नेपाली भाषा, साहित्य र वाङ्मयका क्षेत्रमा मौलिक सिद्धान्तहरूको अभाव छ । हामी कि त संस्कृत सिद्धान्तहरू उपयोग गर्छौं कि त अङ्ग्रेजी वा हिन्दी सिद्धान्तहरूले काम चलाइरहेका हुन्छौँ । यो हाम्रो बौद्धिक आत्मविश्वासको कमी हो । त्यसो भए पनि केही अग्रजहरूले मौलिक सैद्धान्तिकीकरणको प्रयास गरेका छन् । ती पक्षलाई हामीले आफ्नो बौद्धिक सम्पत्तिका रूपमा सम्झन आवश्यक छ ।
नेपाली साहित्य एवम् वाङ्मयका बौद्धिक परम्परामा झर्रोवादी आन्दोलन मौलिकताको खोजी गर्ने उल्लेख्य प्रयास थियो । त्यस आन्दोलनको सैद्धान्तीकरण भन्दा पनि प्रयोगमा आउने आगन्तुक शब्दको नेपालीकरण प्रयास स्मरणीय छ । यस परम्परामा नेपाली भाषाका विशिष्ट समीक्षकहरूले केही प्रयास गरेका छन् । नेपाली साहित्यमा उत्तरआधुनिकताको प्रवेशसँगै अनुवाद, मौलिकीकरण र सैद्धान्तीकरणभन्दा बढी आगन्तुक शब्दलाई र सिद्धान्तलाई पनि जस्ताको तस्तै लिने प्रचलन बढेर आयो । डायस्पोरा, ट्रमा, सबार्ल्टन, डिकन्ट्रक्सन, जेन्डर आदि यसका उदाहरण हुन् ।
मोहनराज शर्माले नेपाली साहित्यमा भित्रिएको उत्तरआधुनिकतावादी समीक्षा परम्परामा अधिकतम मौलिक शब्द निर्माण र मौलिक सैद्धान्तीकरणको प्रयास गरेका छन् । यस प्रयासस्वरूप उनले ‘सबार्ल्टन स्टडी’लाई ‘अवरजन अध्ययन’ भनेका छन् । उनले ‘अवरजन अध्ययन र साहित्य’ शीर्षकको लेखमा यस विषयमा निकै विस्तृत व्याख्या गरेका छन् । यो लेख उनको पछिल्लो कृति समालोचनाका नयाँ कोण (२०७८) मा समेटिएको छ ।
शर्माले सबाल्टर्नका समानार्थीका रूपमा ‘अवरजन’ शब्द प्रयोग गरेका हुन् । ‘अवरजन’ शब्दको व्युत्पत्ति तथा व्युत्पत्तिगत अर्थ यसप्रकार छ : अ ‘न’ प्रत्यय ‘उच्च– श्रेष्ठ’ विशेषण + जन ‘मानिस’ नाम अवरजन ‘तल्लो (न) मानिस’ । यसरी हेर्दा ‘अवरजन’को ‘तल्लो मानिस’ भन्ने अर्थ लाग्छ । शर्माले यस पदलाई सबाल्टर्नको निकट अर्थ दिने पदका रूपमा प्रयोग गरेका छन् । यसलाई पारिभाषिक पदकै रूपमा परिभाषित पनि गरेका छन् । उनले सामाजिक, आर्थिक र राजनीतिक दृष्टिले तल्ला दर्जाको अधीनस्थ समूह, समुदाय वा व्यक्तिलाई सम्बोधन गर्ने पदका रूपमा यस पदलाई चिनाएका छन् । उनले ‘अवरजन’ शब्दले अन्य शब्द व्युत्पादन गर्ने क्षमता राख्ने उदाहरण पनि अवरजनिक, अवरजनीय, अवरजनीयता अवरजनत्व आदि उदाहरणबाट देखाएका छन् ।
शर्माले नेपाली भाषामा पाइने अधीनस्थ, अशक्त, आवाजहीन, इतिहासविहीन, उत्पीडित, उपेक्षित, गरिब, दबिएको, दमित, दलित, निमुखा, निर्धो, पिछडा, मातहतको, विपन्न, शासित, शोषित, श्रमिक, सर्वहारा, सीमान्तकृत, प्रभुतारहित (पृ. ८६) जस्ता पद समानान्तर अर्थ दिने पद भएको बताएका छन् । यतिका पद हुँदाहुँदै हामीले सबार्ल्टन शब्द नै प्रयोग किन गरिरहने ? मौलिक शब्द र अर्थको खोजी र प्रयोग किन नगर्ने ? भन्ने पक्ष नै मूलतः यहाँ उजागर भएको छ ।
