रूपक अलङ्कार समाकालीन पुस्ताका सशक्त कवि प्रतिभा हुन् । उनले मुक्तकदेखि महाकाव्य सिर्जनासम्मको सिर्जनशील यात्रा तय गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको कथा जिन्दगीको बोलको गजल समेटिएको छ । यस गजलले जीवनका विसङ्गत परिस्थितिमा मानिस हरेराम गाउँने वा विद्रोह गर्ने अवस्थामा पुग्ने जीवनबोधलाई प्रस्तुत गरेको छ । -सम्पा. |
कथा जिन्दगीको कहाँबाट थालूँ
मिसाऊँ कि पानी कि आगो म बालूँ ।
समातेर गोडा बसेको छ कोही
कसोरी तिमीलाई बोकूँ उचालूँ ।
कयौँ बाध्यता छन् छ इच्छा तथापि
दिई काँध धर्ती जुरुक्कै उचालूँ ।
यसै जिन्दगी थोत्रिएको लुगा भो
उधारेर फालूँ कि जोडेर टालूँ ।
कसैले मलाई नि सल्लाह देओस्
हरेराम गाऊँ कि नारा उरालूँ ।
धादिङ, नेपाल