कृष्ण बजागाईं सिर्जना, सङ्गठन र सञ्चारका त्रिआमबाट नेपाली साहित्यका विकासमा समर्पित प्रतिभा हुन् । उनी नेपाली साहित्यमा बढी आख्यान र निबन्ध विधामा सक्रिय सिर्जना गरिरहेका छन् । आख्यानतर्फ कथा, लघुकथा, बालकथा, कविता, हाइकु, नियात्रा आदि विविध विधामा कलम चलाइरहेका छन् । बजगाईंंका हालसम्म दर्जन अधिक कृतिहरू प्रकाशित भइसकेका छन् । वि.सं. २०४१ मा संसार साप्ताहिकमा पहिलो रचना प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेका बजगाईंंका लघुकथा सङ्ग्रहका रूपमा यन्त्रवत् (२०६४), रोडम्याप (२०६७), कवच (२०७२) र संवैधानिक पत्नी (२०७७) गरी चार वटा कृतिहरू प्रकाशित छन् । उनको यही प्रिय विधा ठानी साहित्यसागरमा उनको एउटा लघुकथा समेटिएको छ । ‘बाध्यता’ शीर्षकको प्रस्तुत लघुकथाले मान्छे आर्थिक अभावमा कसरी समस्यामा पर्छ र उसका समस्यामाथि जान्ने बुझ्नेले कसरी खेल्छन् भन्ने कुरा देखाइएको छ ।
-सम्पा. |
‘म विगतमा अँड्किरहेको छु । अझै वर्तमानमा फर्केर आउन सकेको छैन । तपाईले लेखिदिनु भएको थुप्रै औषधी खाएँ । त्यसले केही काम गरेन ।’ मैले डाक्टरलाई गुनासो गरेँ ।
मेरो उक्त कुरा सुनेपछि डाक्टरले झर्कदै भने, ‘अब औषधी नखानू, ध्यान गर्न गुरुकहाँ जानू । ठीक हुन्छ ।’
मेरा सारा पीर व्यथा गुरुलाई सुनाएँ । उनले ध्यान गर्न सिकाए । दुई महिना ध्यानमा बस्दा पनि कुनै प्रगती भएन । निराश भएपछि गुरुलाई भनेँ, ‘अलिकति पनि बिसेक भएन गुरु । मेरो भविष्य कस्तो होला भनेर कल्पना पनि गर्न सकेको छैन ।’
मेरा कुरा सुनेपछि गुरुले आँखा चिम्ले । एकछिनपछि आँखा खोलेर भने, ‘भविष्य थाहा पाउनका लागि ज्योतिषीलाई भेट्नू ।’
ज्योतिषीलाई सबै वृतान्त बताएँ । उनले ग्रह शान्ति गराउनू, जन्तर र पत्थर लगाउनू भने । उनले भनेअनुसार सबै कार्य गरेँ । तीन महिनापछि पनि मेरो ब्यथा जस्ताको तस्तै रह्यो । अब के गरुम गुरु भनेर सोध्दा उनले मानसिक चिकित्सकलाई देखाउनु भनेर सल्लाह दिए ।
मानसिक चिकित्सकले मलाई धेरैपटक बोलाएर मेरा कुराहरु सुने । थुप्रै प्रश्नहरु पनि सोधे । अन्त्यमा उनले भने, ‘आर्थिक चिन्ताले यी समस्याहरु आएका रहेछन् । पैसा कमाउनू सबै ठीक हुन्छ ।’
‘मेरो समस्याको मुख्य कारण आर्थिक अभाव रहेछ । उपचारका क्रममा चारतिर धाउँदा धाउँदै अलिकति भएको पैसा सकिएर टाट पल्टेको थिएँ। त्यसैले चोरी गर्न बाध्य भएँ ।
जिन्दगीमा पहिलो पटक चोरी गर्दा पक्राउ परेँ । वास्तवमा म सोझो र इमान्दार व्यक्ति हुँ इन्सपेक्टर साहेब ।’ उसले रुँदै भन्यो ।
उसले त्यति भनिसकेपछि त्यहाँ सन्नाटा छायो ।
बेलायत