पाँचथर गजलमञ्चले यसपटक भाद्र २८ गते १५७ औँ मोतीजयन्तीका अवसरमा पाँचथरमा विशेष कार्यक्रमको आयोजना गर्यो । गजलमञ्चद्धारा आयोजित विशेष समारहेहमा प्रमुख अतिथिका रूपमा साहित्यकार डा.रमेश शुभेच्छु सहभागी बनेका थिए । सो समाहोहमा शुभेच्छुले मञ्चबाट हरेक वर्ष प्रदान गरिँदै आएको ऐतराज केरुङ स्मृति गजल पुरस्कार यसपटक युवा गजल स्रष्टा लोकेन्द्र बञ्जरा (तेह्रथुम, हाल झापा) लाई प्रदान गरे । शुभेच्छुले आफूले इलाममा रहेर सामना पत्रिका सम्पादन गर्दादेखि चिनेका राम्रा गजलकार बञ्जरालाई पुरस्कृत गर्न पाउँदाको खुसी र योग्य मानिसलाई पुरस्कृत गर्न पाएको बताए ।
सोही समारोहमा पाँचथरकी अग्रज स्रष्टा अधिकारी विमलाको विमला अधिकारीका गजलहरू कृति शुभेच्छुले लोकार्पण गरे । सोही कार्यक्रममा पाँचथरका अर्का गजलस्रष्टा एन. वी अञ्जानको गजलकृति मौसममाथि अन्तरक्रियाम पनि सम्पन्न भयो । सोही कार्यक्रममा विशेष गजलवाचन र खुला गजल वाचनमा थुप्रै नयाँ पुराना स्रष्टालाई प्रस्तुत गरिएको थियो ।
विमोचित गजल कृतिमाथि समीक्षा लक्ष्मी ढुङ्गानाले गर्नुभएको थियो भने सम्मानित प्रतिभाको परिचय लक्ष्मी गौतमले प्रस्तुत गरेका थिए । प्रमुख अतिथि डा. शुभेच्छुले मोतीराम विषय प्रवचन, पाँचथरको साहित्यिक योगदान, सम्मानित स्रष्टा लोकेन्द्र बञ्जरा, कृति लोकार्पण गर्ने स्रष्टा अधिकारी विमला र एन.वी अञ्जानका साथै समकालीन गजल र नेपाली साहित्यका विषयमा विशेष प्रवचन दिएका थिए । उनले भने ः आजको नेपाली समाजलाई मोतीले युवाशक्तिको उदाहरण पेस गरेका छन्, उनीबाट हामीले धेरै कुरा सिक्नुपर्दछ । जम्मा तीन दशकको जीवन बाँचेर पनि उनी अजर र अमर छन् ।
कार्यक्रममा विशेष अतिथि मसान उपासक, सेसेमी पन्थाकलगायत पाँचथरका दर्जनौँ स्रष्टाले गजल बाचन गरेका थिए । पुरस्कृत प्रतिभा लोकेन्द्र बञ्जराले आफूले पुरस्कारसँगै थप जिम्मेवार बन्नु परेको बताएका थिए भने मधु केरुङ र सागर केरुङले पुरस्कार स्थापनाको औचित्यमाथि प्रकाश पारेका थिए ।