वेदकुमारी न्यौपानेको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाली साहित्यका विविध विधामा कलम चलाइरहेकी प्रतिभा हुन् । यस शृङ्खलामा उनको ‘ढुङ्गा हुँदो रैछ मुटु’ बोलको गीतिरचना समेटिएको छ । यस गीतिरचनाले वियोगान्त अनुभूतिलाई निकै जीवन्त रूपमा प्रस्तुत गरेको छ । -सम्पा. |
ढुंगा हुँदो रैछ मुटु धेरै चोट लागेपछि
जम्दो रैछ आँसु पनि बग्दा बग्दै थाकेपछि
सीमा हुँदो रैछ सायद दुख्ने पनि रुने पनि
छट्पटिंदै पीरोलिँदै मन दुखी हुने पनि
कहाँ कति दुख्यो भन्नु जिन्दगी नै दुखेपछि
पलाउने खुसी कहाँ ! हृदय नै सुकेपछि
रुँदैनन् यी आँखा अब छोड्यो मन दुख्न पनि
चस्किंदैन छाति अब छोड्यो पीडा हुन पनि
ढुंगा हुँदो रैछ मुटु धेरै चोट लागेपछि
जम्दो रैछ आँसु पनि बग्दा बग्दै थाकेपछि ।