पूर्वीय दृष्टिमा साहित्यलाई एकै शब्दमा काव्यशास्त्र भनिएको छ । साहित्यशास्त्रलाई यसका बहुविध पक्षभन्दा पनि केवल काव्यशास्त्र भनेर चिनाइएको छ । प्रारमभमा काव्यशास्त्र मात्र भनिए पनि क्रमशः श्रव्यकाव्य र दृश्यकाव्य भनेर चिनाउँदै आइयो । पछि क्रमशः तिनका उपविधाहरू विकास भए । पाश्चिमी काव्यशास्त्रका दृष्टिमा साहित्यको प्रकार अर्थात् विधा (genre) छुट्याउने प्रचलन पूर्वभन्दा फरक ढङ्गले विकास भयो । पाश्चात्य साहित्यिक विधाको विकास पूर्वीय काव्यशास्त्र भन्दा अलि फरक देखियो । यो एक किसिमको रौँचिरा वर्गीकरण थियो । यसै वर्गीकरणको मूल्यलाई आज फरक देखिन थालेको छ । यसले केही प्रश्न पनि उब्जाएको छ ।
पश्चिमी साहित्यशास्त्रका विधा उपविधालाई आजका सिर्जनाले विधागत आदर्श भन्दा शैलीपरक आदर्शका नजिक स्वरूप बनाइराखेका छन् । विधागत आदर्शहरू विस्तारै कमजोर बन्दै गएका छन् । विधाका सन्दर्भमा फरक स्वरूपको प्रयोग विकास हो कि ? साहित्यको क्षयीकरण हो कि ? साहित्यले केही नयाँ शैली खोजिरहेको हो ? यी प्रश्न हाम्रासामु निकै बलियो गरी उभिइरहेका छन् ।
आज लेखिइरहेको साहित्यको विधा छुट्याउका लागि प्राचीन ग्रिसेली वा रोमेली मान्यता प्रयात्प छैन । अप्रयाप्त भए पनि यसलाई पश्चिमाहरूले उही परम्परामा महत्त्व दिइरहेका छन् । यता पूर्वीय आचार्यहरूले पनि श्रव्य र दृश्य विधा र तिनका शैली, रीति, वक्रोक्ति, रस, अलङ्कारका साथै विधागत उपयोगिताको पक्ष उठाइरहेका छन् । आजका सिर्जनामा ती पूर्व र पश्चिमका चिन्तनअनुरूप विषयवस्तु र अन्य तत्त्व केलाउने आधार कमजोर बन्दै गएका छन् । कविता र नाटक विधाको रस गद्य विधाले पनि दिन थालेको छ । कविता विधामा अपेक्षित रीति र वक्रोक्ति आख्यान, नाटक र निबन्धमा पनि उपयोग भइरहेका छन् । नाटकको संवादात्मक शैली कविता र अन्य विधाले पनि लिइरहेका छन् । गति, यति र लय आख्यानमा पनि उपयोग भइरहेको छ । गीतिनाटक, नाट्यकाव्य आदिको अभ्यास भएको धेरै भइसक्यो । यस आधारमा अब प्राचीन आधार मात्र मानक बनिरहन सकेका छैनन् । सिर्जनात्मक अभ्यासगत दृष्टिकोणअनुसार साहित्य जुनसुकै लेखे पनि विधा जुनसुकै भए पनि माध्यम सबैको भाषा नै हो । भाषाका माध्यमबाट विचार प्रस्तुतीकरणका आधारमा विधा छुट्टिइहाल्दैन ।
सूक्ष्म दृष्टिले हेर्दा आज विस्तारै कृतिको संरचनात्मक ढाँचा भन्दा पनि शैली नै विधा छुट्याउने आधार बनिरहेको छ । हास्यव्यव्यङ्ग्य निबन्ध, संस्मरणात्मक निबन्ध, आत्मकथातमक निबन्धमा तत्व भन्दा पनि शैली नै प्रधान छ । मुक्त लयढाँचा र बद्ध लयढाँचाका कविता भिन्न उपविधा जस्ता देखिन्छन् । हुन त शास्त्रीय, लोक वा मुक्त लयढाँचा जुनसुकैमा लेखिए पनि कविता त कवितै हो नि । काव्यनाटक, गीतिनाटक र नाटकहरू फरक जस्ता देखिँदैछन्, तर यी सबै नाटक नै हुन् । यी उपविधागत शैलीलाई हेर्दा भाषामा शैली अभिव्यक्तिको ढाँचा विशेष हो । यस पक्षलाई हेर्नका लागि शैलीविज्ञानको अवधारणा भाषाविज्ञान र साहित्यशास्त्र दुवै क्षेत्रमा प्रचलित छ । साहित्यिक विधाहरूको निर्माण प्रक्रियामा पनि शैलीविज्ञानमा पनि साहित्यशास्त्रमा आधारित भएर साहित्यको विश्लेषण गरिन्छ । यस आधारमा किन वहस हुन सकिरहेको छैन । भाषावैज्ञानिक, सर्जक र साहित्यशास्त्रीहरूको भेट किन एकै बिन्दुमा हुन सकिरहेको छैन ?
