पाठकसँग लेखक छान्ने विकल्प हुन्छ तर लेखकलाई पाठक छान्ने विकल्प हुँदैन । सफल लेखकले यस चिन्तनलाई बुझेकैले पाठक चिढाउने गरी लेखन गर्दैनन् । पाठक बिच्कियो भने पुनः त्यस लेखकलाई नसम्झन सक्छ । लेखकको काम लेख्ने भए पनि बारबार पाठक खोजिरहनुपर्छ ।
नेपाली र विश्वसाहित्य परम्परामा एक पटक चर्चाको शिखरमा रहेका लेखक पछि इतिहासका गर्भमा हराएका घटनाहरू धेरै छन् । चर्चाको शिखरमा पुगेका लेखक निरन्तर चर्चामै र शिखरमै रहेका उदाहरण पनि छन् । एउटा कृति पढेको पाठकले लेखकको अर्को कृतिको खोजी गर्यो भने बुझ्नुपर्छ त्यो लेखक सफल भयो । पाठकले आधा पढेर वा केही पाठ पढेर पुस्तक थन्क्यायो भने बुझ्नुपर्छ त्यो लेखक असफल भयो । त्यही पाठकले पछि पढौँला भनेर राख्यो भने पुनः लेखकको सफलताको ग्राफ बढ्यो । लेखकलाई पाठक छान्ने विकल्प नहुनु नै लेखक सफल बन्ने ब्रह्मसूत्र हो ।
भनिन्छ आज पढ्ने मान्छेको अभाव छ । वास्तवमा के पढ्ने भन्ने विषयको चाहिँ अभाव भएको हो । पुस्तकालय विज्ञानले हरेक पुस्तकका पाठक हुन्छन् भन्छ । साहित्यको मात्र कुरा गर्दा सम्बन्धित विधाको कृति सम्बन्धित विधाका पारखीसम्म पुग्न सके त्यो पढिन्छ । मञ्चन पनि गरिन्छ । गाइन्छ पनि । अभिनय पनि हुन्छ । नेपाली साहित्यका सन्दर्भमा नयाँ कृति लेखककै वरिपरि सीमित हुनु दुर्भाग्य बनिरहेको छ । पाठकका हातमा पुस्तक पुग्ने गरी बजार व्यवस्थापन वा अन्तर सञ्जाल विकास हुन सकेको छैन । सही पाठकका हातमा पुग्न सके लेखकको मिहिनेत र लगानी खेर जाँदैन । जजसले जेजे भने पनि लेखक ज्ञानको आविष्कारक हो र पुस्तक ज्ञानको संवाहक हो ।
आजसम्म निरन्तर लेखिरहेका र सफल भएका लेखकलाई हेर्दा उनीहरूको एउटा लेखकीय धर्म पाठकको सम्मान हो । पाठकीय सम्मानको विषय अर्को लेखको विषय बन्न सक्छ । हरेक लेखकले लेख्ने विषय आफ्नै समाजका विषय हुन् । तिनलाई कसरी प्रस्तुत गर्ने भन्ने प्रश्नले लेखकलाई निकै पिरोलेको हुन्छ । लेखकले आफ्नो विचार व्यक्त गरेर मात्र हुँदैन । उसले एकै कृतिभित्र विचार व्यक्त गर्न खोजिएको विधाको सौन्दर्य र सामाजिक परिवेश वा आम पाठकको अवस्था अवलोकन गरेको हुन्छ । ती सबै पक्षको संयोजनले लेखक सफल हुन्छ । यी कोणबाट हेर्दा एउटा राम्रो कृति लेखकको मात्र हुँदैन । विमोचन भएपछि समाजको सम्पत्ति बनेको हुन्छ । त्यसको विषय जुनसुकै होस् त्यसले समाजको चेतनाको तहको तला थपेकै हुन्छ । समाजका कुनै पनि सचेत नागरिकले समाजको विकसित हुँदै गएको चेतनाको तला भत्काउन चाहँदैनन् । त्यसमा पनि नेपाली समाज भर्खर चेतनाका सिँढी चढ्दै गरेको समाज हो । यहाँ चेतनाका झिल्का जोरेर उज्यालो छर्ने प्रयत्नमा साहित्यकार मात्र होइन समाजका सबै शिक्षितहरू लगिरहेको अवस्था छ । यो अवस्थामा सबैभन्दा बढी सचेत हुने भनेको लेखकले नै हो ।
-डा. रमेश शुभेच्छु