आज साहित्यको अध्ययनका लागि अन्तर्विषयक समीक्षा पद्धति विकास भइरहेका छन् । साहित्यको समाजशास्त्रीय समालोचना चिन्तन अन्तर्विषयक साहित्य चिन्तनका विविध चिन्तनमध्ये प्रमुख हो । यस चिन्तनअनुसार कलालाई परोक्ष र अनुभववादको प्रेरणाका रूपमा हेरिन्छ । यस दृष्टिअनुसार साहित्यलाई जति रूपवादी बनायो त्यो त्यति नै संवेदनासून्य हुन्छ । सर्जनाले समाजका मूर्त र जड वस्तुलाई संवेदनापूर्ण र कलात्मक संंवेदनाको प्रतिपादन गर्ने माध्यमका रूपमा विम्बलाई कलात्मक साक्ष्यका रूपमा प्रस्तुत गर्दछन् । त्यस्ता विम्बहरू समाजबाट टिपिएका हुन्छन् ।
साहित्यको अन्तर्विषयक अध्ययनका अनेक विषय क्षेत्रमध्ये समाजशास्त्र पनि एक हो । समाजशास्त्रीय समीक्षा चिन्तनका विविध आयाम छन् । यसका मूलतः माक्र्सवादी र गैरमाक्र्सवादी समीक्षा चिन्तन विकसित छन् । माक्र्सवादी र गैरमाक्र्सवादी चिन्तनको मूल भिन्नता वैचारिक पक्ष र समाजका सबालसँग सम्बन्धित हुन् । माक्र्सवादले वर्गलाई महत्त्व दिन्छ भने गैरमाक्र्सवादले समाजको अवस्थालाई मात्र निहाल्छ ।
ऐतिहासिक दृष्टिले पाश्चात्य चिन्तकहरू जर्ज लुकाज, अन्स्र्ट फिसर, त्रिस्टोफर कड्बेललगायतका चिन्तकहरूले कलासम्बन्धी नयाँ दृष्टिकोण अगाडि सारे । उनीहरूका अनुसार कला कलाका लागि मात्र हुँदैन । कला र जीवनको सम्बन्ध गहिरो हुन्छ । यस्तो सम्बन्ध वर्गका आधारमा प्रस्तुत हुन्छ । यस विषयलाई उनीहरूले साहित्यलाई वैचारिक र वर्गीय मान्यताका आधारमा हेरे । यसै सन्दर्भमा साहित्य वा कला सिर्जना भएको स्थितिलाई सूक्ष्म दृष्टिले हेर्ने आधार प्रदान गरे । सिर्जनामा पात्र, समय र पर्यावरणका स्थितिलाई भने तेनले अगाडि सारेका हुन् । तेनको चिन्तन विकसित बन्दै गएर साहित्यको समाजशास्त्रीय अध्ययन हुन थाल्यो । यसमा माक्र्सवादको सामाजिक सन्दर्भ पनि संयोजित छ । सिर्जनाका विषयको संवेदना समाजसापेक्ष हुने पक्षलाई यस चिन्तनले अगाडि सार्यो ।
तेनका अनुसार समाजका क्षण, प्रजाति र परिवेशको आधार निकै बलियो हुन्छ । यस आधारबाट आरम्भ भएको साहित्यको समाजशास्त्रीय चिन्तनका विविध पक्ष फेला पर्छन् । तीमध्ये मूलत बुर्जुवा, यथास्थितिवादी, यथार्थवादी चिन्तन निकटबाट आरम्भ भएको यो समाजशास्त्रीय समीक्षा चिन्तन छोटो समयमा निकै लोकप्रिय र व्यवहारिक पनि बन्यो । यसले माक्र्सवादी चिन्तनसँग पनि सहमती राख्दै समाजवादी यथार्थवादी चिन्तनको विकास भयो । लुकाजको मतले पुरानो यथार्थलाई निषेध गर्दै बुर्जुवा मानवतावाद र आधुनिकतावादका सन्त्रासका बिचमा रहेका यथार्थलाई सिर्जनात्मक र गतिशील यथार्थ अगाडि सारेको छ । यो चिन्तन वर्तमान समीक्षा परम्परामा निकै प्रबल बनिरहेको छ ।
-डा. रमेश शुभेच्छु