नेपाली साहित्यको पछिल्लो चरणमा लेखकले विषयवस्तुको चयन गर्ने क्रममा व्यक्तिका जीवनी केन्द्रमा पर्न थालेका छन् । आख्यान पढ्दा जीवनीपरक आख्यानको लहर देखिन्छ । काव्यदेखि महाकाव्यसम्म, कथादेखि उपन्याससम्म यो लहर बढ्दो छ । यस्तो सिर्जना सत्यतथ्यका नजिक हुने भएकाले यो रुचिकर पनि लाग्छ । आख्यानमा मात्र नभई कवितात्मक र नाट्य विधामा पनि यो प्रयोग रहेको छ । यस्तो प्रयोग बृहत् र बृहत्तर साहित्यिक विधा मानिने उपन्यास, महाकाव्य र नाट्यविधामा भएको पाइन्छ । जीवनीपरक लेखनको कुरा गर्दा नेपाली साहित्य जगत्मा जीवनीपरक लेखनको अवस्था के छ ? यसले साहित्यमा कस्तो प्रभाव पार्छ ? आदि जिज्ञासा अगाडि आउँछन् ।
उपन्यास, महाकाव्य र नाट्य विधाले यिनका शास्त्रीय मतअनुसारका नायकलाई खोजिरहेका हुन्छन् । त्यही मूल्यअनुसारका विषयवस्तु खोजिरहेका हुन्छन् । त्यस क्रममा लेखकले विषयवस्तु र नायकको सन्तुलन भेट्न निकै अध्ययन गर्नुपर्ने हुन्छ । झट्ट विषय र नायक नभेटेका बेला लेखकले कसैको वा आफ्नै जीवनीलाई लेखनको आधार बनाउँछन् । यो क्रम लैनसिंह बाङ्देलको रेम्ब्रान्ट (२०२३) उपन्यासदेखि विकसित देखिन्छ । मञ्जुलको छेकुडोल्मा (२०२६), ध्रुवचन्द्र गौतमको बाढी (२०५६), प्रदीप नेपालको एक्काइसौँ शताब्दीकी सुम्निमा (२०५८), गौतमकै घुर्मी (२०६३), कृष्ण धरावासीको आधा बाटो (२०५९) आदि औपन्यासिक कृतिलाई जीवनीपरक साहित्यका रूपमा चिन्न सकिन्छ । धरावासीले आधा बाटोको लोकप्रियताकै आधारमा दोस्रो खण्डका रूपमा पाण्डुलिपि उपन्यास प्रकाशन गरे । यो क्रम पौराणिक पात्र, ऐतिहासिक पात्र र कतिपय जीवित पात्रमाथि पनि चलिरहेको छ । त्यसै गरी नेपाली साहित्यका बृहत् उपविधाहरूमा महाकाव्यमा जीवनीपरक महाकाव्य रचनाको क्रम निकै बाक्लो छ । महाकाव्यकार लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ पनि महाकाव्यका पात्र बनेका छन् । गौतमबुद्धदेखि पुष्पलाल श्रेष्ठ, वी.पी कोइराला, मदन भण्डारी वासुदेव घट्टराई, धर्मराज थापा, पुष्पलता आचार्य, भद्रकुमारी घले आदि धेरै पात्रहरू महाकाव्यका नायक नायिका बनेका छन् । माधव वियोगीले जीवनीपरक महाकाव्य लेखनको अभियान नै चलाए । उनले छन्दशिरोमणि (२०६०), धर्मराज (२०६१), जगदम्बा (२०६२), जुरेली (२०६४), पुष्पलता (२०६५) जस्ता एकपछि अर्को महत्त्वपूर्ण जीवनीपरक महाकाव्य लेखे । उनले काल्पनिक कथामा आधारित महाकाव्य भन्दा यसै युगका कुनै पात्रका विषयमा महाकाव्य रचना गर्नु उपयुक्त हो भन्ने ठाने । उदयानन्दको पृथ्वीन्द्रोदय (१८४०, प्र.