बालसाहित्य बालबोध्य साहित्य हो । जतिसुकै चित्र राखे पनि जतिसुकै रङ्गीन आवरण र भित्री पेज बनाए पनि त्यसको भाषा बालबोध्य भएन भने त्यो बालसाहित्य हुँदैन । बालबोध्य भाषा र त्यस्तै रोचक शैलीले मात्र होइन बालखुराकले मत्र बालसाहित्यलाई बचाउँछ ।
नेपाली बालसाहित्य परम्परालाई हेर्दा धेरै लेखकले यसको मर्म नबुझी बालसाहित्यका नाममा कृति छापिरहेको देखिन्छ । बालकथा, बालकविता, बालनाटक, बालउपन्यास भनिएका सबै कृति बालसाहित्य देखिँदैनन् । कुन उमेर समूहका लागि लेखिएको हो भन्नेसम्म एकीन गरेर मात्र बालसाहित्य सिर्जना गर्नुपर्छ । बालसाहित्य सिर्जनाका लागि विषय मात्र भएर पुग्दैन । त्यस विषयलाई थुप्रै चरण प्रशोधन गरेर र थुप्रै पक्ष संयोजन गरेर मात्र बालसाहित्य बनाउन सकिन्छ ।
बालसाहित्य मनोरञ्जनमा मात्र पनि केन्द्रित हुनुहुँदैन । देशको नवनिर्माणका उद्देश्य पनि यसमा गर्भित हुनुपर्छ । समाजमा रहेकासामन्ती सोच, रुढिवादी संस्कार, विचार र व्यवहारलाई अप्रत्यक्ष रूपमा परित्याग गर्ने चेतना पनि संयोजन गर्नुपर्छ । लोकतान्त्रिक मूल्य बरु किशोर साहित्यमा मात्र समेटे पनि हुन्छ तर त्यसको पूर्वाभास, सामाजिकता र सामाजिक न्यायका बहुल पक्षमध्ये केही न केही बालसाहित्यले समेटेको हुनुपर्छ । पाठकको स्वच्छ बौद्धिक क्षमता निर्माणका साथै सभ्य समाज निर्माण गर्नका लागि चाहिने विचार, संस्कार र व्यवहारको पनि अपेक्षा रहन्छ । हाम्रा बालबालिका हाम्रो भाषामा कार्टुन नबनाइदिनाले र प्रयाप्त उमेर एवम् मनोविज्ञानअनुसारको पठन सामग्री नदिनाले आयातीत संस्कृतिका भरिया बन्न थालेका प्रति सचेत हुनुपर्छ ।
बालसाहित्य चित्र भएको छोटो रचना मात्र होइन । यो लेखकले जानेजति कुराको प्रदर्शन गर्ने ठाउँ पनि होइन । यो प्राविधिक तर सिर्जनात्मक लेखन हो । व्यक्तित्व र समाज प्रवद्र्धन गर्ने खालका मूल्यमान्यता सिकाउने अस्त्र हो । यस अस्त्रबाट बालसाहित्यकारले बालबालिकामा हुर्काउनु, बढाउनु पर्ने संस्कार र मूल्यमान्यताहरू नजाँनिँदो गरी कलामा घोल्न सक्नुपर्छ । बेलायती बालसाहित्यका लेखकहरूले यस पक्षलाई निकै मसिनो गरी समेटेका छन् ।
हरेक बाल पाठ्य सामग्रीले बालबालिकामा उत्साह भर्न आवश्यक छ । सिर्जनाका नायक नायिकाका कोणबाट र अन्य कोणबाट पनि आत्मसम्मान जगाउने प्रयत्न भएन र निरासा विकास गर्यो भने त्यो बालसाहित्य घातक हुन्छ । बालसाहित्य सिर्जनाले सहअस्तित्व, मेलमिलाप, आपसी सहयोग र सम्मानको भावना जगाउने भूमिका निर्वाह गर्नुपर्छ । आफ्नो देश, समाज र संस्कृतिप्रति गौरबबोध पनि गराउनुपर्छ । आफ्ना मान्यजन र आफ्नो हित गर्ने सबैप्रति कृतज्ञताको भाव पनि जागृत गर्नुपर्छ । यी सबै पक्षसँगै पाठकको निर्णय क्षमता बढाउने विषय र सामग्रीको संयोजन पनि यथासक्य गर्नुपर्छ । सकेसम्म द्वन्द्व, हिंसाका विपरीत मेलमिलाप, साथसहयोग र समर्पणको भाव झल्काउनुपर्छ । यी कतिपय कक्षाहरू विद्यालय तहका भाषाका पाठ्यक्रमका उद्देश्यमा पनि पर्छन् । तिनै उद्देश्यले बालबालिकालाई भविष्यका कर्णधार बनाउने हो ।
बालसाहित्यको विषयवस्तु पौराणिक, ऐतिहासिक, लोक, कविकल्पित जे पनि हुन सक्छ । त्यसमा बालनायकत्व, बालसुलभ परिवेश, बालभावना, बालमनोविज्ञान, बालखेल, बालरुचिका वस्तुको उपयोग, बालबोध्य विम्ब र प्रतीक चयन, बालबोध्य शीर्षकीकरण, बालबोध्य भाषा र त्यसमा साहित्यिक कलाको पनि अपेक्षा रहने हुनाले बालसाहित्य रचना गर्न त्यत्ति सजिलो हुँदैन ।
बालसाहित्यका विकासमा मूलतः सचेत सर्जकहरू नै जन्मनु र विकास हुनुपर्छ । सिर्जना मात्र भएर पनि त्यो सिर्जना बालबालिकासम्म पुग्न सक्तैन । यसका लागि उत्पादक, प्रकाशक, प्रसारकहरू पनि सचेत रहनुपर्छ । आजको नवपुस्तालाई एउटा राम्रो कृति पढाउन सकियो भने हामीले भोलि कुनै विन्दुमा पनि पछुताउनु पर्दैन ।
-डा. रमेश शुभेच्छु