गोवर्द्धन पूजा प्रवासमा रहेर पनि नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । उनले नेपाली साहित्यका विविध विधामा कलम चलाएका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वर्तमान अध्यक्ष पूजाको यहाँ सारभूत परिचयसहित उनको एउटा गीति रचनालाई समेटिएको छ । यस रचनामा निकै गहिरो जीवनबोधी चेतना अभिव्यक्त छ । लेखकले आफ्नो प्रवास बनाइका क्रममा स्वदेशलाई छोडिगएको एउटा पीडालाई पनि प्रतिविम्बन गर्दै अविधा अर्थमा जीवनका उहापोहलाई देखाएका छन् ।
-सम्पा. |
पर कतै छोडी आएँ मेरो जिन्दगी
नाता साइनो तोडी आए मेरो जिन्दगी
के पाएँ खोइ, के गुमाएँ, उस्तैउस्तै छु म
मिठो रहर जोडी आएँ मेरो जिन्दगी
यता घाम उदाउँदा उता तारा झर्छ
चढ्छु भन्छु शिखर सधैँ पर पर सर्छ
बग्दै आऊ न कोशीकाली समुद्रलाई भेट्न
तर पनि मूलकै पानी खोज्छ प्यास मेट्न ।
बाटो कतै मोडी आएँ मेरो जिन्दगी
नाता साइनो तोडी आएँ मेरो जिन्दगी
हिँड्दा हिँड्दै गन्तव्य नै पर पर भाग्ने
सपनाको रङ्ग पनि फुस्रो फुस्रो लाग्ने ।
पुग्छु कि त गन्तव्यमा भन्ने शङ्का लाग्छ
सत्य सत्य धरोधर्म अत्यास मात्रै जाग्छ
सिङ्गो भाग्य फोडी आएँ मेरो जिन्दगी
पर कतै छोडी आएँ मेरो जिन्दगी ।
बोस्टन, अमेरिका