का २०६८) यसको एउटा उदाहरण हो । देवकोटाका महाराणा प्रताप (२०२४) र पृथ्वीराज चौहान (२०४९) पनि जीवनीपरक महाकाव्य नै हुन् । कुलचन्द्र कोइरालाको भीमसेन थापा (२०५९), गोविन्दप्रसाद भट्टराईको पृथ्वीमहेन्द्र (२०१७), उमानाथ शास्त्री सिन्धुलीयको मकवानी बाला (२०३५), दुर्गाप्रसाद अधिकारीको बालागुरु (२०५६), श्रीहरि फुयालको कर्मयोगी देवकोटा (२०६४), भुवनहरि सिग्देलको धरणीधर (२०५५), चन्द्रप्रसाद न्यौपानेको गौतमबुद्ध (२०५९) आदि जीवीपरक महाकाव्य हुन् । पछिल्लो समयमा पनि जीवनीपरक महाकाव्यहरू लेखिएका लेखियै छन् । यस क्रमले महाकाव्यका अपेक्षामा पर्ने विषयको महत्त्व, नायक नायिकाको महत्त्व स्थापनामा महाकविहरू चुकिरहेका छन् कि उठिरहेका छन् भन्ने प्रश्न ताजा बनेको छ ।
नेपाली नाटक परम्परामा पनि जीवनीपरक नाट्य लेखनको परम्परा निकै उल्लेख्य छ । बालकृष्ण समले भक्तभानुभक्त (२०००), अममरसिंह (२०१०), भीमसेनको अन्त्य (२०१२), मोतीराम (२०३३) आदि जीवनीपरक नाटक रचना गरे । यो क्रम नेपाली नाटकमा पछिल्लो समयसम्म रहेको छ । यहाँ परम्पराको सङ्केत मात्र गरिएको हो । बालकृष्ण समले जस्तै गरी पछिल्लो समयमा जीवनीपरक नाटक लेख्ने सत्यमोहन जोशीलगायतका जीवनीपरक नाटककारले नाट्य विधाको उचाई जोगाएर लेखे कि लेखेनन् यो प्रश्न पनि अन्वेषणीय छ ।
महाकाव्य र उपन्यासलाई हेर्दा व्यक्तिको जीवनी आफ्नै लेखनीमा र अरूको जीवनी लेखकका तर्फबाट लेखिएका छन् । केही रचना विशेषलाई लिएर महाकाव्य र उपन्यासतर्फ लेखेको भन्दा पनि लेखाइएको भन्ने आरोप पनि लेखकहरू खेप्तै आएका छन् । जीवित नायकलाई आफै खर्च गरेर गरिब लेखकलाई लेखाएको आरोप पनि छ । जे भए पनि जीवनीपरक विषयमा लेखन भने भइराखेको छ । यस्तो अवस्था फुटकर कथा, एकाङ्की, कविता काव्यमा पनि छ तर तिनको त्यति वास्ता गरिँदैन । बृहत् कृतिका हकमा लेखकले किन यसरी कलम चलायो भन्ने जिज्ञासा रहने भएर पनि बढी चर्चा भएको हुनुपर्छ ।
जीवनीपरक लेखनका केही फाइदा छन् । त्यस्ता फाइदाहरू कवि कल्पना भन्दा यथार्थमूलक विषयवस्तुले स्थान पाउनु, नायकले बाँचेको जीवनअनुरूपको पात्र र सन्देश सञ्चार हुनु, नायकमा परिनसकेका मानिसले आफूलाई परिष्कृत र आदर्श तुल्याउने प्रयास गर्नु आदि हुन् । यसका वेफाइदा पनि छन् । जीवन कालमै लेखेका कृतिमा लेखकको साधना र नायकको उच्च व्यक्तित्व वा नायकत्व भन्दा लेखक र नायकको सम्झौता छ भन्ने पाठकले सङ्का गर्ने र कृति नै नपढ्ने गरेका छन् । नेपाली साहित्यका वृहत् र वृहत्तर विधामा यो समस्या नहोस् । यस्ता विधा लेखनका क्रममा लेखकको थुप्रै श्रम, प्रतिभा र शिल्प खर्च भएको हुन्छ । त्यसरी आएका कृति सर्वमान्य, सर्व स्वीकार्य र सर्वग्राह्य बन्न सकून् भन्ने कामना आम पाठक र साहित्यिक शुभचिन्तकहरूको रहन्छ ।
-डा. रमेश शुभेच्छु