भानुभक्त आचार्य नेपाली साहित्यकार मात्र नभई नेपालका गौरव गर्न लायक राष्ट्रिय विभूति हुन् । उनको योगदानलाई श्लोक बाच्न सक्ने बुढापाकामा मात्र सीमित गरिनु हुन्न । साहित्यिक अभिरुचि भएका मानिस र साहित्यकारमा मात्र पनि सीमित गरिनु हुन्न । उनको योगदानलाई देशव्यापी रूपमा र अन्य नेपाली भषा बोलिने मुलुकमा पनि उजागर गरिनुपर्छ । नेपाली सांस्कृतिक परम्परामा भनुभक्त आचार्यको विस्तार अनेक ममुलुकमा भइरहेको छ । त्यसो भए पनि भानुभक्तलाई बालबालिकाबिच उचित ढङ्गले चिनाउन सकिएको छैन । भानुको योगदानलाई नवपुस्तामाझ उनको स्पष्ट योगदानका साथ चिनाउन आवश्यक छ ।
पुराना पाठ्यपुस्तकमा र केही नयाँमा पनि भानुभक्तको रामायण अनुवाद हो भनिएको छ । वास्तवमा भानुभक्तीय रामायण अनुवाद नभई रायणको कथा ग्रहण गरी सरसरती लेखिएको मौलिक महाकाव्य हो । हामीले उनको यस कृतिबाटै नेपालीपनसहितको शास्त्रीय भाका प्राप्त गरेका थियौँ । यस विषयमा अनावश्यक भ्रमहरू हटाइ नवपुस्तामा तथ्यपरक कुराहरू सिकाउनुपर्छ । उनका फुटकर कवितामा भएको र काव्य एवम् महाकाव्यमा भएको दर्शनलाई जे हो त्यसै रूपमा र समयसापेक्ष रूपमा सिकाउनुपर्छ ।
भनुभक्तका फुटकर कविताहरू समसामयिक मूल्यचेतनाले सम्पन्न छन् । उनको बधुशिक्षा कृतिलाई र यसमा पनि बधुशिक्षाभित्रका केही अंशलाई लिएर भानुभक्तको वदनाम गर्न खोजिँदैछ । हामीले त्यो रचना पढिरहँदा तत्कालीन समाजका समस्या र तत्कालीन बालिका शिक्षाको नमुना कृतिका रूपमा चिन्न र चिनाउन सक्नुपर्छ । यस कृतिलाई हेरेर तत्काल समाजमा नारीलाई यसरी हेरिँदो रहेछ भनेर बुझे पुगिहाल्छ । उनका प्रश्नोत्तर र भक्तमाला पनि दार्शनिक चेतनासहितका काव्यकृति हुन् । तिनको केही मूल्याङ्कन भएको र केही बाँकी पनि छ । तिनको सही मूल्याङ्कन गरेर नव पुस्तालाई भानुभक्तलाई विवादित होइन अभिप्रेरक जीवनी र बौद्धिक एवम् उपयोगी सामग्रीको मात्र जानकारी दिन आवश्यक छ ।
ऐतिहासिक दृष्टिले भनुभक्तपूर्व पनि कवि नभएका होइनन् । उनीपूर्व कविहरू भए पनि ती सबै कविमा भानुभक्तको जस्तो बहुआयामिक प्रखर काव्य क्षमता थिएन । महाकाव्य, खण्डकाव्य र फुटकरकवितत्वसहित आफ्नो युगमा उभिएको अग्लो धरहरा भएकाले भानुभक्त आदिकवि भए । उनको आदिकवि उपाधि कसैको निगाहा नभई उनकै साधनाको प्राप्ति हो ।
भानुजयन्ती स्वदेशमा भन्दा बढी वदेशमा मनाइन्छ । भारतको सिक्किम दार्जिलिङ, असम, मणिपुर आदि सबै ठाउँमा भानुजयन्ती मनाइन्छ । सिक्किम राज्यले त सार्वजनिक विदा नै दिन्छ । युरोप अमेरिकाका विभिन्न चोकमा भानुभक्तका प्रतिभा बनेका छन् । यसरी हेर्दा भनुभक्त नेपाली साहित्यका मात्र होइन नेपाली संस्कृतिका साझा प्रतीक हुन् । उनका योगदान र त्यसबाट विस्तारित सांस्कृतिक विस्तारलाई पनि नयाँ पुस्तासमक्ष बुझाउन आवश्यक छ । भानुभक्तको नन्तराष्ट्रिय र राष्ट्रिय प्रभावलाई हेरेर भर्खरैदेखि नेपालको गण्डकी प्रदेशले सार्वजनिक विदा दिन थालेको छ । यस दिनलाई राष्ट्रिय स्तरमै सार्वजनिक विदा घोषित गरिदिए पनि फरक पर्दैन ।
अधिकांश विद्यालयले भानुजयन्तीका दिन विशेष कार्यक्रम गर्ने भएकाले विद्यार्थीहरू भानुभक्तबारे परिचित हुन्छन् तर उनीहरूलाई वास्तविक भानुभक्तको परिचय दिन सकिइरहेको हुँदैन । उनीहरूले भानुजयन्तीलाई कविता पढ्ने पर्वका रूपमा मात्र हेरिरहेका हुन्छन् । यस्तो यान्त्रिक चिनाइ र बुझाइबाट नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्न सकिँदैन । उनीहरूले भानुभक्तका प्रेरणाबाट साहित्य सिर्जना नै गरेनन् भने पनि विशिष्ट प्रतिभाको सांस्कृतिक महत्त्वका विषयमा पुगेको योगदान ठम्याउन सक्छन् । यसतर्फ सबैको चासो जान आवश्यक छ ।
भानुभक्तलाई नवपुस्ताबिच पुर्याउनुपर्छ भन्ने उद्देश्यका साथ भ्याली भ्यु स्कुल काठमाडौँले आफ्नो प्राङ्गणमा गरेको उपत्यकाव्यापी कविता प्रतियोगितामा सहभागी कविका कवितालाई साहित्यसागरको प्रस्तुत शृङ्खलामा प्रस्तुत गरिएको छ । यी सबै भविष्यका भानुभक्तलाई निरन्तर सिर्जनशीलताको शुभकामना !
-डा. रमेश शुभेच्छु