चिन्तु गिरी बहुमुखी ढङ्गले साहित्यमा समर्पित प्रतिभा हुन् । उनले सिर्जना, समीक्षा र सङ्गठन एवम् पत्रकारिताका बहुआयमबाट साहित्यसेवा गरिरहेका छन् । यहाँ उनको ‘किसानको पीडा’ शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले अधिकांश ग्रामीण भेगका किसानको लगानी र आम्दानीको अन्तरलाई समेट्ने प्रयास गरेको छ । -सम्पा. |
बाँझो किन राख्नु भनेर गंगारामले तीन रोपनी पाखा बारीमा मकै छरे । छरेकै केही दिनदेखि बाँदरले खोस्रेर खान थाले । बाँकी मकै उम्रेर बढ्दै गए । बुढाबुढी नै बाँदर धपाउन जान्थे ।
छोरो घरमा छैन ,बुहारीलाई एक्लै पठाउन भएन । केराउगेडे भएपछि दुम्सी लाग्न थाल्यो । दिनभरी बाँदर र रातभरी दुम्सी कुर्दा अनिदोले बूढाबूढी दुबै बिमारी भए ।
बुहारी माइत गएको बेला पर्यो ।बूढीलाई बढी नै चाप्यो ।बूढाले अस्पताल लिएर गए ।बिरामीलाई तीन दिन जति भर्ना गरेर राख्नुपर्ने भयो । चार दिनका दिन घरमा आए ।
अस्पतालमा रहेको बेलामा बाँदरको बथान आएर मकै सखाप पारेछ । त्यै पनि समेलसामेल पारे । भुत्याएर छोडाए । मकै जम्मा तीन पाथी आयो । आफ्नो दु:ख र खर्च सम्झेर गंगारामले पुर्पुरोमा हात राखेर मनमनै हिसाब गर्न थाले ।” बाँझो जोत्दा तीन दिन हली गोरु समेत सात हजार पाँच सय । मकै छर्दा दुई हल पाँच हजार । खेताला आठ जना पाँच सयको हिसाबले चार हजार । मल पाँच सय । जम्मा खर्च सत्र हजार । आमदानी तीन पाथी मकै थुक्क ! म किसान भन्दै टाउको समाउन थाले ।”