदिएकामा झगडा गर्ने साथीहरू पनि देखिन्छन् । त्यसैले यस्ता कार्यक्रममा सुधार गर्नुपर्ने देखिन्छ ।
मञ्चमा बोल्ने भूमिका हुने व्यक्तिलाई मात्र राखने गर्नु हो भने यी समस्यारु क्रमशः हटेर जाने छन् । अझ मञ्चमा बोल्ने बेलामा मात्र जाने व्यवस्था गरे राम्रो हुन्छ । सबै जना दर्शककै रोमा बसेर कार्यक्रम हेरे सुने पनि कार्यक्रम सहज हुने देखिन्छ । खादा माला दुवैमा हुने फजुल खर्चलाई रोक्न भूमिका हुनेलाई मात्र लगाउने परम्परा विकास गरे अझ मितव्यही हुन्छ ।
समय व्यवस्थापनका दृष्टिले कार्यक्रम अस्तव्यस्त देखिन्छ । उपस्थिति थोरै जनाको भए पनि समयमा सुरु गर्ने र समयमा सक्ने गरी कार्यक्रम गर्न सके ढिलो आउनेलाई आसन ग्रहण गराउने झन्झट रहँदैन । उद्घोषण कला सिकेका व्यवसायिक उद्घोषकले उद्घोषण नगर्नु, वक्ताहरूले समय बुझेर बोल्न नसक्नु, कुन काम हुँदैछ त्यस सम्बन्धित विषयविज्ञको अनुपलब्धता, विज्ञताबाहिरका व्यक्तिका आधारहीन आत्मालापीय मन्तव्य, रचनावाचन गर्ने व्यक्तिले पनि सम्बोधन गर्ने र रचना गर्भ सुनाउनका साथै व्याख्या पनि गर्ने परम्परा, अझ सबैले सबैलाई सम्बोधन गर्ने लामो परम्परा, कुरा सकिएपछि पनि धन्यवादका लागि एक दुईदेखि पाँच मिनेटसम्म प्रशंसामा बोलिरहने परम्परा आदिमा सुधार गर्न आवश्यक छ ।
साहित्यक समारोहहरू सिर्जनशील बौद्धिक व्यक्तित्वहरूका समारोहहरू हुन् । यस्ता समारोहलाई आकर्षक, सिर्जनशील र बौद्धिक बनाउन सकिएन यस्ता समारोहहरू फुर्सदिला मानिसको समारोहको पर्याय बन्न सक्छन् । हामीले संस्कृत परम्परामारहेको सभापति र सभालाई सम्बोधन गरेर बोल्ने परम्परा छोडेकाले यो दुःख पाइरहेका हौँ । पुनः त्यता फर्कन आवश्यक छ । संस्कृत परम्परामा सम्बोधन गर्दा नमः सभाभ्यः सभापतिभ्यश्य भनिन्छ । यतिले सम्बोधन पुग्छ । सभाहलमा भएका सबैलाई समान दृष्टिले हेरिन्छ । यो सम्बोधन परम्परा हामीलाई कामलाग्दो हुन सक्छ ।
-डा. रमेश शुभेच्छु