विश्व साहित्य परम्परामा जीवनभर साधना गरेर एउटा मात्र काव्य महाकाव्य प्रकाशन गर्ने कविको सूची लामो छ । उनीहरूका त्यसरी आएका कविता मानव आदर्श र दर्शनका आधार बनेका छन् । हामी भने कवितालाई सजिलो विधा, कम पढिने विधा मानेर अलपत्र छोडिरहेका छौँ ।
माधव घिमिरेले एउटा महाकाव्य पूर्ण गर्न जीवन अर्पण गरे त्यो अपूर्ण नै रह्यो । लेखनाथ पौडेल, सोमनाथ सिद्याल, बालकृष्ण समको साधना एउटै महाकाव्य रचनामा केन्द्रित रह्यो । यो सजिलो विधा भएको भए सबैले देवकोटाले जस्तै झन्डै दर्जन महाकाव्य लेखिदिन्थे होला ? तर त्यसो हुन कठिन छ । देवकोटाले पनि आफ्ना सबै काव्य–महाकाव्य पूर्ण, विशिष्ट छन् दावी गरेका छैनन् । यस सन्दर्भमा धेरै उदाहरण जुटाउन सकिन्छ ।
नेपाली साहित्यका बजारमा हप्तैपिच्छे दिनैपिच्छे जस्तो कवितासङ्ग्रहहरू प्रकाशन हुन्छन् । तिनमाथि चर्चा परिचर्चा पनि हुन्छन् । तर हाम्रा पूर्वीय ऋषिहरूले कविता र कविबारे दिएका अभिव्यक्ति र महत्त्व बारे अरू त अरू साहित्यिक समाज पनि सचेत छैन । यस सन्दर्भमा अग्निपुराणमा एउटा श्लोक छ :
नरत्वं दुर्लभं लोके विद्या तत्र सुदुर्लभा
कवित्वं दुर्लभं तत्र शक्तिस्तत्र सुदुर्लभा ।
(अग्निपुराण)
यहाँ भनिएको कुरो आज कविता सिर्जनामा पनि र कविताका चर्चामा पनि लागू हुँदैन । यस श्लोककाअनुसार मानव (मानवीय गुणले युक्त) भएर जन्मिनु दुर्लभ हो, मानवीय गुणले भरिपूर्ण मान्छे भएर पनि पढेलेखेको मान्छे हुनु झन् दुर्लभ हो । त्यस्तो पढेलेखेको मान्छे भएर पनि कवित्व लिएर जन्मिनु झन् दुर्लभ हो । कवि प्रतिभा भएर पनि प्रतिभाशाली कवि भएर जन्मिनु संसारमा सबैभन्दा दुर्लभ हो । योभन्दा कविताको मूल्य बुझाउने अरू दर्शन छ जस्तो लाग्दैन । कविता लेख्नेले, समीक्षकका रूपमा बोल्नेले र लेख्नेले यस चिन्तनमा ध्यान दिए कविताको मूल्य सदावहार उच्च छ । न कवि कमजोर थिए न कविता कमजोर थियो । न कवि कमजोर छन् न कविता कमजोर छ । न कवि कमजोर हुनेछन् न कविता कमजोर हुनेछ । यति हो कविले कविता नै लेख्नुपर्यो । कविताका पारखीले मात्र कवितामाथि कलम चलाउनु पर्यो । कविताका पारखीले मात्र कवितामाथि कलम चलाउनु पर्यो ।
अग्निपुराण रचनाको समय संस्कृत वाङ्मयमा साहित्यलाई काव्य भनिन्थ्यो । यसलाई व्याख्या गर्ने शास्त्रलाई काव्यशास्त्र भनिन्थ्यो । यहाँ उद्धरण गरिएको श्लोकलाई आजका सन्दर्भमा कवि प्रतिभामा मात्र केन्द्रित नगरेर सम्पूर्ण साहित्यकारमा केन्द्रित गरेर बुझ्न सकिन्छ । वाङ्मयकर्मी र सञ्चारकर्मीलगायत कलमजीवीका तहमा पनि बुझ्न सकिन्छ । लेखक साहित्यकार आधा शताब्दीदेखि शताब्दीसम्मका स्वप्नद्रष्टा पनि हुन्, हिजो र आजका तत्त्व द्रष्टा पनि हुन् । उनको अपमान, अवमूल्यन क्रमशः समाजको अवमूल्यन हो, इतिहास, सभ्यता र मानव मूल्यको पनि अवमूल्यन हो । अक्षर साधना नै मानव सभ्यताको आधार हो । यसको बोध जुन समाजमा भयो त्यो समाज उन्नत बनेको छ, जुन समाजमा भएन त्यो समाज यथास्थिति वा पतनको बाटोमा छ ।
-डा. रमेश शुभेच्छु