साहित्यमा अवरजन अध्ययन तल्ला पात्रका आधारमा कृतिको समीक्षा गरिने पद्धतिगत आधार हो ।
सम्भ्रान्त वर्गका हर्कतको भण्डाफोर यस अध्ययनको मूल उद्देश्य हो । ग्राम्चीले माथिबाट नभई तलबाट इतिहासको पुनर्लेखन गर्ने दृष्टिकोण अगाडि सारेका थिए ।
यो प्रसिद्ध चिन्तक एन्टोनियो ग्राम्चीका सिद्धान्तबाट प्रभावित भएर इतिहासको पुनर्लेखन गर्न १९८२ मा पिछडाहरूको अध्ययन समूह (सबार्ल्टन स्टडिज ग्रुप) स्थापित भएपछि चर्चामा आएको हो । यसको विकासमा सबार्ल्टन स्टडिज ग्रुपका एरिक स्ट्रोक्स, डेभिड आर्नोल्ड, दीपेश चक्रवर्ती, पाश्र्व चटर्जी, रञ्जित गुहा, सुदीप्त कविराज, ज्ञानेन्द्र पाण्डे, ज्ञान प्रकाश, एडबर्ड सइद, सुमित सरकार, अजय स्कारिया, गायत्री चक्रवर्ती स्पिभाक, सरोजिनी साहू आदिको भूमिका देखिन्छ ।
साहित्यमा प्रयुक्त तल्ला दर्जाका पात्रहरूको सामाजिक, आर्थिक, राजनीतिक जीवन, अवस्था, स्थिति, परिस्थिति आदिको अध्ययन र विश्लेषण गर्न यस अध्ययन पद्धतिका सूत्रहरू कामलाग्दा छन् । सत्ता, शक्ति र प्रभुताका आधारमा केही खास पात्र वा समूहले विभेदकारी शक्तिका रूपमा अरूलाई दवाउने कृत्यको अध्ययन यसले गर्दछ । सम्भ्रान्त वर्गका हर्कतको भण्डाफोर यस अध्ययनको मूल उद्देश्य हो ।ग्राम्चीले माथिबाट नभई तलबाट इतिहासको पुनर्लेखन गर्ने दृष्टिकोण अगाडि सारेका थिए । यसै आधारमा समीक्षाका क्रममा किनारामा रहेका तल्ला पात्रहरूका कोणबाट साहित्यिक कृतिको अध्ययन एवं विश्लेषण गर्ने विचार अगाडि सारेका थिए र यसको विकास पनि भएको छ । प्रायः कृतिमा यस्तो अध्ययन गर्न उभ्याउनु पर्ने पात्रहरू गौण भूमिकामा भेटिन्छन् । उनीहरूको भूमिकाको गौणताले उनीहरूसँग सम्बद्ध तथ्य र समस्या पाठकका नजरमा छाया परिरहेका हुन्छन् । कृतिभित्र छरिएर रहेका त्यस्ता पात्रको जटिल समस्या वा मनोविज्ञानलाई तथ्याङ्कका रूपमा लिई त्यसको प्रतिनिधित्व गर्ने गौण पात्रका कोणबाट कृतिको विश्लेषण गर्ने आधार यस सिद्धान्तले प्रदान गर्दछ ।
साहित्यको अवरजन अध्ययन निकै जटिल विषय हो । यो समाजका पछाडि पारिएका व्यक्ति वा समूहको विश्लेषण गर्ने आधार हो । यसलाई सांस्कृतिक अध्ययनअन्तर्गत राखेर अध्ययन गर्न सकिन्छ । यसको निकट सम्बन्ध मार्क्सवाद र उत्तरउपनिवेशवादसँग पनि रहेको छ । नेपाली साहित्यमा यस अध्ययनको उपयोग प्रशस्त मात्रामा हुन सक्ने देखिन्छ । अवरजन अध्ययनका रूपमा नेपाली साहित्यमा सबार्ल्टनको परिभाषा र यसका समानान्तरको अर्थको खोजीबाट मोहनराज शर्माले लगाएको गुन नेपाली साहित्य जगत्मा रहिरहने छ ।
–डा. रमेश शुभेच्छु