नेपाली साहित्य एवम् कला सिर्जन परम्परामा हास्यव्यङ्ग्य निबन्धको स्थान उल्लेख्य छ । त्यसैगरी कार्टुन चित्रकला, हास्य कर्यक्रम र टेलिशृङ्खलाहरू पनि प्रशस्त छन् । फुटकर कविता, काव्य र नाट्य विधामा पनि हास्यव्यङ्ग्य शैली फस्टाएको छ । पछिल्लो समय चलचित्रमा पनि यो विधाको प्रयोग सफल बन्दै आएको छ र हास्यव्यङ्ग्य कार्यक्रमका क्लबहरू पनि चल्न थालेका छन् । पत्रपत्रिकाले कार्टुनलाई समाचारमा र स्वतन्त्र रूपमा पनि प्रयोग गर्दै आएका छन् । हास्यव्यङ्ग्य पत्रपत्रिकाको चलन पनि छँदैछ । यो सुखद पक्ष हो ।
साहित्य सिर्जनातर्फ निबन्ध विधामा हास्यव्यङ्ग्यको प्रयोग उल्लेख्य छ । यस्ता निबन्धमा व्यङ्ग्य आधारभूत पक्ष वा गुण बनेर रहेको हुन्छ । तिनलाई रोचक बनाउन हास्यको रङरोगन गरिएको हुन्छ । त्यसरी प्रयोग गरिएको हासोले रचनालाई अझ तिखो र प्रभवकारी बनाउन सघाउँछ । जहाँ हास्य र व्यङ्ग्यको सन्तुलन मिल्छ त्यहाँ उल्टो वा खराब बाटो हिँड्न थालेका व्यक्तिको मुखुन्डो र समाजका पर्दा उघ्रिन थाल्छन् । त्यसैले हास्यव्यङ्ग्य निबन्ध रमाइलो र त्यत्तिकै गम्भीर एवम् ज्ञानवर्द्धन पनि बन्छ । यो अवस्था निबन्धबाहेक कविता र नाट्य विधामा सफल देखिएको छ । फुटकर कथाहरूमा र लघुकथाहरूमा पनि उपयोगी देखिएको छ । व्यङ्ग्य गीत रचना पनि सफल छन् । अभिनय त यसै रमाइलो हुने नै भयो ।
व्यक्तिका उल्टा चरित्र वा समाजका अडवाङ्गा परिस्थितिलाई चिन्तनप्रधान निबन्ध वा अन्य साहित्य र कला सिर्जनाले मात्र प्रकाश पार्न सक्तैनन् । त्यस्तो अवस्थामा व्यङ्ग्यले हास्यलाई रोचक बनाउँदै एकै साथ रमाइलो बौद्धिक सामथ्र्य प्रदान गर्ने सिर्जनात्मक राजमार्गको खोजी सर्जक आफैले गर्न थाल्छन् । विशिष्ट समीक्षाशास्त्री वासुदेव त्रिपाठीका अनुसार व्यङ्ग्यविनाको हास्यमा असङ्गतिको चित्रण र संशोधनको शक्ति रहँदैन भने हास्यविनाको व्यङ्ग्य आक्रमण ज्यादा बन्न गई साहित्य कम र अस्त्र ज्यादा हुने खतरा हुन सक्छ (२०३५, पृ. ४०) । यो चिन्तन साहित्येतर व्यङ्ग्य कला सिर्जनामा पनि त्यत्तिकै लागू हुन्छ । त्रिपाठीका अनुसार हास्यविना व्यङ्ग्य बढी विषाक्त, कटु र आक्रामक हुन्छ । त्यस अवस्थालाई रहास्यका प्रयोगबाट मधुर र आक्रमण भए पनि त्यसलाई रमाइलो बनाइन्छ । यस्तो प्रयोगले असङ्गति पनि रमाइलो र मीठो बनिदिन्छ । वास्तवमै यस्ता रचनामा न हास्यको प्रधानता सुहाएको देखिन्छ न व्यङ्ग्यको प्रधानता । जसरी पनि सन्तुलको खाँचो देखिन्छ ।
हास्यव्यङ्ग्य निबन्धमा हास्य र व्यङ्ग्य दुवै सहअस्तित्वमा हरन्छन् । यी दुवै पक्ष सैद्धान्तिक रूपमा पृथक् रहेर र अलग–अलग अस्तित्व सम्पन्न भएर पनि यिनीहरूलाई व्यङ्ग्य सिर्जनाले एकै ठाउँमा संयोजित रूपमा जोडेको हुन्छ । अलग कोणबाट हेर्दा हास्य भावसापेक्ष तत्त्वप्रधान हुने हुँदा ‘हास’ ब्युँझिएपछि हामी हाँस्छौं । यसका विपरीत बौद्धिक बोध सामथ्र्यबाट व्यङ्ग्य प्रकट हुन्छ । विकृति देखेर मानिस हाँस्न ढिला गर्दैन तर सोही कुरा देख्दा केही गम्भीर भएर त्यसबारे सोच्न थालेपछि त्यही सोचाइ वा चिन्तनबाट व्यङ्ग्यबोध गर्न थाल्छ । त्यसैले व्यङग्य सोचाइ वा चिन्तन क्रिया बनिरहेको हुन्छ । यो हास्यभन्दा बौद्धिक क्रिया हो । कुनै मानिस लडेको, उसले लगाएको लुगा च्यात्तिएको वा फोहोर लागेको देख्दा हामी पहिले हाँस्छौं । त्यसरी हाँस्नलाई त्यत्ति सोचिरहनु नै पर्दैन । त्यही विषयलाई लिएर सोचेपछि मात्र गम्भीर हुन्छौँ । कसरी फोहोर लाग्यो, कसरी च्यातियो वा चोट लाग्यो कि ? चोट गहिरो छ कि ? आदि प्रश्नसहित घटनाबारे सोच्छौँ । त्यसबेला बल्ल व्यङ्ग्यार्थ प्रकटमा आउँछ यस अर्थमा हाँस्नु हस भावको भावुकता हो यसमा केबल भावना र व्यङ्ग्यमा बुद्धितत्त्व वा विचारतत्त्व रहन्छ । अहिलेसम्म अभ्यास भएका मनोरञ्जनपूर्ण सिर्जनामा यी दुवै सन्तुलित रूपमा प्रयोग भएका ठाउँमा मात्र सिर्जना सफल भएका उदाहरण छन् । ती सिर्जना भैरव अर्यालका निबन्ध हुन् वा मदनहृष्ण श्रेष्ठ र हरिवंश आचार्यका मनोरञ्जनप्रधान कार्यक्रम हुन् । दुर्गा बरालका कार्टुन हुन् वा हरिभक्त वा भूपी शेरचनका मुक्तक । दिपकराज गिरीका चलचित्र हुन् वा मुन्द्रेको कमेडी क्लब । जहाँ सन्तुलन मिल्छ त्यहाँ अब्बल सिर्जना हुन्छ । बढी भन्दा बढी सन्तुलित हास्यव्यङ्ग्य सिर्जना हुन सके सम्बन्धित विधाका मत्र नभई विधाइतरका पाठक, दर्शक आदि भावक पनि कलातिर आकर्षित हुन थाल्छन् । यसरी सबैलाई तान्न सक्ने कला सिर्जना होस् भन्ने हाम्रो शुभेच्छा हो ।
-डा. रमेश शुभेच्छु