खेमराज पोखरेल प्रवासमा रहेर निरन्तर नेपाली भाषासाहित्यका क्षेत्रमा सेवा गरिरहेका प्रतिभा हुन् । उनको परिचय सहित्यसागरमा समेटिइसकेको छ । उनका केही कृतिको समीक्षा पनि छापिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको ‘हराएको कथा’ शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले जन्मदिनको विषयलाई निकै रोचक ढङ्गले प्रस्तुत गरेको छ । -सम्पा. |
किन नक्कली देख्छु त्यो ऐना ?
काँसघारी पो छ त मेरो टाउको । अमिनको नक्सा पो छ त मेरो अनुहार । कोटेरोको गुँड बनायो मेरो छाला । दन्तले द्वार बढायो । आँखामा पावर देखायो ।
लेख्दालेख्दैको मेरो आफ्नै कथा सकिएन । किबोर्डबाट औँला झिकेँ ।
शरीरको ऐया आथो । मनको भाँडभैलो । रित्तो छु । सोचमग्न भएको छु ।
बिनापैसा अर्ती सुरु भो ।
जेठो भाइ दिमागले भन्यो ‘कथाको कुरा छोड्, जिन्दगीका बारेमा सोच् । जिउ बाँचे मात्र घिउ खान पाइन्छ ।’
माइलो भाइ हृदयले भन्यो ‘कथाको कुरा छोड, परिवारमा प्रेम पन्पा, प्रेमबिनाको के जीवन ?’
साइँलो भाइ पेटले भन्यो ‘कथा छोड् । पहिले पचाउन प्रयत्न गर् । पचेन भने तैँ पच्लास् ।’ ।
कान्छो भाइ पेटमुनिले भन्यो ‘कथा छोड्, वास्तविकतामा आइज । उमेर सञ्चित हुन्न । कुण्ठै भए पनि कुम्ल्या ।
यसरी सबैले रिँगाए । थेचारे । सतोसत मेरो कथा हरायो ।
‘होइन हौ ! म के गरूँ ? मेरो आफ्नै कथा हरायो ।’ मेरो प्रश्न तपाईंलाई ।
‘केको कथा लेख्छस् अब ? दिमाग कि हृदय ?, पेट कि पेटमुनि ?, आफ्नो कि परायाको ? दायित्वको कि प्रेमको ? देश कि परदेशको ? पृथ्वी कि अन्तरिक्ष को ?’ तपाईँको कडा प्रतिप्रश्न ।
‘था‘छैन । सायद सबै ।’ मेरो लोभ ।
‘कथा लेखेर कहाँ पुग्छु भनेझैँ लाग्छ तँलाई ?’ जटिल प्रश्न मलाई ।
‘था‘छैन । सायद धेरै माथि ।’ मेरो लालसा ।
‘कति माथि ?’
‘था‘छैन । सायद असीमित ।’ म अन्योलमा ।
रातको १२:०० ।
२०८० सालको भदौ ३ गते ।
एउटा छायाँ बन्द झ्यालबाट पस्यो र भन्यो ‘खेम ! ६७ औँ जन्मोत्सवको शुभकामना । तेरो आफ्नो कथा मात्र तेरो हो । अरू मिथ्या हुन् । अधुरो नछोड् । लेख्न थालिहाल् । स्वाँठ ! शुभ कामलाई केले छेक्छ र ?’