दिल पौडेल (२०२८ साल पौष १० गते शनिबार, सिन्धुली जिल्लाको साविक लदाभिर ३, हा हालको दुधौली नगरपालिका ७) कत्लेखोला, सुपुत्र: धनबहादुर पौडेल र चन्द्रकुमारी पौडेल) नेपाली साहित्यका सर्जक एवम् साहित्यसेवी प्रतिभा हुन् । पौडेल कविता विधामार्फत् नेपाली साहित्यमा प्रवेश गरेका हुन् । २०४७ सालमा मकवानपुर जिल्लाको हेटौँडाबाट प्रकाशित हुने ‘वर्चश्व मासिक’ पत्रिकामा उनको ‘सकिन’ शीर्षकको पहिलो कविता प्रकाशित भयो । यही कविताबाट प्रकाशन यात्रा आरम्भ गरेका पौडेलको अधुरो जिन्दगी (२०५०) उपन्यास, केही नेपाली साहित्यिक कृतिहरूको अध्ययन समीक्षा, प्रजातन्त्र हाइकुसङ्ग्रह (संयुक्त लेखन), कात्रोमा मेरो देश कवितासङ्ग्रह, अचानो मन गजल, काउसो जून हाइकुसङ्ग्रह आदि प्रकाशित छन् । उनी साहित्य सिर्जनासँगै विभिन्न कृतिका प्रकाशक र संस्थाहरूमा साङ्गठनिक रूपमा पनि सक्रिय छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘कथनी र करणीमा’ बोलको गजल समेटिएको छ । यस रचनाले वर्तमान समाजका विसङ्गत पक्ष उद्घाटन गरेको छ ।
-सम्पा. |
कथनी – करणीमा सधै फरक परेकै छ,
बामपन्थीहरूले गेरु वस्त्र धरेकै छ
सुग्रीब महाराजका वानर सबै काजी भए,
बार्दली बाजेले नि रामनामी जप गरेकै छ
गोरु व्याएको विश्वमा, कसैलाई थाहै छैन,
तेस्कै बिगौती तताई, नेताले घिऊ खारेकै छ
रब्बर मेरुदण्ड भएका, सोपानतन्त्र छ,
बॅाकटे हानेर कर्मचारीले, टुकुचा तरेकै छ
वल्लो घाट न पल्लो तीर भए- पिछडा वर्ग,
टोकनतन्त्रमा छिमेकीले सिमा सारेकै छ
सत्ता साझेदार सधै नाफाखोर व्यापारी मात्रै,
भिड्ने कि भाग्ने जनता ?- सधै ओरालो झरेकै छ
सिन्धुली नेपाल ।