केशव नेपाल (वास्तविक नाम : निलप्रसाद नेपाल, २०२९ कार्तिक २२, सुपुत्रः भक्तकुमारी नेपाल र गणेशदत्त नेपाल) नेपाली साहित्यमा कलम चलाइरहेका प्रतिभा हुन् । शिक्षाशास्त्र संकायअन्तर्गत नेपाली विषयमा एम. एड. नेपाल शिक्षण पेसामा संलग्न छन् । हाल उनी श्री जाल्पा मा वि सुनकोसी ७ कोठेमा संलग्न छन् । उनी सुनकोसी क्याम्पस सुनकोसी ७, लामोसाघुमा प्राध्यापन पनि गरिरहेका छन् । उनको छुट्टै कृति प्रकाशन नभए पनि विभिन्न संघसंस्थामा संलग्न रहेर र स्वतन्त्र रूपमा साहित्यसेवा गरिरहेका छन् । उनका लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘भरिया’ शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले देशमा परिवर्तन आए पनि त्यो केही मुठीभरका मानिसका लागि मात्र आएको र आम जनताको जीवनस्तर सुधार हुन नसकेको भाव अभिव्यक्त छ ।
-सम्पा. |
कामको खोजीमा उभिरहेको आइतमानलाई कसैले हकारेको आवाजमा करायो , “ ए भरिया भारी बोक्छौं ?”
फरक्क फर्किएर हेर्दा त परिचित मुखिया कम्रेड रहेछन् । निकै सुकिलो पोसाकमा सजिएका थिए ।
सानै हुँदा उनी जनवादी गीतमा राम्रो नाच्थे । परिवर्तनका कुरा गर्थे । क्रान्तिका कुरा गर्थे । आफ्नो सबै काम आफै गर्थे । अहिले उनको लुवाई खुवाई , रहनसहन र दैनिकी परिवर्तन भएका छन् ।
“के को भारी हो ? ” आइतमानले सोध्यो ।
“यो गणतन्त्रको भारी हो कम्रेड ! ” उसले आफ्नो अनुहार भयभीत पार्दै भन्यो ।
” अब यो भारी बोक्नु छैन ।” आइतमानले पनि रिसालु स्वरमा जवाफ दियो ।
” किन तिमीलाई गणतन्त्र मन पर्दैन ?” कम्रेडले सोधे ।
आइतमान मौन बस्यो ।
“समाजवाद ?” कम्रेडले फेरि झटारोले फल झार्नै खोज्यो ।
“भो पर्दैन ।” आइतमान खुम्चिदै भन्यो ।
“पहिला पहिला तिमी र हामी मिल्दा एकै वर्गका थियौँ । तिमी पनि गरिब , हामी पनि गरिब । गणतन्त्रपछि तिमी मोटायौ। तिम्रा घरबार दरबारमा रुपान्तरण भए। तिम्रो चिनियाँ आर्मी बुट र गोल स्टार जुत्ता अब चिल्ला मोटरमा बदलिए । मेरो नाम्लो उस्तै छ । फेरियो त सिर्फ मूल्य ! म त उस्तै छु । तिम्रा छोरा वासिङ्टन सहरमा होलान् । कम्रेड , तिम्रा गणतन्त्र र लोकतन्त्रले ल्याएको यति हो ।”
“जीवन त परिवर्तनका लागि हो नि ! ” कम्रेडले थपे ।
आइतमानलाई निकै रिसले चुर्यायो ” भो नकराऊ तिमी ! म जस्ताको रगत ,पसिना ,आँसु ,चुसेर मोटाएको कुरूपताको घाउले ठसठसती गन्हाएका छौ। ´´
कमरेड मुखियाले हकारे , “ तँ आफैँ झन गन्हाएको छस् । ´´
आइतेमानले जोशका साथ भन्यो , “ हो म पनि गनाएको छु तर श्रमको पसिनाले । ´´