जुनसुकै पद्धति अवलम्बन गरिए पनि समीक्षाका क्रममा साहित्यशास्त्र र भाषाशास्त्रको सिद्धान्तको आड लिइन्छ । यिनमा आधारित भएर भाषाको संरचना, प्रकृति र सङ्गठनको अध्ययन गरिन्छ । यस दृष्टिले हेर्दा आजका साहित्यशास्त्रीहरू सबै संरचनागत तत्त्वहरूकै वरिपरि घुमिरहेका छन् । उनीहरूको सिर्जनात्क सामथ्र्य सीमित भन्दा सीमित बनिरहेको जस्तो लाग्छ । यस्तो विकासको नयाँ सम्भावनाका लागि साहित्यका विधा र शैलीबारे साहित्यशास्त्री र भाषावैज्ञानिकका बिचमा वृहत् वहस हुन आवश्यक छ । हरेक विधा र तिनका उपविधामा विधागत भन्दा पनि शैलीगत पक्ष प्रधान देखिइरहेको छ । भाषासाहित्यको सहसम्बन्धगत पक्ष बुझ्न साहित्यशास्त्र छुट्टै र भाषाशैली छुट्टै भन्दा दुवैलाई संयोजन गर्दै सोहीअअनुसार विमर्शको खाँचो देखिएको छ ।
संरचनात्मक शैलीलाई बुझ्ने विभिन्न आधार हुन सक्छन् । कङ्कृटको कुरा गर्दा शालिक, दरबार, मन्दिर, मस्जित, घर, विद्यालय, इनार, ढल आदि निर्माण गर्ने तत्त्व उनै उनै हुन् । तिनको निर्माणको ढाँचा भने भिन्न भिन्न हुन्छ । काठ र कागज, पलास्टिक वा का वस्तुका सामग्रीमा पनि यस कोणको खोजी गर्न सकिन्छ । यस आधारमा साहित्यका विधा उपविधाका विषयमा पुनः बहस गर्नुपर्ने भएको छ । आजको विधा भञ्जन र विधा मिश्रणको अन्तर्य यही शैलीगत संरचनाका आधारमा खोजी गर्नुपर्ने भएको छ । झन्डै शताब्दीअगाडि लक्ष्मीप्रसाद देवकोटाले किन सुलोचना महाकाव्यलाई काव्यन्यास भने भन्ने पक्ष यही शैलीगत संरचनाको एउटा प्रारम्भिक जवाफ हो । लेखनाथ पौड्यालले तरुणतपसीलाई किन महाकाव्य नभनेर नव्यकाव्य मात्र भने भन्ने पक्ष पनि यही हो । यी उपविधा हुन् भने तिनको किन उत्तरोत्तर विकास हुन सकेन ? यी पक्षको जवाफ भाषावैज्ञनिक, सर्जक र समीक्षक एकै ठाउँमा बसेर अध्ययन गर्ने हो भने साहित्यशास्त्रीय विधाभन्दा शैलीगत विधा बलियो हुन सक्ने सम्भावना छ ।
-डा. रमेश शुभेच्छु