नेपाली साहित्य परम्परामा कलिलो उमेर बाँचेर धेरै भन्दा धेरै काम गर्न सक्ने प्रतिभा मोतीराम भट्ट हुन् । उनको जीवन निकै रहस्यमय र संयोगै संयोगले भरिएको छ । उनको जन्म भाद्र कुशे औँसीको दिन वि.सं. १९२३ मा भएको थियो भने मृत्यु पनि भाद्र कुशे औँसीको दिन वि.सं. १९५३ मा नै भएको थियो र यसको रहस्य वा जीवनचक्र हेर्ने आधार ज्योतिषीय हिसाबमा होला नहोला त्यो छुट्टै अध्ययनको विषय हो । यहाँ मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीको सन्दर्भ पारेर उनलाई श्रद्धासुमन अर्पण गर्न खोजिएको हो । त्यो पनि उनका जीवनका अभिप्रेरक पक्षहरुमा मात्र केन्द्रित रहेर ।
मोतीरामको पनि बाल्यकाल थियो । उनको पनि वैवाहिक जीवन थियो । घरव्यवहार थियो । सन्तान थिए । पितामाता थिए । पढाइको रापचाप थियो । ती सबै कर्तव्यका बिचमा उनले कलिलो उमेरमा नेपाली भषासाहित्यलाई ठुलो गुन लगाए । उनी बाँचिरहेका भए अरु केके गर्थे होला ? भन्ने लोभलाग्दो उमेरमा उनको निधन भयो । त्यसो भए पनि उनी उमेरभन्दा बढी गरेर गए । उनी मात्र उनन्तिस वर्ष बाँचे । तर दर्जनौँ क्षेत्रमा अविष्मरणीय काम गरेर गए । उनी थप अरु केही दशक बाँचेका भए नेपाली समाजले धेरै कुरा पाउन सक्थ्यो । यस कारण पनि उनी युवा वर्गका अभिप्रेरक पात्र हुन् ।
मोतीराम भट्टको व्यक्तित्वलाई समग्र रूपमा नियालेर हेरे धेरै अभिप्रेरणाका पाटा फेला पर्छन् । हाम्रा आजका तीस वर्षे युवा अलपत्र विपरीत लिङ्गी वा बेकारका साथीहरुसँग पार्क, चोक र हातबजारमा घुमिरहेका हुन्छन् । अल्लारे कुरा गरेर डुलिरहेका हुन्छन् । बाबुआमाका कमाइमा मोज गरिरहेका हुन्छन् । उनीहरुको न कमाइहुन्छ न स्वतन्त्र नाम । त्यस दृष्टिले मोतीराम भट्ट एक अभिप्रेरक पात्र हुन् । उनको तस्बिर हरेक युवाका कोठाका भित्तामा झुन्डिनु र उनीबाट प्रेरणा ग्रहण गरेर आफ्नो करियर निर्माणमा लाग्नु सान्दर्भिक हुन्छ । भट्ट कलिलो उमेरमा विते पनि उनी नेपाली साहित्यपरम्पराको माध्यमिक कालका केन्द्रीय कवि हुन् । उनी नै केन्द्रीय नाटकार पनि हुन् । उनी प्रथम नेपाली शृङ्गारिक कविका रुपमा सुपरिचित छन् । यो कुरा उनका रचनाले पुष्टि गर्छन् । उनी नै प्रथम जीवनीकार हुन् । उनैले भानुभक्तको जीवनी लेखे । उनी नै प्रथम नेपाली समालोचक हुन् । उनले भानुभक्तका रचना खोजी गरे, सम्पादन गरे र तिनलाई प्रकाशनमा पनि ल्याए । उनी नै प्रथम नेपाली गजलकार हुन् । उनैले फारसी, उर्दू र हिन्दी भाषामा रहेको गजललाई नेपाली साहित्यका कविताविधाको अर्को उपविधाका रुपमा भित्र्याए । उनले गजल भित्र्याएका मात्र होइनन् गजलको विकास र संबद्र्धनको काम पनि गरे । एउटा युवाले के के गर्न सक्छ भन्ने प्रमाण उनी नै हुन् । त्यस्ता अभिप्रेरणाका साझा प्रतीक हुन् मोतीराम ।
मोतीराम भट्ट नै प्रथम नेपाली पत्रकार हुन् । उनी नै प्रथम नेपाली अनुसन्धाता हुन् । उनी नै प्रथम नेपाली सचेत नाटककार पनि हुन् । उनी नै नेपाली साहित्यका प्रथम सङ्गठक । उनका सङ्गठनमा उनका समकालीन मात्र थिएनन् । उनका बा हजुरबाका उमेरका मानिस पनि थिए । उनी नेपाली साहित्य परम्परमा प्रतिनिधि सङ्कलनका परिकल्पनाकार र सङ्कलक, सम्पादक एवम् प्रकाशक पनि । उनी नै नेपाली समाजका प्रकाशन संस्थाका संस्थापक र प्रकाशक पनि । उनी नै धर्ममा अलमलिइरहेको नेपाली साहित्यको माध्यमिक कालका प्रवर्तक । शृङ्गार, देशभक्ति र जागरणका पनि स्रष्टा । प्राथमिक र आधुनिक कालका सेतु । पुगनपुग तीन दशक मात्र बाँचेका मोतीरामको पनि बाल्यकाल थियो अरु आम मानिसको जस्तै किशोर र युवा काल थियो तर उनले समाजलाई धेरै कुरा दिएर गए । उनका रचनाका चेतनाका आयामहरु त्यत्तिकै महत्त्वपूर्ण छन् । त्यतिकै अभिप्रेरक पनि छन् ।
मोतीराम भट्ट यो यो हुन् भन्नु भन्दा के चाहिँ होइनन् ? चाह्यो भने युवाले गर्छ भन्ने उदाहरण हुन् मोतीराम । चाह्यो भने युवाले सक्छ भन्ने पनि उनै उदाहरण हुन् । युवा बौद्धिकता र समाजको स्वीकृतिका उदाहरण पनि उनै हुन् । उनको जीवनकालपछिको नेपाली समाजलाई मोतीरामले युवा सामथ्र्यको साझा विम्ब छोडेर गएका छन् । उनी युवाशक्तिका साझा प्रतीक हुन् । युवा जोस, जाँगर र कर्मका उदाहरण हुन् । मोतीरामबाट युवापुस्ताले सिक्नुपर्ने कुराहरु धेरै छन् । त्यस्ता महान् प्रतिभाप्रति हार्दिक श्रद्धासुमन ।
-डा. रमेश शुभेच्छु